५५औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको शुभकामना सन्देश

सन् २०२१, सेप्टेम्बर ८ (२०७८ साल भदौ २३) का दिन मनाउन लागिएको ५५औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मी लगायत सम्पूर्ण दाजुभाइ दिदीबहिनीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, प्रशासनिक र भौतिक पूर्वाधारका रूपमा लिइने शिक्षालाई मानव जीवनका लागि आवश्यक ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने शैक्षिक प्रणालीको अभिन्न अङ्गका रूपमा स्वीकार गरिएको पाइन्छ । आम जनतालाई साक्षर बनाउने प्रयास स्वरूप हाल ६७.९ प्रतिशत नेपाली साक्षर रहेको तथ्याङ्कले अझै पनि नेपालमा साक्षरता कार्यक्रमलाई निरन्तरता दिई यस क्षेत्रमा थप प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता छ । शिक्षा क्षेत्रको विगत सात दशकको प्रयाससँगै नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरी नेपालको संविधान जारी भई सङ्घीयताको कार्यान्वयन भइरहेको वर्तमान सन्दर्भमा सबै नागरिकलाई साक्षर बनाउन सरकारका क्रियाकलाप केन्द्रित छन् ।

गुणस्तरीय, रोजगारमूलक, व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिँदै सङ्घीयताको स्वरूप अनुरूप शिक्षालाई जनताको पहुँचभित्र राख्न सामुदायिक शिक्षा प्रणालीलाई प्रभावकारी बनाउने कुरामा सरकारको ध्यान केन्द्रित भएको छ । कोभिड-१९ महामारी हुँदाहुँदै पनि दिगो विकासको लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिबद्धता कार्यान्वयन गर्न शिक्षाको महत्त्वपूर्ण भूमिका रहने भएकाले नेपालले साक्षर नेपालको अभियान अगाडि बढाइरहेको छ । सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु हाम्रो मुख्य लक्ष्य हो, त्यसैले हामी सबै मिलेर साक्षर नेपाल अभियानको महान् कार्यमा जुट्नु जरुरी छ । हाल नेपालका ७७ जिल्लामध्ये ५४ जिल्ला साक्षर घोषणा भइसकेका छन् । निरन्तर शिक्षालाई संस्थागत गर्दै आउँदा दिनमा बाँकी रहेका जिल्लाको साक्षरता अभियान सञ्चालन गरी साक्षर नेपालको घोषणा गर्नेतर्फ सरकारका गतिविधि केन्द्रित रहनेछन् ।

अन्त्यमा ५५औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा ‘मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता; प्रविधि प्रयोगको असमानतामा न्यूनता (Literacy for a human centered recovery: Narrowing the digital divide.)।' आदर्श वाक्यलाई सफल पार्न सबैको सहयोगको अपेक्षा गर्दै अन्तर्राष्ट्रिय साक्षरता दिवसको पूर्ण सफलताका लागि कामना गर्दछु ।

जय नेपाल !
२३ भदौ, २०७८
शेर बहादुर देउबा
प्रधानमन्त्री

व्यक्तिका अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउने मुख्य माध्यम शिक्षा हो। नागरिकको चेतना जागृत गराउन साक्षर हुनु प्रमुख आधारभूत आवश्यकता हो । शिक्षा प्राप्त गर्ने व्यक्तिको जन्मसिद्ध र नैसर्गिक अधिकार हो । सबैका लागि शिक्षासँगै शिक्षा सम्बन्धी विभिन्न कार्यक्रमले निरक्षरता उन्मूलन गरी विकास र समृद्धिको यात्रामा अघि बढ्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । त्यसैले । नेपाल सरकारले साक्षर नेपाल अभियानका माध्यमबाट सबै निरक्षरलाई साक्षर बनाउने प्रतिबद्धताका साथ विगतका वर्षबाटै विविध कार्यक्रमको माध्यमबाट यो अभियान अगाडि बढाउँदै आएको छ । हाल विश्व नै कोभिड-१९ (Covid-19) को महामारीबाट आक्रान्त छ । नेपाल पनि यसबाट अछुतो छैन । यस्तो असहज परिस्थितिमा शिक्षाका कार्यक्रमलाई वैकल्पिक विधि तथा प्रक्रियाबाट निरन्तरता दिँदै साक्षरता अभियान प्रभावकारी बनाउन स्थानीय तह, प्रदेश र केन्द्रबीच समन्वय र सहकार्यको आवश्यकता रहन्छ । निरक्षरता उन्मूलन गर्न नेपाल सरकारको अठोट पूरा गर्ने अभियानमा सबै प्रदेश तथा स्थानीय तहका साथै सबै सम्बद्ध पक्षको सहयोगका निम्ति हार्दिक अनुरोध गर्दछु । साक्षरतासँगै साक्षरोत्तर शिक्षा, आयआर्जन एवं दक्षता अभिवृद्धिका कार्यक्रमलाई समेत सरकारी तथा गैरसरकारी संस्थाहरूको सहकार्यमा गर्ने र साक्षरताका कार्यक्रमलाई मुलुकको गरिबी निवारणसँगै आर्थिक विकासमा योगदान पुयाउने जनशक्ति उत्पादनमा केन्द्रित गरी कार्यक्रम मार्फत अन्तरनिहित चेतनाको प्रस्फुरण गर्ने कार्यमा समन्वय सहकार्यबाटै यो अभियान पूरा गर्नुपर्नेछ । अन्तर्राष्ट्रिय साक्षरता दिवस सेप्टेम्बर ८, २०२१ का अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दै वर्तमान असहज परिस्थितिमा पनि साक्षर नेपालको अभियानमा निरन्तर हातेमालो गरी अघि बढ्न सबैमा पुनः अनुरोध गर्दछ ।

राम प्रसाद थपलिया
सचिव (शिक्षा)
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

५५औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको यस पुनीत घडीमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दै साक्षरता र निरन्तर शिक्षाका माध्यमबाट राष्ट्रको सामाजिक र आर्थिक रूपान्तरणमा सहयोग पुग्ने कुरामा विश्वस्त छु । नेपालको संविधानले प्रदान गरेको मौलिक हक एवं आधारभूत शिक्षा अनिवार्य एवं निःशुल्क तथा माध्यमिक शिक्षा निःशुल्कको अवधारणा सङ्घीयताको कार्यान्वयनको चरणमा विज्ञान प्रविधिलाई देशको समग्र र दिगो विकाससँग आबद्ध गरेको परिप्रेक्ष्यमा साक्षरता जीवन पर्यन्त शिक्षालाई गुणस्तरीय जीवन स्तरका लागि नयाँ प्रविधिसँगै जोड्दै लैजानु आजको आवश्यकता हो।

'मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता; प्रविधि प्रयोगको असमानतामा न्यूनता (Literacy for a human centered recovery, Narrowing the digital divide.) ।' भन्ने आदर्श वाक्यका साथ मनाउन लागिएको अन्तर्राष्ट्रिय साक्षरता दिवसले सबैलाई मिलेर साक्षर नेपाल अभियानमा सरिक हुन आह्वान गर्दछु । विगतमा सिकेका पाठबाट आउँदा दिनमा सबैको सहकार्यबाट यो अभियान सफल हुनेछ भन्ने विश्वासका साथ पुनः सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

सुरेश आचार्य
सचिव (विज्ञान प्रविधि)
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

देशको मानव संसाधन विकास, आर्थिक सामाजिक विकासका लक्ष्य हासिल गर्न नेपाल सरकारले विभिन्न कार्यक्रम विगत लामो समयदेखि सञ्चालन गरी निरक्षरता उन्मूलनतर्फ आफ्ना प्रयास जारी राखेको कुरा सर्वविदितै छ। सिकाइ निरन्तरताको माध्यमबाट राष्ट्रिय विकासमा टेवा पुर्याउँदै गतिशील र दिगो शिक्षा पद्धति स्थापना गरी बदलिँदो वर्तमान परिवेशमा कार्यक्रमलाई योजनाबद्ध ढङ्गले अगाडि बढाउनुपर्ने आवश्यकता रहेको छ।

साक्षर नेपाल कार्यक्रमको सफलता सरकारको एक्लो प्रयासले मात्र सम्भव छैन । साक्षरताको विषय अन्तर सम्बन्धित विषय हो । महिला, दलित, जनजाति, अपाङ्ग, आदिवासी सुविधाविहीन, निरक्षर वर्गलाई साक्षरता तथा आय आर्जनका कार्यक्रममा संलग्न गराई सीप विकासमा केन्द्रित गराउन जरुरी छ । विगतमा भएका विभिन्न कार्यक्रम र क्रियाकलापबाट प्राप्त अनुभवले यस कार्यमा सरोकारवाला हामी सबैमा थप हौसला प्रदान गरेको छ । जिल्ला जिल्लामा साक्षरता अभियानले गति लिएको छ जसको परिणाम स्वरूप हाल ५४ जिल्ला साक्षर घोषणा भइसकेका छन् । सफल साक्षर अभियानका लागि स्थानीय तहको सक्रियतामा गाउँ-गाउँ र टोल-टोलमा सामुदायिक केन्द्रको संलग्नतामा साक्षरताका अभियान परिचालन गरिनुपर्दछ । जसमा सबै गैरसरकारी संस्था, विद्यालय, शिक्षक, विद्यार्थीको सहयोग उत्तिकै आवश्यक रहन्छ।

कोभिड-१९ (Covid-19) को महामारीको यस कठिन घडीमा पनि शिक्षा र साक्षरतालाई निरन्तरता दिँदै सबैलाई साक्षर बनाउनेतर्फ उत्प्रेरित गर्न हामी सबैको साझा प्रयास आवश्यक छ। त्यसैले साक्षरताका कार्यक्रममा सबै समर्पित भई अगाडि बढ्न हार्दिक अपिल गर्दछु ।

५५औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको यस पुनीत अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दै 'मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता; प्रविधि प्रयोगको असमानतामा न्यूनता (Literacy for a human centered recovery, Narrowing the digital divide.) ।' भन्ने आदर्श वाक्यलाई शैक्षिक सुधारमा केन्द्रित गरी सबैको सार्थक सहभागिताका लागि आह्वान गर्दछु ।

धन्यवाद।

वैकुण्ठ प्रसाद अर्याल
महानिर्देशक
शिक्षा तथा मानव स्रोत केन्द्र, सानोठिमी, भक्तपुर