Thuprai - Books and E-books

सुगम बन्दै संगीत शिक्षा

सरकारले संगीतको औपचारिक शिक्षालाई महत्व दिन थालेको छ । पद्यकन्या, सरस्वती, ललितकला क्याम्पस लगायतमा स्नातक र स्नातकोत्तर तहको पढाइ हुन्छ । विद्यालय तहमा पनि संगीत पढ्ने व्यवस्था मिलाइएको छ ।

प्रचारप्रसारको अभाव कक्षामा अझै पठनपाठन हुन सकेन

दुईतीन वर्ष अघिसम्म संगीतमा उच्च शिक्षा प्राप्त गर्ने अवसर नेपालमा थिएन । संगीतमा उच्च शिक्षा हासिल गर्ने सपना देख्नेहरूले भारत वा अन्य देशमा जानुपर्ने बाध्यता थियो । नेपालका सुगम संगीत तथा शास्त्रीय संगीतमा ख्याती प्राप्त अधिकांश संगीतकार तथा वाद्यवादक र गायकगायिका विदेशमै पढेर आएका हुन्थे । निजी स्कुल तथा कलेजले अनौपचारिक रुपमा संगीत शिक्षा केही वर्ष अगाडिदेखि नै प्रदान गर्न थालेका छन् । संगीत कर्मी÷प्रेमीहरूले नेपालमा नै संगीत शिक्षा औपचारिक अध्ययन सुरु हुनुपर्नेमा जोड दिँदै आएका थिए । फलस्वरुप पद्यकन्या क्याम्पस, सरस्वती क्याम्पस, ललितकला क्याम्पस लगायतमा स्नातक र स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्न थालेको छ ।

औपचारिक शिक्षा विना नै संगीतमा ख्याती कमाउँदै आएका संगीतप्रेमीको मागलाई ध्यानमा राख्दै विद्यालय तहदेखि नै संगीत शिक्षा प्रदान गर्ने लक्ष्य अनुरुप सरकारले २०७३ मा पाठ्यक्रम नै बनाएर प्राविधिक तथा व्यवसायिक धार अन्तर्गत संगीत विषयको अध्यापन सुरु गरेको छ । अब संगीत पढ्न विदेश जानै पर्ने बाध्यताको अन्त्य भएको छ ।

सरकारले पाठ्यक्रममा नै यो विषयलाई समेटे पनि थोरै विद्यार्थीको आकर्षण बन्न पुगेको पाठ्यक्रम विकास केन्द्रले जानकारी दियो । शिक्षा सम्बन्धी जानकारहरू नै एम म्युज (संगीत प्रवीण) भन्यो भने एकेडमिक डिग्री कति हो भनेर पुनः प्रश्न गर्ने गरेको संगीत प्रवीण सुजाता वर्मा बताउँछिन् । राम्रो भविष्य हुँदा हुँदै पनि नेपालमा संगीत शिक्षाको प्रचारप्रसारको अभावमा अधिकांश प्रतिभा खुम्चिने गरेको उनको गुनासो छ ।

नेपालका धार्मिक संस्कार संस्कृति संगीतबाट अछुतो छैन । हरेक जातजातिका आआफ्ननै पहिचान बोकेका संगीत छन् । समुदायको पहिचान दिलाउन सक्ने संगीत छन् । हरेक ऋतु चिनाउने संगीत छन् । पुस्तान्तरणकै रुपमा यिनीहरू चल्दै आएका छन् । मनोरन्जन तथा ऐतिहासिक पहिचान बोकेका संगीतको संरक्षण गर्न संगीत शिक्षालाई व्यापक बनाउनु पन देखिन्छ । संगीतको अध्ययन, अनुसन्धान र विकासका लागि औपचारिक अध्ययनले निखार ल्याउने संगीतज्ञहरू बताउँछन् ।

संगीतको औपचारिक अध्ययनको बहस लामो समयदेखि चल्दै आएको छ । २०३८ मै विद्यालयको सामाजिक शिक्षा विषयको १०० पूर्णाङ्कमा २५ अंक बराबरको सिर्जनात्मक कला अभिव्यक्ति विषय अन्तर्गत संगीत विषय समावेश गरिएको थियो । औपचारिक रुपले विद्यालयमा संगीत विषयको पढाइ भने हुन सकेको थिइन ।

म्युजिक नेपालको पहलमा शिक्षा मन्त्रालयले झण्डै डेढ दशक अगाडि ‘पाइलट’ का रूपमा ‘नेपाल संगीत विद्यालय’ स्थापना गरी पाठ्यक्रमको विकास तथा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको थियो ।

अबको २० वर्षमा पद्मकन्यालाई गायन र नृत्य विधाको अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने

२०६२ देखि विद्यालयले संगीतका विभिन्न विधाको अनौपचारिक प्रशिक्षण प्रदान गर्दै आएको थियो । तर औपचारिक शिक्षण भएन । पद्मकन्या क्याम्पसमा २०२० सालदेखि स्नातक तहमा नृत्य र गायन विषय पठनपाठन हुँदै आएको हो तर थप उच्च शिक्षाका लागि विदेशतिर भौतारिनुपर्ने बाध्यता थियो । त्यही बाध्यता हटाउन पद्मकन्याले स्नातकोत्तर पनि सुरु गरिएको छ । क्याम्पस प्रमुख धनप्रसाद पण्डितले अबको २० वर्षमा पद्मकन्यालाई गायन र नृत्य विधाको अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने लक्ष्यअनुरुप योजना बनाएको बताए ।

त्यस्तै ललितकला क्याम्पसमा संगीततर्फ गायनका साथै तबला, बाँसुरी, सितार सिकाउने गरिएको छ ।  लामो समयदेखि नेपालमा थुप्रै सरकारी तथा निजी शैक्षिक संस्थाहरू खुलेका छन् । हजारौँ विद्यार्थी संगीत सिक्दै आएका छन् ।

ललितपुर झम्सीखेलस्थित अरुण थापा चोकमा रहेको सुरशाला म्युजिक एकेडेमीले सन् २००४ देखि कला र संग्तिको क्षेत्रमा अध्यापन गराइआएको छ । यसले गायन, नृत्य, वाद्यवादन, कला र नाटकको क्षेत्रमा पढाउँछ । सिटिइभिटीले ‘भोकेसनल म्युजिक कोर्स’ सञ्चालन गर्दै आएको छ ।

काठमाडौं बत्तिसपुतलीस्थित पिंगलास्थानमा नेपाल म्युजिक सेन्टर छ । यसले अध्यापनका साथै एथ्निक संगीत र नृत्यबारे पढाउँछ । अनुसन्धान, अभिलेखीकरणका साथै संगीत प्रवर्दन र आदानप्रदान समेत गर्छ । यहाँ गायनका साथै सारंगी, भ्वाइलिन, तबला, किबोर्ड, मादल, ड्रम, गितार, पूर्वेली नृत्य, पश्चिमेली नृत्य, बास, म्युजिक थिओरी, एरेन्जीङ र कम्पोजिङ, डिजे, सितार, बाँसुरी र म्युजिक टेक्नोलोजी पढाइ हुन्छ ।

नेपालमा सन् १९९० मा स्थापना भएको कालेडोस्कोप म्युजिक एकेडेमीका साथै एसियन हिमालयन म्युजिक स्कुल, साधना कला केन्द्र, म्युजिका म्युजिक इन्स्टीच्युट, हरिकुल म्युजिक स्कुल, सुशिला आर्टस एकेडेमी, डोरेमी संगीत पाठशाला, मारुनी कला केन्द्र, नाट्येश्वर म्युजिक टे«निङ सेन्टर, रोयल म्युजिक एकेडेमी पनि सञ्चालनमा छन् ।

प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन निर्देशिका–२०६९ ‘पहिलो संशोधन–२०७१’ अनुसार गठित केन्द्रीय निर्देशक समितिले विद्यालय तहमा संगीत शिक्षा प्रवेशको बाटो खुला गरेको हो ।

सरकारले रोजगारीमूलक सिप प्रदान गर्ने शिक्षा नीतिअन्तर्गत सिभिल इन्जिनियरिङ, कम्प्युटर साइन्स, प्लान्ट इन्जिनियरिङ, एनिमल हजब्यान्ड्री तथा इलेक्ट्रिकल इन्जिनियरिङ गरी पाँच विषयमा २०७० सालदेखि कक्षा ९ बाट पठनपाठन सञ्चालन गर्ने व्यवस्था गरेको हो ।

शिक्षा मन्त्रालयले विसं २०७० मा कक्षा ६ र २०७१ मा कक्षा ७ र २०७२ मा कक्षा ८ मा १०० पूर्णांकको इच्छाधीन विषयका रुपमा ‘संगीत’ विषयको औपचारिक पठनपाठन हुने व्यवस्था गरेको छ । तर यो विषयको पठनपाठन हुने विद्यालय भने अत्यन्तै न्यून रहेको मन्त्रालयले जानकारी दियो ।

सरकारले तयार गरेको पाठ्यक्रममा नेपाली जातीय संगीतका साथै पूर्वेली शास्त्रीय संगीत तथा पश्चिमी संगीतका विषयवस्तु समावेश गरिएका छन् । शिक्षक अभावका कारण अधिकांश विद्यालयले यो विषयको अध्यापन गराउन भने सकेका छैनन् । ‘एक हिसाबले भन्दा पाठ्यक्रमा मात्र सीमित छ, पढे पनि हुने, नपढे पनि,’ बर्र्माले भनिन्, ‘मानौँ संगीतको शिक्षा आवश्यक नै छैन । यसले विद्यार्थीलाई अरू विषयको शिक्षामा जस्तो भविष्यको प्रत्याभूति गराउँदैन ।’

यस विषयको व्यापक रूपमा विद्यालयस्तरमा अध्यापन गराउन थालेपछि नेपाली संगीतको विकास कसैले सोच्दै नसोचेको फड्को मार्ने उनको दाबी छ ।

पछिल्लो समय सरकारले संगीतको कक्षा सञ्चालनमा ढिलाइ गर्दा देशले ठूलो आर्थिक क्षति व्यहोरिरहेको विज्ञहरू बताउँछन् । गाउँघरका स्थानीय लोकगीत, गायकगायिका, वाद्यवादकका साथै लोकलय विस्तारै मेटिँदै छन् । यिनीहरूको संरक्षण गर्न पनि संगीत शिक्षाको आवश्यकता भएको विज्ञहरू बताउँछन् ।

केही हदसम्म विदेशी तथा स्वदेशी अनुसन्धाताले तिनको पहिचान गरी संरक्षण गरेका छन् । तर पुग्दो रुपमा अगाडि बढेको छैन । जसले गर्दा नयाँ पुस्ताले ती गीतहरू संकलन गर्न सकेका छैनन्, न सुन्ने वातावरण छ । नेपालमा औपचारिक शिक्षा प्रणाली सुरु गर्न र अनुसन्धानमा लगानी गर्न सरकारी निकाय अझै पनि हिच्किचाउने गरेको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले बताए ।

संगीत, नाटकको क्षेत्रमा सरकारी संयन्त्रहरूको दृष्टिकोण अनुदारवादी छ । बजेट दिन कञ्जुस्याँई गरिन्छ । यसमा परिवर्तन आउन जरुरी छ । सरुभक्त, पूर्व कुलपति, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान

उनका अनुसार प्रतिष्ठानको वार्षिक बजेट जम्मा साढे दुई करोड थियो जुन कार्यक्रम र अनुसन्धानका लागि पुग्दैनथ्यो । मन्त्रालय धाएर बजेट ६ करोड पचास लाख रुपियाँ पुर्‍याउन लगाएको उनले सुनाए । उनकै कार्यकालमा सातै प्रदेशका लोक तथा सांस्कृतिकका साथै सांगीतिक अध्ययन समेटिएको सातवटा पुस्तक र अन्य अनुसन्धानमूलक पुस्तक प्रकाशित गरेका थिए । ‘प्रतिष्ठानले निकालेका पुस्तकहरू विद्यार्थीले सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्न सक्छन्,’ उनले भने, ‘संगीत, नाटकको क्षेत्रमा सरकारी संयन्त्रहरूको दृष्टिकोण अनुदारवादी छ । बजेट दिन कञ्जुस्याँई गरिन्छ । यसमा परिवर्तन आउन जरुरी छ ।’