विद्यालय र सिकाइ केन्द्रका जग्गा विवरण खोज्दै मन्त्रालय

काठमाडौँ, २६ कात्तिक : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालय र सिकाइ केन्द्रका नाममा भएका जग्गा र भोगचलनको अवस्थाबारे विवरण मागेको छ ।

मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत सामुदायिक विद्यालय र सिकाइ केन्द्रका नाममा भएका जग्गा विवरण, तिनको भोगचलनको अवस्था र जग्गासम्बन्धी के कस्ता समस्या छन् भनेर देशैभरिबाट त्यसको विवरण उपलब्ध गराउन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यालय र सिकाइ केन्द्रका जग्गा हिनामिना भएको भनी जिल्लाहरूबाट जानकारी आएको अवस्थामा विवरण जुटाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आफूले निर्देशन दिएको बताउनुभयो ।

हाल मुलुकभर ३५ हजार चार सय ४७ कूल विद्यालय रहेकामा ७३ प्रतिशत सामुदायिक विद्यालय रहेका छन् ।