A Levels MA

व्याकरण बिनाको भाषा जस्तो संगीत शिक्षा

संगीत सिकाउने नाममा खुलेका केही संस्थाले यति दिनमा राम्रो गायक वा संगीतकार बनाउँछौं भनेर प्रचार गरिरहेका हुन्छन् । जबकि, संगीतको जड भनेको शास्त्रीय संगीत हो, जुन वर्षौं लाग्ने विधा हो । त्यसमा त्यही खालको धैर्यता चाहिन्छ । तर शिक्षकहरूले विद्यार्थी टिक्दैनन्, आफू पनि बाँच्नु पर्‍यो भनेर संगीतको व्यापक व्यापारीकरण गरिरहेका छन् । जसले गर्दा गुणस्तरीय संगीत र संगीतकार उत्पादन हुन सकिरहेको छैन।

आष्मा अर्याल भर्खर २१ वर्षमा लागिन् । उनी ह्वाइट केन (दृष्टिविहीनले प्रयोग गर्ने सेतो छडी) लिएर नियमित एकान्तकुनाबाट जडीबुटीस्थित झंकार कला केन्द्र जान्छिन् । जहाँ उनले विभिन्न उमेरका विद्यार्थीलाई गीत र संगीतको शिक्षा दिने गरेकी छन् ।

ह्वाइट केन उनको बाटोभरीको साथी बनिदिएको छ । सम्भवतः आत्मबल बढाउने हतियार पनि । अंग्रेजी साहित्यमा स्नातक गर्दै गरेकी उनी एकदमै आत्मविश्वासी छिन् । त्यही विश्वासले नै उनलाई ‘संगीत गुरु’ बनाएको हो ।

उनी दृष्टिविहीन हुन्, तर उनका सबै विद्यार्थी सामान्य छन् । ‘दृष्टिविहीनता र गीत संगीतको कुनै कनेक्सन छैन । त्यही भएर मलाई न सिक्न समस्या भयो न त सिकाउन,’ अर्याल भन्छिन्, ‘अहिले दृष्टि भएका सामान्य बालबालिकादेखि युवा, प्रौढ सबैलाई संगीत सिकाइरहेकी छु, यसमा कुनै समस्या छैन ।’

आष्माले कला केन्द्र सञ्चालन गरेको ३ वर्ष भयो । नेपालमा संगीत शिक्षा तथा गायनको विश्वसनीय र भरपर्दो अध्ययन संस्थानको अभाव रहेको उनी बताउँछिन् । उनको कला केन्द्रमा अहिले नियमित सिक्न आउने विद्यार्थी १३ देखि १५ जना छन् । उनीहरू रहरले भन्दा पनि कलाले तानिएर कला केन्द्रसम्म आएको उनी बताउँछिन् ।

अहिले गीत संगीत सिकाउने इन्स्टिच्युट संस्था धेरै छन्, तर प्रायः व्यापारिक हिसाबले खुलेका छन्,’ उनी भन्छिन्, ‘ती संस्थाले एक महिनामात्रै संगीत सिक्छु भन्नेदेखि ९ महिना वा वर्ष दिन सिक्छु भन्नेलाई समेत भर्ना लिने गरेका छन् ।’

एउटा राग तीन दिनमा सिकाउने कुरा होइन

हतारको संगीत शिक्षाले गीत संगीतको गुणस्तर खस्किरहेको छ । सिकाइको जग नै बलियो छैन । शिक्षकले नै क्लासिकल र लाइटको भेद देखाइदिन्छन्, जसले संगीतलाई बिगार्ने काम भइरहेको छ ।

संगीत सिकाउने नाममा खुलेका केही संस्थाले यति दिनमा राम्रो गायक वा संगीतकार बनाउँछौं भनेर प्रचार गरिरहेका हुन्छन् । जबकि संगीतको जड भनेको शास्त्रीय संगीत हो । ‘शास्त्रीय संगीत भनेको वर्षौं लाग्ने विधा हो । त्यसमा त्यही खालको धैर्यता चाहिन्छ,’ उनी भन्छिन्, ‘एउटा गितार सिक्न पनि ३ महिना पर्याप्त हुँदैन, तर शिक्षकहरूले विद्यार्थी टिक्दैनन्, आफू पनि बाँच्नुपर्योभनेर संगीतको व्यापक व्यापारीकरण गरिरहेका छन् । जसले गर्दा गुणस्तरीय संगीत र संगीतकार उत्पादन हुन सकिरहेको छैन ।’

आष्मा एउटा राग तीन दिनमा सिकाउन सम्भव नहुने बताउँछिन् । ‘यसो कापीमा लेखिदिएर विद्यार्थीलाई रटाउने कुरा होइन,’ उनी भन्छिन्, ‘गलामा जबसम्म त्यो रागको स्वरूप आउँदैन तबसम्म विद्यार्थीले गलामा परिवर्तन पनि महसुस गर्न सक्दैनन् ।’ त्यति छोटो समयमा विद्यार्थीले राग केका लागि सिक्ने भन्ने महसुस समेत गर्न नसक्ने उनको बुझाइ छ ।

‘हामीले कसलाई ठगिरहेका छौं ? जबकि ‘सरगम’ को रूपमा ‘सारेगामापादानिशा’ त हामीले पहिले नै सिकाउँछौं,’ उनी प्रश्न गर्छिन्, ‘रागभोपाली भनेको सारेगामा मात्रै होइन, यो एकदमै संवेदनशील कुरा हो ।’ यसमा एउटा ‘ग’लाई तीनवटा तरिकाबाट लिन सकिने उनले सुनाइन् । ती तीनवटै फरक–फरक राग बन्छन् । ‘त्यो कुरा रियाजको टेक्निक दिएर रियाज यसरी गर्ने भनेर जब विद्यार्थीलाई बुझाउन सकिन्छ, तब ती विद्यार्थी अगाडि अनेकौं राग उत्पादन स्वयंले गर्न सक्छन्,’ उनी थप्छिन्, ‘जस्तैः ‘सा–रे–ध–सा–रे–गा’ यो एउटा मेलोडी, अर्को ‘सा–रे–ग–रे–ध–सा–रे–ग–प–ग–रे–ग’ फरक पर्‍यो नि । यसबाट दुईवटा राग बन्यो । गाउन त त्यही ‘सारेगामापध’बाटै गाएको हो ।’

यस्तो कुरा प्रायः संगीतका गुरुले नसिकाउने उनले बताइन् । ‘एउटा राग तीन दिनमा रटाएर पठाउँछन् । अनि विद्यार्थीले सधैं त्यही गाएको हुन्छ, अर्को हर्कत नै लिन सक्दैनन्,’ उनले भनिन् । 

रियाजले मिठास र तान ल्याउँछ

संगीतमा जति रियाज गर्दै गयो, त्यति गला खुलेर आउँछ । गलामा मोटोपन आउँछ, मिठास र तान आउँछ । तर, यी सबै कुरामा शिक्षकको बेवास्ताले १ वर्ष विद्यार्थी ठगिन्छन् । त्यसपछि कि राम्रो गुरुकोमा जान्छन्, कि यसमा केही हुन्न लाइट गीत गाउँदा रेकर्ड भइसक्थ्यो भन्दै पलायन हुन्छन् ।

‘हतारको संगीत शिक्षाले संगीतको गुणस्तर खस्किरहेको छ । सिकाइको जग नै बलियो छैन,’ उनी भन्छिन्, ‘शिक्षकले नै क्लासिकल र लाइटको भेद देखाइदिन्छन्, जसले संगीतलाई बिगार्ने काम भइरहेको छ ।’ यसलाई उनी ‘ग्रामरबिनाको अंग्रेजी’ जस्तो भएको बताउँछिन् । यद्यपि, नेपालमा केही राम्रा गुरुले राम्रो शिक्षा दिइरहेको उनी बताउँछिन् ।

आष्माले धनबहादुर गोपाली गुरुसँग संगीत सिकेको बताइन् । उनले कलानिधि इन्द्रा संगीत महाविद्यालय इलाहावाद भारतबाट प्रयाग संगीत समितिको ६ वर्षे कोर्ष पूरा गरेकी छन् । यति लामो संगीतको साधनालाई प्रविणको उपाधि दिइदोँ रहेछ ।

प्रयाग संगीत समिति संगीतकै लागि स्थापना भएको विश्वविद्यालय हो । यसमा प्रश्नपत्र पठाउने, जाँच लिने, प्रायोगात्मक गराउनेदेखि सबै प्रक्रियाका लागि भरतबाटै नेपालमा मान्छे आउने गरेका छन् । ‘हामी नेपालमै बसेर सिक्छौं, तर जाँच चाहिँ उतैको विश्वविद्यालयअन्तर्गत हुन्छ,’ उनले भनिन् ।

नेपालमा त्रिभुवन विश्वविद्यालयलगायत थोरैमात्र स्थानमा संगीत अध्यापन हुने गरेको छ । संगीतको लागिमात्र छुट्टै विश्वविद्यालय यहाँ छैन ।

‘म तीन वर्षको हुँदादेखि नै घरमै हार्मोनियम बजाउँथे,’ उनले भनिन्, ‘घरमा कोही पनि संगीतमा लागेको हुनुहुन्न, तर ममा सानैदेखि यसप्रति लगाव थियो । गीत पनि राम्रो गाउँछौं भनेर सबैले हौसाएपछि सिक्न थालेकी हुँ ।’

संगीत क्षेत्रमा पैसा कमाउने उद्देश्यले नआएको भए पनि यसबाटै जीवन धान्न सकेकोमा आष्मा सन्तुष्ट छिन् । उनलाई संगीत सिक्दासम्म संगीतको शिक्षक हुन्छु र अरुलाई पनि यो शिक्षा दिन्छु भन्ने लागेको थिएन । ‘जब बालबालिकाले मसँग संगीत सिक्छु भन्दै आए, मैले सिकाउन सुरु गरेँ र उनीहरूको गायनमा, संगीतमा सुधार हुँदै आयो तब मैले महस गरेँ – ममा शिक्षक हुने गुण रहेछ,’ उनले सुनाइन् । 

कला केन्द्रमा हार्मोनियम, बेसिक हार्मोनियमलाई चाहिने तबला र तानपुरा छन् । उनी भन्छिन्, ‘यी तीनथरी बाजा भोकललाई चाहिन्छ नै । यसलाई छुट्याउन मिल्दैन । एउटा शिक्षकमा यी तीन वाद्ययन्त्र बजाउने ज्ञान भएन भने उसले सिकाउने शिक्षा अपूरो हुन्छ ।’

दृष्टिविहीनलाई गायन र वादनमा समस्या छैन

संगीत गुरु आष्मा आफूजस्तै दृष्टिविहीनका लागि गायन र वादनमा खासै समस्या नरहेको बताउँछिन् । ‘मेरो खास गायन हो । तबला सिक्दा गुरुले मलाई औंला समातेर सिकाउनुभएको थियो, हेरेर बजाउनुपर्ने अन्य बाजा पनि हात समाएरै सिकाउनुभएको हो,’ उनले भनिन्, ‘तबलामा कहाँ हात राख्ने भनेर सिकाउनुहुन्थ्यो ।’

आफूले विद्यार्थीलाई कम्तीमा २ वर्ष निरन्तर सिक्ने भएमात्र भर्ना हुन सुझाव दिने गरेको उनले सुनाइन् । त्यही कारण आफ्नो कला केन्द्रमा १५ जनाभन्दा बढी विद्यार्थी नभएको उनको भनाइ छ । ‘जति आउँछन्, ती संगीतमा पोख्त भएर जान्छन्,’ आष्माले  भनिन्, ‘त्यो २ वर्षको समय केही पनि होइन, संगीत के रहेछ भन्ने बुझ्न पनि २ वर्ष धैर्य गरेर बस्नुपर्छ भन्ने गरेको छु ।’

राम्रो शिक्षा नदिएकै कारण संगीतको स्तर खस्कँदै गएको उनको बुझाइ छ । ‘भ्वाइस अफ नेपाल’ र ‘नेपाल आइडल’ जस्ता कार्यक्रम पनि प्रभावकारी बन्न नसकेको उनी बताउँछिन् । त्यस्ता कार्यक्रममा करिब ९० प्रतिशत सामान्य संगीत सिकेका व नसिकेका सहभागी हुन्छन् । ‘र्‍याप, पप, वेस्टर्न वा इस्टर्न जुनसुकै गीत गाए पनि संगीतको ७ सुर लगाउने हो, अझ १२ स्वर भनौं,’ उनी भन्छिन्, ‘कुनै पनि बाजाको १२ वटाभन्दा बाहिरी स्वर छैन । हामीले यो कुरा बुझाइ नदिएर लाइट गाउने कि क्लासिकल गाउने भनिदिनाले यस्तो समस्या आएको हो ।’

यो भेद संगीत सिकाउने गुरुले नै बनाइदिएको उनले बताइन् । ‘उनीहरूलाई क्लासिकलबिना संगीत सम्भव छैन भन्ने थाहा छ, यो भनेको ग्रामर हो,’ आष्माले भनिन्, ‘सिकाइ नै राम्रो नभएपछि भविष्यमा उत्पादन हुने संगीतकार कस्तो होला ?’

साहित्यमा समेत कलम चलाउने उनी फुटकर कथा,कविता लेख्छिन् । यसले अरुको गीतको भावलाई पक्रेर कम्पोजिसन गर्न सहयोग पुग्ने उनको अनुभव छ । संगीत सिकाउने गुरुमा साहित्यक रस हुन जरुरी रहेको उनी बताउँछिन् । आष्माले रेडियो नेपालबाट गीत रेकर्डसमेत गरिसकेकी छन् ।

Thuprai - Books and E-books