Thuprai - Books and E-books

प्रेरक प्रसँग , समयको महत्व

सबै मानिसले समयलाई समान महत्व दिएको हुँदैन । पाएको समयको कसैले सही सदुपयोग गर्दछन् भने कसैले दुरुपयोग गर्दछन् । कसैले समयको महत्व बुझेका हुन्छन्, कसैले बुझ्दैनन् । समयको कदमलाई छलेर छल्न सकिन्न । आफ्नो कदम अनुकुल बनाउन समयलाई बुझ्नुपर्दछ ।

पैसा र समय गलत ठाउँमा लगाउनु भयो भने कहिल्यै पनि प्रगतिपथमा वढ्न सकिन्न । आज तपाईंसँग समय, शक्ति र सामाथ्र्य छ तर त्यो भोलि तपाईंलाई यसले पर्खन सक्दैन । भोलि इच्छा शक्ति भएर पनि तपाईँले केही गर्न सक्नुहुन्न । आजको समयलाई सही ठाउँमा लगानी गर्नु पर्दछ ताकि भोलि समयको साँवा सहित व्याज पनि प्राप्त गर्न सकियोस । समयको विकाससंगै तपाईंलाई मुनाफा पनि प्राप्त होस् ।

कुमालेले काँचो हिलो माटोलाई विभिन्न आकार दिएर जसरी सुन्दर र आकर्षक भाँडोको रुप दिन्छ । आज विद्यार्थी भाइबहिनीहरुको अवस्था त्यस्तै छ । समय हिजो भन्दा अलि फरक छ । हिजो विद्यालय पोषकमा सजिएर विद्यालय जाने ससाना नानी बाबुहरु आज मोवाईल, ल्यापटप जस्ता ग्याजेटमा अल्मलिने गरेका छन् । अहिलेको महत्वपूर्ण समय मोवाईल, ल्यापटप जस्ता ग्याजेटमा, विभिन्न गेममा र फेसबुक स्क्रोल गरी वा युट्युबमा झुण्डिएर समयको वास्ता गरिएन भने टिकटकमा भुलियो भने त्यसले हाम्रो भविष्यमा गम्भीर क्षति गर्छ । सफलताको कदम दोब्बर बनाउन समयलाई बुझ्नु पर्दछ । आजको यो समयलाई जोगाएर भविष्यमा प्रयोग गर्न सकिन्न । तसर्थ समयलाई सही ठाउँँमा लगानी गर्नु पर्दछ ताकि व्यक्ति, समाज र सभ्यताको विकासमा तपाईको योगदान धेर थोर सवै बेलामा पुगोस ।

एक पटक एकजना विद्यार्थी आफुलाई अध्ययनमा आवश्यक पर्ने पुस्तक किन्न गए । उसलाई विश्व ईतिहासको पुस्तक चाहिएको थियो । उसले सो पुस्तक खोज्न धेरै दुःख गरे । विभिन्न पुस्तक पसलमा पुगे । आसपासमा भएका सवै पसलमा पुस्तक खोजे । पुस्तक खोज्दा खोज्दा उनी पुस्तक खोज्न छोड्ने मनसायमा पुगे । किनभने उनले धेरै पुस्तक पसलमा धेरै ठूलो एरियामा आफूलाई चाहिने पुस्तक खोजी सकेका थिए , तर पाउन सकेनन् । उनलाई एकातिर पुस्तक नपाएको झोक थियो भने अर्कोतिर थकानले हैरान र लखतरान भएका थिए । उनी विच बाटोमा एकछिन आराम गरेर बसे । एक्कासी उनको आँखा आफू बसेको सामुन्नेमा रहेको पुस्तक पसलमा पर्यो । उनले यो पुस्तक पसल अन्य पुस्तक पसल भन्दा अलि भिन्दै र फरक खालको देखे । अब यहींनेर पुस्तक पसल छ भने अन्तिम पल्ट कोशिश गरी हेरमन त भनेर त्यो पुस्तक पसलमा गए । अन्ततोगत्वा उसले आफूले लामो समय लगाएर सयौं पसलमा नपाएको उक्त विश्व ईतिहासको पुस्तक भेटाए । पुस्तक लिए पछि काउण्टरमा बसेको मानिससँग उसले पुस्तकको मोल सोधे । काउण्टर क्लर्कले उक्त पुस्तकको मुल्य पचास सेन्ट भएको बताए । उनलाई त्यो पुस्तकको मुल्य अलि महंगो लाग्यो । उसले त्यो पुस्तकको मोल अलिकलि कम गरि ४८ सेन्ट गरिदिन अनुरोध गरे तर काउटरमा बस्ने क्लर्कले सो कुरा मानेनन् । पटकपटक अनुरोध गर्दा पनि उसले त्यो पुस्तक कम मुल्यमा नपाउने भयो । त्यसपछि उसले पसलेलाई त्यो पसलको मालिक वा साहुजीलाई बोलाईदिन कर गरे । पसलेले मालिकलाई बोलाउन नसकिने कुरा गर्यो तर धेरै करकर गरेकोले साहुजीलाई बोलाउन उसलाई करै लाग्यो । काउण्टर बोईले मालिकलाई बोलाईदियो । धेरै जोडबल र जबर्जस्ती गरेपछि मात्र त्यो मानिसले पुस्तक पसलको मालिकलाई बोलाइदियो ।

मालिक आएपछि उसले भन्यो सुन्नुहोस त यो पुस्तकको मूल्य कति होला, तपाईंको काउटरमा बस्ने काउण्टर बोईलाई ५० सेन्ट पुस्तकलाई २ सेन्ट कम गरी ४८ सेन्ट गर्नुहोस न भनेको मान्नु भएन अतिकति मिलाएर यो पुस्तकको मूल्य कति तिर्नु पर्ने हो थोरै छुट गरेर भनिदिनुस् न भन्यो । पसलको मालिकले सो पुस्तकको मुल्य ६० सेन्ट पर्छ भने पछि त्यो विद्यार्थी झनै अवाक भयो । भखैरै तपाईको कामदारले ५० सेन्ट भनेको थियो , तपाई त पसलको साहुजी हो अलिक मुल्य कम गरिदिनुहुन्छ भनेर पो हजुरलाई अनुरोध गरेको त भनेर उसले बतायो । पुस्तकको मोल तपाईले अलिकति भए पनि कम गरिदिनु होला भनेको त पुस्तकको मूल्य थपेर झन् किन ६० सेन्छ पुराउनुभयो भनि प्रश्न गरे । तपाईको कामदारले सले ५० सेन्ट भनेकोले तपाईले कम गरिदिनु हुन्छ भनेर पो अनुरोध गरेको भनेर उसले आफ्नो कुरा दोह्रायो । त्यसपछि ती किताबपसलका मालिकले उत्तर दिंदै भने ५० सेण्ट पुस्तकको मोल हो अनि १० सेन्ट मेरो समयको मुल्य हो । तपाईंले जति अबेला गर्नुहुन्छ, जति मेरो समय लिनुहुन्छ जति ढिला गर्नुहुन्छ, यसको मूल्य त्यतिनै बढेर उक्त रकम यसै पुस्तकमा थपिएर जान्छ भनेर प्रष्ट पारिदिए । त्यसपछि उक्त विद्यार्थीले बाध्य भएर साहुजीले भने बमोजिमको ६० सेन्ट तिरेर उक्त पुस्तक किने । समयको महत्व र मुल्य बताउने पसलका मालिक थिए बेन्जामिन फ्रेंकलिन । जो पछि गएर अमेरिकाका प्रख्यात आविष्कारक, राजनीतिज्ञ तथा दार्शनिक बने ।

आलश्यमा समय विताउनु भनेको जीन्दगी बरबाद पार्नु हो र उमेर जानु हो, काल कुर्नु हो । आजको काम भोलि भनेर टाल्नु भनेको तपाईले आफ्नो कामलाई टालेको होइन, आफ्नो भाग्य टालेकोहो । यो संसारमा त्यो धनी मानिस कोही छैन, जस्ले आफ्नो वितेको समय खरिद गर्न सकोस र संसारमा त्यो गरिब मानिस कोही छैन , जस्ले आफ्नो भाग्य बदल्न नसकोस् ।