दिपायल सिलगढी नगरपालिकाले टुहुरा बालबालिका पढाउने

बुबाले आमाको हत्या गरेपछि टुहुरा बनेका दिपायल सिलगढी नगरपालिका–३ का पाँच टुहुँरा बालबालिकाको पठनपाठनको जिम्मा नगरपालिकाले लिएको छ । यही असार २ गते राती घरायसी विवादलाई लिएर ४५ वर्षीय श्रीमान् कृष्ण नेपालीले आफ्नै श्रीमती ४० वर्षीया मीना नेपालीलाई लुगा काट्ने कैँची प्रहार गरी विभत्स हत्या गरेका थिए ।

आमाको हत्या अभियोगमा बुबा पनि जेल जाने भएपछि छोराछोरी टुहुरा बनेका हुन् । कृष्णका पाँच छोराछोरीमध्ये जेठो छोरी सृजना कक्षा ११ मा पढ्दैछिन् । सृजनालाई तत्काल कुनै रोजगारीमा लगाउने नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “सृजनालाइ पढाइ अनुसारको रोजगारी दिन्छौँ र टुहुरा बनेका उनका भाई बहिनीलाई नगरपालिकाले पढाउने जिम्मा लिएको छ ।”

त्यस्तै १६ वर्षका छोरा अंकित कक्षा ८ मा पढ्दैछन् । उनले आमाको क्रिया गरिरहेका छन् । त्यसैगरी १२ वर्षीया छोरी सन्ध्या कक्षा ४ मा र आठ वर्षीया छोरी सोनीया कक्षा २ मा पढ्दैछन् भने कान्छो छोरा विनायक एलकेजी मा पढिरहेको वडा नं ३ का वडाध्यक्ष चक्रबहादुर माझीले जानकारी दिनुभयो ।

विपन्न दलित परिवारमा जन्मिएका ती बालबालिका विचल्लीमा परेपछि स्थानीय सरकारको अनुभूति दिलाउने गरी उनीहरुलाई पठन पाठनको जिम्मा नगरपालिकाले लिएको नगरप्रमुख मलासीले बताउनुभयो । टुहुरा बनेका ती बालबालिकाहरुलाई आवासीय विद्यालयमा पठनपाठनको व्यवस्थाका लागि नगरपालिकाले जिम्मा लिएको हो ।

यसका साथै क्रिया खर्चका लागि पनि नगरपालिकाबाट आर्थिक सहयोग पनि प्रदान गरिएको छ । कैँची प्रहार गरी श्रीमतीको हत्या गर्ने कृष्णका बारेमा विस्तृत अनुसन्धान भई थप रिपोटसहित अदालतमा पेश गरी म्याद थप गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो ।