Edusanjal

आधा दर्जन बढीलाई विशेष अदालतमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज नक्कली अध्यापन अनुमति पत्र र भ्रष्टाचारको सजाय माग गर्दै आधा दर्जन बढी शिक्षक र व्यवस्थापन समितिका पदाधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पिपरहवा माध्यमिक विद्यालय पिपरहवा, रुपन्देहीका तत्कालीन शिक्षक अमरनाथ मिश्रले राहात अनुदान का्टामा नियुक्ति लिन नक्कली अध्यापन अनुमति पत्र लिएको पाइएको छ ।

माध्यमिक तह अस्थायी राहत कोटाको गणित विषय अध्यापनको लागि पेश गरेको माध्यमिक तह अध्यापन अनुमतिपत्र नक्कली भएको पाइएको हो ।

राहत दरवन्दीमा अस्थायी शिक्षकको रुपमा मिति २०६६ वैशाख २० गतेदेखि २०७१ माघ ३ गतेसम्म अध्यापन गर्दा झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा फेला परेको हो ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर भएकोले उनलाई  सोही कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय माग दावी गर्दै अख्तियारले आज विशेष अदालतमा मुदा दायर गरेको छ ।

अख्तियारले आजै पर्साको भेडिहारीमा रहेको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, निर्माण समितिका अध्यक्ष, प्रधानाध्यापक र अर्का अर्का एक सदस्यले भ्रष्टाचार  गरेको हुँदा मुद्दा दायर गरेको छ ।

त्यसैगरी महोत्तरी श्री मावि एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासमानले घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सृजना गरी विभिन्न वहानामा सेवा ग्राहीसँग घुस लिएको आरोपमा मुद्दा दायर गरेको हो । उनीहरु दुबैजनाले सेवाग्राहीसँग ५० हजार घुस लिइसकेको अवस्थामा १९ जेठमा पक्राउ गरिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास र टङ्गालबाट खटिएको टोलीले ५० हजार घुस लिइसकेपछि पक्राउ परेका आरोपितद्वयलाई कारवाहीको लागि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा ३९१० बमोजिमको कसुर भएको हुँदा सोहीअनुसार कायम गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम भण्डारीले जानकारी दिए ।

pre school