सम्झना दरबार कलेजको

१. विषय प्रवेश

वि.सं. २००७ मा नेपालबाट १०४ वर्षे एकतन्त्रीय शासन व्यवस्थाको अन्त्य हुँदा मुलुकमा उच्च अध्ययन गराउने कलेज (महाविद्यालय)को सङ्ख्या हातका औंलामा गन्न सकिने अवस्था थिए । मुलुकका अन्य भागका के कुरा गर्ने राजधानी, काठमाडौँमा समेत उच्च अध्ययनका लागि एउटा मात्र कलेज, त्रिचन्द्र कलेज थियो । अतः एकतन्त्रीय शासन व्यवस्था अन्त्य भएपछि विविध क्षेत्रमा उच्च अध्ययन गरेको जनशक्ति आपूर्ति गर्न तत्कालीन सरकारद्वारा सरकारी तथा निजी क्षेत्रमा नयाँ नयाँ कलेज स्थापना गर्ने गराउने नीति लिइयो । सोही नीतिअन्तर्गत सरकारी क्षेत्रमा स्थापना गरिएका कलेज मध्येमा दरबार कलेज पनि पर्दथ्यो । यो कलेज दिउँसो विभिन्न कार्यालयमा काम गर्नेहरूलाई उनको शैक्षिक योग्यता बढाउन अवसर प्रदान गर्ने ध्येयले आइए र बिएका कक्षा साँझमा सञ्चालन गराउने गरी सरकारद्वारा  दरबार हाइस्कुल भवनमा २००८ सालमा स्थापना गरियो । यसको प्रिन्सिपल (प्राचार्य) पदमा प्राध्यापक भैरवबहादुर प्रधानलाई तोकियो । पछि कलेज ताहचलस्थित तत्कालीन आधार शिक्षा कार्यक्रम सञ्चालन भएको भवनमा सारियो । तैपनि यसको नाम भने दरबार कलेज नै कायम राखियो (कार्की, २०७५, पृष्ठ ५८–५९) । 

२०१७ सालको वार्षिक प्रवेशिका परीक्षाफल २०१८ सालमा प्रकाशित भयो । परीक्षमा सफलता हासिल गरेपछि २०१८ सालमा यस (दरबार कलेज)को विद्यार्थी हुन पुगेँ । अनि सोही कलेजबाट २०१९ साल (सन् १९६३) मा त्रिभुवन विश्वविद्यालयबाट लिइएको आइएको परीक्षा उत्तीर्ण भए । मैले आइए पढेको कलेज (दरबार कलेज) इतिहासको पानमा हराइसक्यो, कैयौं मेरा गुरुले संसारसमेत त्यागी सके । अतः आफ्नो विद्यार्थी जीवनमा अमिट छाप छोडन सफल, दरबार कलेजलाई देहाएका पङ्क्तिमा चिनाउने प्रयास यस लेखमार्फत गर्ने जमर्को गर्दैछु । अर्थात मैले अध्ययन गर्दा दरबार कलेज कहाँ थियो ? पढाउने गुरु कोको थिए ? कलेजको शैक्षिक वातावरण कस्तो थियो ? सहपाठी तथा अग्रज कोको थिए ? कलेजमा अध्ययनरत हुँदा के कस्ता उटपट्याङ काम गरियो भन्ने कुरालाई तलका पङ्क्तिमा समेटिएका छन् ।             

२. एक्कासी दरबार कलेज 

२०१७ साल माघमा लिइएको वार्षिक प्रवेशिका परीक्षमा उत्तीर्ण भएपछि फलामे ढोका (त्यस बखत प्रवेशिका परीक्षालाई फलामेढोका भन्ने चलन थियो)बाट त निस्किन सफल भएँ, त्यो पनि तृतीय श्रेणीमा । जे भए पनि परीक्षामा सफलता हासिल गरेपछि परिवारका सबै सदस्य खुसी भए । आफू पनि आइएस्सी पढेर पछि डाक्टर बन्ने सपना देख्न थालेँ । बुबा गुल्मी जिल्लाको ठाडास्थित पुलिस थानामा प्रमुख भएर कार्यरत हुनुहुँदा उहाँसँग के पढ्दा ठिक होला भनेर सोध्ने अवस्था थिएन । फेरी घरमा हाम्रो (मेरो र भाइहरूको) पढाइका विषयमा पितामह (बाजे) स्वर्गीय कविराज मुक्तिनाथ शर्मा ढुङ्गेलले नै निर्णय गर्ने, लिने चलन भएकोले बाजेसँग कलेज पढाइका बारेमा कुरा हुनुपर्थ्यो वा उहाँलाई सोध्नुपर्थ्यो । सोधाइका क्रममा आइएस्सी पढ्ने सोच बनाएको वा इच्छा गरेको कुरा पितामहलाई बताएँ । उहाँले ‘पढ् न त’ भन्नुभयो । त्यसपछि त्रिचन्द्र कलेज र अमृत साइन्स कलेज, जहाँ आइएस्सी कक्षा चल्दथे, भर्नाको लागि आवेदन दिएँ । साथै कलेज भर्ना हुन नेपाली नागरिकताको प्रमाणपत्र आवश्यक पर्ला भन्ठानेर डिल्लीबजारस्थित चारखाल अड्डामा रहेको काठमाडौँ मेजिस्ट्रेटमा अफिस पुगी नागरिकता प्रमाणपत्र पनि बनाएँ/लिएँ ।      

तृतीय श्रेणीमा उत्तीर्ण । त्यसमा पनि कुल प्राप्ताङ्क ३८.७५ प्रतिशत । हिसाबमा ३० र विज्ञानमा ४३ अङ्क पाएकोले आफ्नै बलबुतोमा नाम निस्कने अवस्था थिएन । पितामह (बाजे)ले पनि प्रयास गरिदिनु पर्थ्यो । उहाँले आफ्ना साहिँला भाइ पूर्णप्रसाद शर्मा ढुङ्गेल (नारायणहिटी राजदरबार सचिवालयमा जनसम्पर्क अफिसर पदमा कार्यरत हुनुहुन्थ्यो)सँग कुरा गर्नुभयो । साहिँलाबाजे पूर्णप्रसादले शिक्षा सचिव कुलशेखर शर्मासँग भेट्ने समय मिलाइदिनुभयो । सचिव शर्मा कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रको परिसरमा रहेको घरमा बस्नु हुन्थ्यो । त्यहीँ गएर भेटेँ । आइएस्सी पढ्ने इच्छा बताएँ । उहाँले कुरा सुन्नुभयो तर केही भन्नुभएन । सचिवसँग भेटेपछि कलेजमा नाम निस्कनेमा ढुक्क भएँ तर दुवै कलेजमा मेरो नाम निस्कन सकेन । 

के गर्ने कसो गर्ने, कहाँ पढने भन्ने रुमलिएको अवस्थामा रहँदा एक साँझ नयाँसडकस्थित ब्रिटिस काउन्सिल पुस्तकालयमा पत्रपत्रिका पढ्दै गर्दा स्कुल पढ्दाका सहपाठी अभयनन्द जोशी भेटिए । उनले मेरो पढाइको विषयमा सोधखोज गरे । मैले सबै बेलिबिस्तार लगाएँ । उनले ‘समय धड्किसक्यो, विज्ञान पढ्ने विचार त्याग । विष्णुमती नदी पारी ताहचल क्षेत्रमा सरकारी कलेज, दरबार कलेजमा आइएका कक्षा चल्छन् । त्यहाँ भर्ना हुन जाऊ’ भन्ने सल्लाह दिए । 

सहपाठी अभयनन्द जोशीको दरबार कलेजमा भर्ना हुने सल्लाह, सुझावका बारेमा पितामह (बाजे)लाई जानकारी दिँदा उहाँले जोशीको सल्लाहअनुसार गर भन्नुभयो । तत्त पश्चात् प्राप्त लब्धाङ्कपत्र बोकेर तहाचलस्थित दरबार कलेज पुगेँ । प्रिन्सिपल प्रा. भैरवबहादुर प्रधानसँग भेट गरेँ । सामान्य कुराकानीपछि प्रिन्सिपल प्रधानले नागरिकशास्त्र, अर्थशास्त्र र नेपाली लिएर पढ्ने सुझाव दिनुभयो । तिमीहरू भर्ना भयौ भन्नुभयो । भर्ना हुन त्यति धेरै लाग्दैन थियो, १० रुपियाँ लाग्दथ्यो कि ? भोलिपल्ट भर्नावापत पितामहले दिनुभएको रकम लिएर कलेज गएँ । औपचारिक रूपमा भर्ना गरिएँ । यसरी आइएस्सी पढने सोच बनाएको विद्यार्थी आइएमा भर्ना हुन पुगेँ, त्यो पनि छात्रमात्र पढने विद्यालयमा पढेर आएकोलाई सहशिक्षाको सुविधा प्राप्त कलेजमा । 

आइएमा अङ्ग्रेजी र नेपाली विषय अनिवार्य थिए । यी दुई विषयबाहेक अन्य दुई विषय पनि लिनुपर्ने रहेछ । के के लिन पाइने थियो, त्यो पनि थाहा थिएन । प्रिन्सिपल प्रधानले जे जे विषय पढ्न सुझाव दिनुभयो तिनै छनोट गरियो । अर्थात् नागरिकशास्त्र र अर्थशास्त्र ।

भर्ना भए लगत्तै कक्षा प्रवेश गर्दा यसो आँखा घुमाउँदा बराबरजसो सङ्ख्यामा पुरुष तथा महिला  सहपाठी देखिए । पहिलोपटक छात्राका साथ एकै कक्षामा बसेर पढनुपर्ने कलेजमा भर्ना लिनुपरेको त्यसमा पनि भर्ना भई कक्षामा प्रवेश गर्दा पढाइ अगाडि पुगिसकेको थाहा पाएपछि केही दिन नयाँ वातावरणसँग भिज्न धेरै अप्ठ्यारो पर्‍यो । 

तहाचलस्थित कलेज भवन र परिसर

स्रोतः राष्ट्रिय शिक्षा आयोग, सन् १९५६ 

कलेज भवन अगाडि विद्यार्थीको सामूहिक तस्बिर

उभिएका बायाँबाटः सुर्वण शाक्य (प्रथम वर्षका विद्यार्थी), मदनकृष्ण श्रेष्ठ, शारदाभक्त श्रेष्ठ

बसेकाः रघुवर श्रेष्ठ, शैलेन्द्र सुवाल, रामसुन्दर हाडा, द्वारिकानाथ ढुङ्गेल र श्रीकृष्ण जोशी 

(२०१९ साल मङ्सिरमा तहाचलस्थित कलेजको अग्रभाग देखिने गरी लिइएको तस्बिर ।) 

भर्ना भएपछि कलेजका बारेमा कुन साल, के प्रयोजनसहित कलेज स्थापना गरिएको रहेछ भन्ने थाहा पाएँ । अर्थात् कलेज स्थापना राणा शासनको अन्त्यपछि दिउँसोको समयमा पढ्न नसक्नेका लागि गरिएको रहेछ । विशेष गरी सरकारी कर्मचारीलाई पढने अवसर प्रदान गर्न सरकारले दरबार हाइस्कुलमा साँझ कक्षा सञ्चालन गर्ने उद्देश्यले २००८ सालमा दरबार कलेज स्थापना गरिएको थियो । पछि राणाकालमा आधार शिक्षा शिक्षक तयार गर्न विष्णुमती पारी तहाचलमा २००३ सालमा स्थापना भएको आधार शिक्षक तालिम केन्द्रमा सारिएको रहेछ । कलेज रहेको त्यस परिसरमा हाल महेन्द्ररत्न क्याम्पस सञ्चालन हुँदै आएको छ । 

३. पाठ्यक्रम र गुरु 

२०१६ सालदेखि त्रिभुवन विश्वविद्यालय सञ्चालनमा आइसकेको थियो । नेपालका कलेज यसै विश्वविद्यालयसँग आबद्ध थिए । तथापि पटना विश्वविद्यालयसँग हुँदा जुन पाठ्यक्रम कायम थियो, जुन पाठ्यपुस्तक पढनु पर्दथ्यो तिनै कायम थिए । अङ्ग्रेजी विषयमा तीन पेपर (पत्र) थिए । प्रथम पत्रमा कविता सङ्ग्रह (इन्टर मिडिएट प्रोएट्री सेलेक्सन), दोस्रो पत्रमा पटना युनिभर्सिटी इन्टर मिडिएट प्रोज सेलेक्सन र तेस्रो पत्रमा छोटकरी लेखन, उल्था, ग्रामर पढनु पर्दथ्यो । त्यति सम्झना भएन, प्रथम वा दोस्रो पत्रसँग सम्बन्धित हो, अन्य दुई किताब डन क्विजोट र एल्ड टेस्टामेन्ट पनि पढनु पर्दथ्यो । अनिवार्य नेपाली विषयअर्न्तगत मुकुन्द इन्दिरा, मसान र प्रायश्चित पढनु पर्दथ्यो । ऐच्छिक नेपालीअन्तर्गत प्रथम पत्र नेपाली गद्य सङ्ग्रह दोस्रो भाग र दोस्रो पत्र नेपाली पद्य सङ्ग्रह दोस्रो भाग पढेको सम्झना छ । अर्थशास्त्रअर्न्तगत पहिलो पत्रमा अर्थशास्त्रका सिद्धान्त र दोस्रो पत्रमा मूलतः भारतको अर्थशास्त्र पढनु पर्दथ्यो । नागरिकशास्त्रअर्न्तगत पहिलो पत्रमा नागरिकशास्त्रको सिद्धान्त र दोस्रो पत्रमा मूलतः भारतको संविधान पढनु पर्दथ्यो । सामान्य रूपमा नेपालको संविधान, २०१९ पनि पढ्नु पर्दथ्यो । 

नरबहादुर थापा र डिपी नेपालीले अर्थशास्त्र पढाउनुहुन्थ्यो । सिद्धान्त डिपी नेपालीले पढाउनुभयो भने नरबहादुर थापाले भारतको अर्थशास्त्र पढाउनुहुन्थ्यो । प्राध्यापक सुरेन्द्रबहादुर श्रेष्ठले नागरिकशास्त्रको सिद्धान्त र प्रचण्डप्रसाद प्रधानले संविधान पढाउनुभयो । नेपाली विषय प्राध्यापक द्वय जगन्नाथ जोशी र हरिश्चन्द्र न्यौपानेले पढाउनुभयो । अङ्ग्रेजी विषयसँग सम्बन्धित विषय प्राध्यापक उपेन्द्रमोहन महतो, नरसिंहनारायण सिंह र तारकराज ओझाले पढाउनुभयो । 

ती विषयका अतिरिक्त कलेजमा इतिहास विषय लिएकाहरूलाई प्राध्यापक रामभक्त मानन्धर र तुलसीराम वैद्यले पढाउनुहुन्थ्यो । भूगोल र नेवारी विषय लिएका क्रमशः प्राध्यापक नरमान श्रेष्ठ र जनकलाल वैद्यले पढाउनुहुन्थ्यो ।

कक्षा विहान ११ बजेतिर सुरु भई दिनभरी सञ्चालन हुन्थ्यो । प्रत्येक कक्षा एक घन्टाका हुन्थे । पढाउने तरिका स्कुलमा जस्तै प्राध्यापकले पाठ्यक्रमअनुसार लेक्चर पद्धति (प्रवचन) नै थियो । आवश्यकताअनुसार बोर्डमा लेखेर पनि पढाउने गरिन्थ्यो । कक्षामा विद्यार्थी सङ्ख्या २०–२५ जना मात्र हुनाले पढाएको कुरा बुझे बुझेनन् भनेर सोध्न र नबुझेको कुरा बुझाउनमा प्रयास रहन्थ्यो । 

३.१ सहपाठी र सिनियरहरू

कलेजमा २०१८–२०१९ सालको शैक्षिक सत्रमा सँगै पढेका सबैको सम्झना छैन । तैपनि ककसका साथ सँगै पढिएछ भनी सहपाठी पद्मा माथेमाको सहयोगमा सम्झने कोशिस गर्दा केही नाम टिप्न सकियो– नविना प्रधान, इन्दिरा अमात्य, सीता श्रेष्ठ, सुशीला माथेमा, तारा मानन्धर, सरला दली, पद्मा माथेमा, दामोदरप्रसाद प्रजापति, रघुराज अमात्य, शारदाभक्त श्रेष्ठ, शैलेन्द्रलाल सुवाल, श्रीकृष्ण जोशी, तारानारायण प्रधान, उत्तमरत्न बज्राचार्य, रामसुन्दर हाडा, मदनकृष्ण श्रेष्ठ, इश्वरानन्द बज्राचार्य आदि ।

सहपाठीहरू प्रायःजसो सबै उपत्यकाका थिए । त्यसमा अधिकांश काठमाडौँको ठेट क्षेत्र अर्थात् नयाँसडक, ओमबहाल, झोंछे, भीमसेनस्थान, तहाचल, लगन आदिका । काठमाडौँ बाहिरबाट सिक्किम, भक्तपुर र मकवानपुरको पालुङ उपत्यकाका केही थिए । तर उनीहरू काठमाडौँ सहरमा डेरा गरी बस्दथे । अधिकांश सहपाठी नेवार समुदायका थिए । महिला सहपाठी सबै नेवार समुदायका थिए । त्यस बखतसम्म उपत्यकाको मध्यमवर्गीय नेवार समुदायमा छोरी पढाउने चलन आइसकेको थियो । त्यसैको प्रतिबिम्ब हाम्रो कक्षामा देखिएको थियो । रमाइलो र खुसीको कुरा त्यस बखतको बाहुन वा नेवार वा अन्य जातको भन्ने कुनै भावना कसैमा थिएन । एक अर्काका बीच सद्भाव थियो । एकले अर्कोलाई इज्जत गर्दथ्यो ।         

सहपाठीमा इश्वरानन्द बज्राचार्यको नाम सम्झिने बित्त्तिकै एकाएक दिमाग कलेजको टेबुल टेनिस कोठातर्फ गइहाल्छ । उनी कलेजबाट नजिकै गणेशस्थानमा बस्दथे । त्यसो हुँदा बेला बेलामा उनका भाइ दयानन्द बज्राचार्य पनि टेबुल टेनिस खेल्न आउँथे । चिनजानी भएपछि थाहा भयो कि दयानन्द विज्ञान विषय लिएर हाम्रोभन्दा माथिल्लो कक्षामा त्रिचन्द्र कलेजमा पढ्दा रहेछन् । यो कुरा थाहा पाएपछि इश्वरानन्दलाई जिस्क्याउँथ्यौँ– क्या हो भाइभन्दा दाइ तल्लो कक्षामा पढने ? हाम्रा कुरा सुनेर मुसुक्क हाँस्दथे । यिनै इश्वरानन्दपछि त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक बने । 

कलेजमा साथै पढेकी पद्मा माथेमा र म सँगसँगै निजामती सेवामा प्रवेश गर्न पुग्यौँ । उनीसँग त्यस बखत कायम मित्रता कायमै छ । पेसागत रूपमा कार्टोग्राफर हुन पुगेका रामसुन्दर हाडा र कृषि अर्थविज्ञ श्रीकृष्ण जोशीसँग पनि कहिलेकाहीँ भेट हुन्छ ।  

मथिल्ला कक्षा अर्थात् आइए दोस्रो वर्ष र बिएमा अध्ययनरत भाष्कर ढुङ्गेल, केशव लामिछाने, हरिप्रसाद पाण्डे, गोपेन्द्र पाण्डे, तुलसीनारायण श्रेष्ठ, मोतीशोभा तुलाधर आदिको नाम अझै सम्झना छ । 

३.२. परीक्षामा सफलता 

२०१८ साल साउन तिरबाट सुरु भएको दुई वर्षको पढाइ १७–१८ महिनामा सिध्याएर २०१९ को फागुन–चैतमा त्रिभुवन विश्वविद्यालयले लिएको वार्षिक परीक्षामा सामेल भयौँ । त्यसभन्दा अगाडि कलेजले योग्यता परीक्षा (सेन्टअप) लिई सबैलाई पास गरेर वार्षिक परीक्षाको लागि फारम भराइयो र वार्षिक परीक्षाको तयारीका लागि मङ्सिरको अन्त्यमा हामीलाई बिदाबारी गरियो । 

वार्षिक परीक्षाको बलबुताले भ्याएसम्म तयारी गरेँ । कलेजको पढाइ नै पर्याप्त थियो । ट्युसनको आवश्यकता थिएन, तर पनि सहपाठी पद्मा माथेमा, सुशीला माथेमा र मदन श्रेष्ठसँगै परीक्षा अघिको केही महिना प्रा. युगेश्वर बर्मासँग अङ्ग्रेजीको ट्युसन पढ्न गएँ । महिनाको ४० रुपियाँ तिरेका थियौँ । ट्युसन खर्च बाजेले दिनुहुन्थ्यो । 

पुस र माघ महिनामा परीक्षा भएको थियो । परीक्षा त्रिचन्द्र कलेजको बन्दै गरेको नयाँ विज्ञान भवनमा सञ्चालन भएको थियो । परीक्षा दिनमा दुई सिफ्ट हुन्थ्यो । पहिलो सिफ्ट बिहान १० देखि दिउँसो १ बजेसम्म, एक घण्टाको विश्रामपछि फेरि दिउँसो २ देखि अपराह्न ५ बजेसम्म अर्को सिफ्ट हुन्थ्यो । दुवै पत्रका परीक्षा सिध्याएर निस्कदा औँला चलाउन नहुने स्थितिमा हुन्थे । नागरिकशास्त्रको प्रथम पत्रको परीक्षा दिएर एक घन्टा बिताएर परीक्षा कोठमा प्रवेश गर्दा नागरिकशास्त्रको दोस्रो पत्रको प्रश्न कसैले बोर्डमा लेखिदिएको देखेपछि आश्चर्य चकित भयौँ । केही बेरमा नै सो परीक्षा रद्द भयो । यस पत्रको परीक्षा दरबार स्कुलमा कडा सुरक्षाका साथ दिनुपरेको थियो । परीक्षा सकिएको करिब चार महिनापछि २०२० साल असार २५ गते परीक्षाफल प्रकाशित भयो । सँगै पढेका सहपाठीमध्ये एक जना द्वितीय श्रेणीमा र बाँकी १३ जना तृतीय श्रेणीमा पास भएछौँ (द्वितीय श्रेणीमा नविना प्रधान पास भइन् भने तृतीय श्रेणीमा दामोदर प्रजापती, द्वारिकानाथ ढुङ्गेल, इन्दिरामोहनी अमात्य, पद्मा मोहिनी माथेमा, रघुराज अमात्य, शारदाभक्त श्रेष्ठ, शैलेन्द्रलाल सुवाल, श्रीकृष्ण जोशी, सीता श्रेष्ठ, सुशीलामोहनी माथेमा, तारा मानन्धर, तारानारायण प्रधान र उत्तमरत्न बर्ज्राचार्य । एक जना विगत सालका केशरबहादुर मानन्धर पनि तृतीय श्रेणीमा पास भएका थिए/स्रोतः गोरखापत्र, २०२० असार २६ गते ।) 

एकै चोटीमा आइए परीक्षा पास भएकोमा खुसी लाग्ने नै भयो । परिवारका सदस्य सबै खुसी भए । विशेषगरी बाजे खुब खुसी हुनु भयो । परीक्षामा पास भएको खुसी लब्धाङ्कपत्र हातमा परेपछि अलि खिस्स भएँ । कारण केवल पाँच अङ्क कम आउनाको कारणबाट तृतीय श्रेणीमा पास भएको रहेछु । ४५० आएको भए द्वितीय श्रेणीमा पर्ने रहेछ, आएछ ४४५ । त्रिपुरेश्वरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयमा गई उपकुलपति सरदार रुद्रराज पाण्डेसँग कुरा गरेँ । चित्त नबुझेको विषयमा पुनः अङ्क जोडाउन निवेदन देउ भन्नुभयो । घरमा कुरा गरेँ । अन्य केहीसँग कुरा गरेँ । पास भइसक्यो किन बेकारमा झन्झट नबोक (अनुसूची १ र १.१) बरु बीएमा मिहेनत गर भन्ने सल्लाह दिए । त्यसपछि चित्त नबुझेको विषयको लब्धाङ्कमा केही तल माथि परेको छ की भनी हेराउनेतर्फ लागिन । जे भयो राम्रै भयो भन्ने लाग्यो ।  

३.३ सहयोगी बन्यो कलेज   

दरबार कलेजले मेरो जीवनको धार नै बदलिदियो । यही कलेजले स्कुल जीवनमा कमजोर विद्यार्थीका रूपमा चिनिएको व्यक्तिलाई पढ्नमा अभिरुची भएको विद्यार्थीका रूपमा परिवर्तन गरिदियो । यस कलेजमा पढ्न थालेपछि पढाइमा कहिल्यै पनि अड्किन परेन । यसको लागि कलेजमा पढाउने प्राध्यापकको ठुलो भूमिका तथा अविस्मरणीय देन रहेको छ । उहाँहरूको देनका बारेमा सम्झना गर्दा दुई प्राध्यापक राममोहन महतो र सुरेन्द्रबहादुर श्रेष्ठलाई सम्झन पुग्दछु । 

प्राध्यापक सुरेन्द्रबहादुर श्रेष्ठले एक दिन नागरिकशास्त्र विषयअन्तर्गत पढाएका विषयमध्ये कुनै शीर्षक विद्यार्थीले कति बुझेछन् भनी पाठ सोध्नुभयो । मलगायत अधिकांश छात्रले जवाफ दिन सकेनन् अनि छात्राहरूको अगाडि बेस्करी भनाइ खायौँ । त्यसदिन मैले अठोट गरेँ, मन मनै भने यसरी हुँदैन । साथै कक्षामा पढाएका कुरा ध्यान दिएर सुन्छु र घरमा पनि नियमित पढ्छु भन्नेमा दृढ भएँ । त्यसपछि पढ्ने क्रमले गति लियो र अहिलेसम्म पनि थामिएको छैन । 

पढाइमा लगनशील हुनुका साथै घर नजिका नेपाल भारत संस्कृत पुस्तकालय, अमेरिकी पुस्तकालय र ब्रिटिस काउन्सिल पुस्तकालय गएर पत्रपत्रिका तथा किताब पढ्ने स्कुले जीवनदेखिको बानीलाई पनि निरन्तरता दिएँ । यिनैको प्रतिफल २०१९ साल कात्तिक वा मङ्सिरमा कलेजमा आयोजना भएको वादविवाद प्रतियोगितामा भाग लिएँ । प्रथम भएर पुरस्कार पनि पाएँ (अनुसूची २)। स्कुले विद्यार्थी जीवनमा भने वादविवाद र साहित्य कार्यक्रमको श्रोता हुने बाहेक सहभागिता जनाउने हिम्मत आउँदैन थियो ।

कलेजमा विद्यार्थी सङ्ख्या ठुलो थिएन । आइए र बिए दुवै मिलाएर दुई सयजति विद्यार्थी थिए होलान् । त्यसैले सबैले सबैलाई चिन्दथ्यौँ । आफूभन्दा माथिल्लो कक्षाकाले भाइबहिनी सरह व्यवहार गर्दथे । प्रिन्सिपल र प्राध्यापकहरूलाई सबै विद्यार्थीको नाम कण्ठ थियो । को पढाइमा कमजोर छ र उसलाई कसरी सहयोग गर्नुपर्छ भन्नेतर्फ सजग रहन्थे । विद्यार्थीका क्रियाकलाप माथि अभिभावकले जस्तो निगरानी राख्दथे । 

प्रिन्सिपल भैरवबहादुर प्रधान अनुशासनको मामिलामा एकदम कडा हुनुहुन्थ्यो । विद्यार्थी पढ्नमा यताउति नगरुन् भनेर पनि प्राध्यापकहरू सजग थिए र यताउति हुना साथ सर्तक गराइ हाल्दथे । उदाहरणका लागि ‘कलेजमा पो पढिन्छ हो’ भन्ने सोचसहित एउटा कापी दोब्रयाएर पाइन्टको पछाडि पटट्कीो खल्तीमा घुसारेर कलेज जाने गर्दथे । एक दिन प्राध्यापक राममोहन महतोले भन्नुभयो, “कलेज पढ्ने भनेर किताब नबोकेकी कापी पाइन्टमा घुसारेर आएको हो कि क्या हो ? त्यसो गर्नु हुन्छ ?” उहाँको त्यति भनाइले पुगिहाल्यो । अर्को दिनदेखि पूरै किताब बोकेर कलेज जान थालेँ । अहिलेको जस्तो त्यस बखत ब्याग पाइँदैन थियो । हातैमा टन्न किताब कापी बोकेर कलेज जानु पर्दथ्यो । कलेज पढुन्जेल हातभरी किताब कापी बोकेर पढन गएँ । प्राध्यापक सुरेन्द्रबहादुर श्रेष्ठको कक्षामा पाठ बुझाएन भनेर खाएको भनाइले पढनु पर्दछ भन्ने भावना जगाएको थियो भने प्राध्यापक महतोको भनाइले कलेज पढ्ने विद्यार्थीले पनि पढ्न जाँदा किताब कापी बोक्नु पर्दछ भन्ने कुराको सम्झना गराए । यिनै कारणले गर्दा दरबार कलेजको सम्झना गर्दा यिनको सम्झना भई हाल्दछ ।     

अनुशासन कायम राख्नमा जति प्राध्यापक सजग तथा कडा थिए, त्यतिकै मिलनसार पनि थिए । कक्षा नभएको बखत विद्यार्थीसँगै ठट्टा मजाक गर्दथे । साथै कलेजमा उपलव्ध टेबुल टेनिस खेल्ने सुविधा विद्यार्थीसँगै उपयोग गर्दथे । अर्थात् विद्यार्थी खेलिरहेको बेला ‘म पनि खेल्न आएँ’ भनेर साथै खेल्दथे । उनीहरू यति सहयोगी र सहृदयी थिए कि कमजोर विद्यार्थीलाई घरैमा बोलाएर पढाइदिन्थे । यसै सम्बन्धमा घटेको एउटा घटना वर्णन नगरे प्राध्यापकको सहयोगी भावनाप्रति अन्याय हुनेछ । हाम्रा कक्षाका सहपाठी श्रीकृष्ण जोशी त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षाको लागि योग्यता जाँच्न गरिएको परीक्षा (सेन्टअप परीक्षा)मा अङ्ग्रेजी विषयमा राम्रो गर्न सकेनन् । उनलाई विश्वविद्यालयको परीक्षामा सामेल हुनबाट रोकिने (सेन्टअप नगरिने) भयो । हामीलाई नराम्रो लाग्यो । प्राध्यपकहरूसँग कुरा गर्‍यौँ । उनीहरूले आपसमा र प्रिन्सिपल प्रधानसँग छलफल गरे । कुनै प्राध्यापकले पढाउने जिम्मा लिन्छ भने सेन्टअप गरिदिने कुरा प्रिन्सिपलले गर्नुभएछ । त्यसपछि नागरिकशास्त्र पढाउने प्राध्यापक प्रचण्डप्रसाद प्रधानले जोशीलाई पढाउने जिम्मा लिनुभयो । उहाँले विश्वविद्यालयको परीक्षाको लागि फारम भर्नुभयो । प्रिन्सिपलसमक्ष गरेको वाचाअनुसार प्रचण्ड प्रधानले जोशीलाई घरैमा बोलाएर पढाइदिनुभयो । उनले पनि हामीसँगै विश्वविद्यालयले लिएको वार्षिक परीक्षा पास गरे । उनले दुई वर्षपछि अर्थात् १९६५ (२०२२ साल)मा बिए परीक्षा पनि पास गरे । उनलाई त्यस बखत प्राध्यापक प्रचण्डप्रसाद प्रधानले जिम्मा नलिइदिएको भए श्रीकृष्णको पढाइ के हुन्थ्यो होला अनुमान पनि गर्न सक्दिन । 

जोशीलाई पनि विश्वविद्यालयको वार्षिक परीक्षामा सम्मिलित हुन दिनु पर्दछ भन्ने हाम्रो माग वा भनाइलाई प्राध्यापक तथा प्रिन्सिपलले माने होलान् भनी अहिले सोच्दा प्राध्यापकहरूले हामी विद्यार्थीहरूलाई आफ्नै परिवारका सदस्य ठान्दथे भन्ने लाग्दछ । किनकी कलेजको परिवार सङ्ख्या सानो थियो र एकको अर्कालाई सहयोगी भावना थियो । साथै त्यस बखत मुलुकमा नै उच्च शिक्षा हासिल गर्नेको सङ्ख्या त्यति धेरै थिएन । त्यसैले अधिकांश गुरुको ध्यान कमाउनेमा भन्दा शिक्षा दानतर्फ बढी केन्द्रीत थियो । अर्को कारण दरबार कलेजमा विद्यार्थी सङ्ख्या कम थियो । त्यसैले गुरु वर्गमा राम्रो पढाइएन र विश्वविद्यालयको परीक्षामा विद्यार्थी फेल भए आफ्नो जागिर धरापमा पर्दछ भन्ने भावनाले पनि काम गरेको जस्तो लाग्दछ । यी सब कारणबाट सहपाठी जोशीले विश्वविद्यालयको वार्षिक परीक्षामा भाग लिन मात्र पाएनन्, प्रचण्ड प्रधानसँग घरमै पढन पाए । यतिमात्र होइन अन्य विद्यार्थीलाई परीक्षाको तयारीको सिलसिलामा घरमा बोलाएर पढाइ सोधेको सम्झना छ । यी सबको प्रतिफल विश्वविद्यालयको वार्षिक परीक्षामा कलेजबाट आइए र बिए जाँच दिनेमध्ये धेरै जना पास भएका थिए । 

कलेजमा प्राध्यापन गर्ने र पढ्नेका बीचमात्र राम्रो सम्बन्ध रहेको होइन्, माथिल्लो र तल्लो कक्षामा पढ्नेका बीच पनि भाइचाराको सम्बन्ध थियो । तिमी आइएमा पढ्छौ, हामी बिएमा पढ्छौँ भन्ने भावना दुई वर्ष पढ्दा कहिल्यै अनुभव गर्नुपरेन । कक्षा खाली हुँदा कलेज परिसरमा मिलेर रमाइलो गर्ने गर्दथ्यौँ । कक्षाको लागि मात्र हामी आइए र बिएका विद्यार्थी थियौँ, कक्षा बाहिर एक अर्कालाई समान ठान्दथ्यौँ, चाहे प्रथम वर्ष वा चौथो वर्षमा अध्ययनरत होस् । त्यसो नहुँदो त सबै मिलेर गोदावरीमा वनभोजको कार्यक्रम आयोजना गर्ने थिएनौँ । हामीमध्ये केही काठमाडौँ गणेशस्थानबाट दक्षिण तर्फको अट्को नारायणस्थान टोलस्थित तुलसीनारायण श्रेष्ठको घरमा वनभोज कार्यक्रम आयोजना गर्ने छलफल गरी निर्णय गर्‍यौँ । अनि प्रिन्सिपल भैरवबहादुर प्रधानलाई जानकारी दिई प्रध्यापक प्रचण्ड प्रधानको सहयोगमा २०१९ साल असोज वा कात्तिकमा गोदावरीमा मत्स्य फार्म क्षेत्रमा वनभोज कार्यक्रम आयोजना गर्‍यौँ । त्यसमा आइएमा अध्ययनरतभन्दा बिएमा अध्ययनरतको संलग्नता बढी रह्यो । त्यस वनभोजले गाँसेको मित्रता इतिहासका प्राध्यापक डा. कृष्णकान्त अधिकारीको देहावसानको समयसम्म कायमै थियो । त्यस्तै मित्रता त्रिभुवन विश्वविद्यालय प्राध्यापन सेवाबाट निवृत्त डा. तुलसीनारायण श्रेष्ठसँग उनी बाँचुन्जेल कायम रह्यो । संयोग नै मान्नु पर्दछ डा. श्रेष्ठ र मैले सँगसँगै तत्कालीन नेपाल नेसनल कलेमा पढायौँ, भारतमा विद्यावारिधिको शोधका लागि गयौँ, तत्त्कालीन पञ्चायत प्रशिक्षण केन्द्र, जावलाखेलमा प्रशिक्षक भएर काम गर्‍यौँ, लोक सेवा आयोगमार्फत उपसचिवमा बढुवा भयौँ र तत्कालीन गृह पञ्चायत मन्त्रालयमा काम गर्‍यौँ । त्यसपछि उनी विश्वविद्यालयतर्फ लागे, म भने २०५५ साल वैशाखसम्म सिंहदरबारमा नै रुमलिए । 

पढाउनेहरूमा प्रचण्डप्रसाद प्रधान गुरुमात्र हुनुभएन त्रिचन्द्र कलेजमा पढाउन थालेपछि अग्रज सहकर्मी हुनुभयो । उहाँसँग पेसागत सम्बन्ध कायमै छ । पढ्दा अन्य प्राध्यापकमा २०५२ मा सामान्य प्रशासन मन्त्रालयको सचिव पदमा कार्यरत रहँदा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकका रूपमा कार्यरत डा. नरसिंहनारायण सिंहसँग काम गर्न पाइयो । यसैगरी यस अवधिमा लोक सेवा आयोगका सदस्यका रूपमा कार्यरत प्राध्यापक उपेन्द्रमोहन महतोसँग कामको सिलासिलामा भेट हुँदा कलेजको दिन सम्झाउन भुल्नुहुन्न । इतिहास विषयको विद्यार्थी नभए पनि कलेजका दिनबाटै चिनेका प्राध्यापक डा. तुलसीराम वैद्य भेटमा अहिले पनि भाइ भनेर सम्बोधन गर्नुहुन्छ । 

यदाकदा भेट हुँदा प्राध्यापक जगन्नाथ जोशी भद्र व्यवहार गर्नुहुन्छ । प्राध्यापक हरिश्चन्द्र न्यौपाने, प्राध्यापक तारकराज ओझा र प्रिन्सिपल भैरवबहादुर प्रधान लगायतको सम्झना आउँछ । कतिपय त संसारमा रहनुहुन्न ।

२०१९ साल असोज वा कात्तिकमा गोदावरी वनभोज कार्यक्रममा समावेश हुँदाको फोटो

बाँयाबाट तेस्रो र पाँचौ क्रमशः कृष्णकान्त अधिकारी र द्वारिकानाथ ढुङ्गेल

४.अविस्मरणीय सम्झना

दुई वर्षको कलेजमा पढ्दाको समय बिर्सनै नसकिने केही घटना भए जसलाई बिर्सन सकिरहेको छैन । बिदाका समयमा केही सहपाठीसँग काठमाडौँका अनेक ठाउँ चहारिए । बिर्सन नसकेका तथा चहारिका ठाउँ मध्येका केही संस्मरण तल उल्लेख गर्दैछुः 

पर्खाल चढेर भाग्नु पर्‍यो 

पहिलो वर्षको पढाइ चलिरहेको थियो । २०१८ साल भदौ २५ गते कलेजबाट पढेर घर फर्किएर (त्यस बखत बसन्तपुर दरबार स्क्वायर र लगनटोल बीच रहेको झोंछे टोलको मुल बाटोमा रहेको घरमा बस्ने गर्थ्यौँ । सो घर बाजेले २००६ सालमा किन्नु भएको थियो । घरबाट भूगोलपार्क र जनसेवा सिनेमा हल (जहाँ हाल विशालबजार रहेको छ) नजिकै थिए । बेला बेलामा घुम्न जाने ठाउँ थियो ।) केहीबेर आराम गरी भूगोलपार्कतर्फ घुम्न निस्कदा जनसेवा सिनेमा हल क्षेत्रमा हुल जम्मा भई कराइ रहेको देखेँ । सोधखोज गर्दा जनसेवा सिनेमा हल अघिल्तिर  हिँडीरहेको अवस्थामा एक बटुवाले आउँदै गरेको मोटरले धक्का देला भनी छेउलाग्दा संयोगबस त्यही उभिरहेकी हल मालिकनीलाई छुन पुगेछन् । उनले माफीसमेत मागेछन् । तैपनि तिनलाई हलका कर्मचारीले समातेर हलपरिसरभित्र लगी पिटेछन् । त्यसैको विरोधमा हलमा हुल जम्मा भई कराउन थालेका रहेछन् । यो सब देखेर त्यहाँबाट हिँडे । हिडेको केही समयपछि इँटा बर्साउने काम भए छ । त्यसपछि पुलिसले अश्रुग्यास छोडेर भिडलाई तितर बितर गराए छ । 

घटना भएको दुई दिनपछि अर्थात् भदौ २७ गते साँझ करिव ८.३० मा सिनेमा हल मालिकको व्यवहारबाट रुष्ट भएका केहीले हल जलाइदिए । घरबाट धुँवाको मुस्लो निस्केको देखेपछि के भए छ भनी टोलका केही दाइसाथ हेर्न गएँ । जलाउने र हेर्ने दुवैलाई पुलिस लखेट्न थालेपछि म बसन्तपुरको एक चोकभित्र पसी त्यहाँ रहेको अग्लो पर्खाल चढेर भागेर घर आइपुगे । पर्खाल चढन अलि ढिलो भएको भए पुलिसले रामधुलाई गर्नुका साथै पक्राउ गरी हनुमानढोका (अर्थात् काठमाडौँ पुलिस कार्यालय) पुर्‍याउने थियो । घरबाट निस्केर केही बेरसम्म नफर्केकोले विशेष पुलिस विभागको सबइन्सपेक्टर पदमा कार्यरत काका बिन्दुप्रसाद उपाध्याय सिनेमा हलतिर मलाई खोज्न जानु भएछ । मलाई खोज्न जानु नै काकाको सेवाकालीन जीवनमा पहिलो तथा अन्तिमपटक दुई महिना १५ दिन सस्पेण्डको जीवन हुन पुग्यो । कारण विदेश भ्रमणमा रहेका राजा महेन्द्र स्वदेश फर्किएको केही दिन (असोज ८) पछि जनसेवा सिनेमा हल जलेको विषयमा जाँचबुझ गरी प्रतिवेदन पेस गर्न पश्चिमाञ्चल उच्च अदालतका न्यायाधीस पशुपति कोइराला, एटर्नी जनरल शम्भूप्रसाद ज्ञवाली र सचिव प्रेमनरसिंह प्रधान समावेश भएको जाँच कमिसन गठन भएको सूचना गृह मन्त्रालयले जारी गर्‍यो । साथै कमिसनले सम्पूर्ण घटनाको जाँच गरी प्रमाणसाथ श्री ५ महाराजधिराजको जुनाफमा चढाउन हुकुम भएको कुरा पनि सूचनामा समावेश गरियो । साथै काठमाडौँ उपत्यका कमिस्नर विष्णुमणि आचार्य, काका बिन्दुप्रसाद उपाध्याय लगायत सात जनालाई सेवाबाट सस्पेण्ड भएको जानकारी दिइयो । गृह मन्त्रालयबाट सस्पेण्ड पत्र बुझाउन कर्मचारी घर आउँदा काका घरमा हुनु हुन्न थियो । अतः मैले नै एकाघरको आफ्नै भतिजा भनी पत्र बुझे अनि काका फर्केपछि बुझाइ दिएँ । उनलाई सस्पेण्ड भएको थाह रहेनछ क्या रे । पत्र पढेर आश्चर्यचकित भए । कमिसनले बोलाएको दिन उपस्थित भएर बयान दिन जाँदा काकालाई सिनेमा हल जलेको ठाउँमा किन गएको भन्ने प्रश्न गरिएछ । साथै उनको सो ठाउँमा उपस्थितिको फोटो समेत देखाइएछ । काकाले वास्तविकता बताएर बयान दिए । अनि कमिसनको प्रतिवेदन कुरेर बसे । कमिसनले प्रतिवेदन श्री ५ महाराजधिराजमा पेस गरेको कुरा कात्तिक १८ मा सार्वजनिक भयो । कमिसनको रिर्पोटको आधारमा मङ्सिर २४ गते राजाबाट पाँच जनाले जरिवाना तिर्ने दण्ड पाए । पाँच जनाले सेवा अवकास पाए । एक जनाले पुरस्कार पाए । दुई जना निर्दोष सावित करार गरिए (जनसेवा सिनेमा हल काण्डको विस्तृत विवरण गृष्मबहादुर देवकोटाले आफ्नो प्रकाशन नेपालको राजनीतिक दर्पण को तेस्रो भाग (२०२१ सालमा प्रकाशित)को पृष्ठ १७७–१८३ मा दिएका छन् ।) निर्दोष सावित हुनेमा काका बिन्दुप्रसाद पनि परे । यसरी मलाई खोज्न जाने क्रममा काका बिन्दुप्रसाद दुई महिनाभन्दा बढी सस्पेन्डमा परेको कुरा आइए पढदा मसँग जोडिएको एक अविस्मरणीय घटना हुन पुगेको छ । 

झन्डै सैनिक सेवामा

दोस्रो वर्षको पढाइ सुरु हुनु अघि दुई महिना (अर्थात् २०१८ साल पुस र माघ) जाडोको बिदामा बुबालाई भेटन केही दिनको लागि गुल्मीको ठाडा गएँ । त्यस बखत बुबा ठाडा पुलिस थानामा इन्चार्ज भई काम गर्दै हुनुहुन्थ्यो । एक महिनामा बसेर फर्किएर पढाइ सुरु गर्न थालेको केही दिनमा नै त्रिभुवन विश्वविद्यालयले लिने वार्षिक परीक्षाको कारणबाट केही दिनको लागि कलेज बन्द भयो । त्यसै बखत शिक्षा मन्त्रालयले ब्रिटिस गोर्खाली सेनामा सैनिक तालिमको लागि प्रदान गरिएको छात्रवृत्तिको लागि एसएलसी पास गरेका नेपालीबाट आवेदन आह्वान गर्‍यो । अधिकृत स्तरको पदका लागि आवेदन माग गरेको ठानी आवेदन दिए । छनोट भएँ । उपत्यका बाहिर सम्भवत भैरहवा वा पोखरामा पनि उम्मेदवारको छनोट भएको रहेछ र अन्तिम छनोट धरानस्थित ब्रिटिस क्याम्पमा हुने रहेछ । त्यसैले विभिन्न स्थानबाट छानिएका धरान पुग्न शिक्षा मन्त्रालयबाट भनियो । धरान जानुपर्ने कुरा सहपाठीमध्ये अति नै मिल्ने रामसुन्दर हाडालाई जानकारी दिन मन लाग्यो । उनलाई भनेँ, “म यसरी धरान जान लागेको छु । कलेजमा पढाइलाई निरन्तरता दिन फर्किन्छु कि फर्किन ? थाह छैन । यो खवर कुनै साथीलाई पनि नदिनु है, फर्के भने साथै पढाइलाई निरन्तरता दिइहालिन्छ ।” 

सहपाठी हाडालाई जानकारी दिई घरबाट बिदाबारी भई धरानतर्फ लागे । हिँडेको तेस्रो दिन साँझपख धरानस्थित ब्रिटिस क्याम्म पुगेँ । त्यस क्याम्पको केही दिनको पाहुना भए । क्याम्पमा त्यस्तै छ सात दिन बस्दा पो वास्तविकता थाह भयो । ब्रिटिस सरकारद्वारा बृटिस गोर्खा रेजिमेन्ट सिंगापुरमा एसएलसी पास गरेका नेपालीलाई प्राविधिक तालिम (बिजुली काम, मेसिनरीको काम सिकाउने खालको तालिम)का लागि उपलब्ध छात्रवृत्तिमा पठाउनका लागि सार्वजनिक निवेदन आह्वान भएको रहेछ र सो तालिम सिध्याएर फर्केपछि सरकारी जागिरमा राजपत्रअनंकित तह (सहायक स्तर)को नोकरी पाइने रहेछ । 

वास्तविकता थाहा भएपछि फर्केर आएँ । घर परिवार आश्चर्यचकित परे । कलेज पढ्न जाँदा त्यति पढाइ अघि बढेको रहेनछ । त्यसैले पढाइ छोडनु परेन । अन्यथा अर्को एक वर्ष खेर जाने थियो । कलेजमा फर्केर आएको देखेर रामसुन्दर हाडा खुसी भए । उनले कसैलाई पनि म कहाँ गएको छु भन्ने कुरा भनेका रहेनछन्, अन्यथा सहपाठीहरूले जिस्क्याउने थिए । यो परिच्छेद लेख्ने क्रममा रामसुन्दर हाडासँग दरबार कलेजको हामीसँग जोडिएको केही सम्झना छन कि भन्दा पो उनले सम्झाए । उनले ‘सेनामा तालिम लिन गएको कुरा नभन्नु भनेका थियौ, अहिलेसम्म अर्थात् २०७५ मङ्सिरसम्म पनि कसैलाई भनेको छैन’ भने  । 

झण्डै दुई हप्ता धरान बसाइका क्रममा धरान बजारको सीरानसम्म पुगे पनि कक्षाका सहपाठीलाई धनकुटा पुगे भन्ने गफ दिनसमेत पछि परिएन । धरानको ब्रिटिस क्याम्प बसाइ र साथीभाइलाई दिएको गफ सम्झिदा अहिले आफैँलाई अचम्म लाग्दछ र अनि एक्लै हाँस्छु ।

मरेको सर्प राखिदिएको 

रामसुन्दर हाडाले नै कलेजसँग जोडिएको अर्को एक रमाइलो प्रसङ्ग अर्थात् प्रिन्सिपल भैरवबहादुर प्रधानको कोठमा मरेको सर्प लगेर राखिदिएको पनि सम्झाए । यस सम्बन्धमा उनले सम्झाएको घटना यस्तो छः

प्रिन्सिपल भैरवबहादुर प्रधान धेरै कडा प्रशासक हुनुहुन्थ्यो । उहाले हामीलाई थर्कमान पारिराख्नुहुन्थ्यो । एक दिन कलेज परिसरमा एउटा मरेको सर्प देखियो । यसै सर्पमार्फत प्रिन्सिपल प्रधानलाई तर्साउने विचार आयो । हामीले मिलेर त्यो मरेको सर्पलाई रुखको छेस्काले उठाएर प्रिन्सिपल प्रधान कोठामा नभएको बखत राखिदियौं । जब उहाँले त्यसलाई देख्नुभयो अवसकुनको रूपमा लिनुभयो । भोलिपल्ट शान्ति स्वस्ती समेत गराएर कोठा चोख्याइएको थियो । हामी उहाँको त्यो हरकत देखेर मुसुमुसु हास्दै रह्यौं । त्यो उटपट्याङ सम्झदा हाँसो लाग्छ । 

काठमाडौँका डाँडाकाँडा घुमाइ

कलेज पढ्दाका रमाइला दिन सम्झना गर्दै रामसुन्दर हाडाले बिदाका दिनमा सहपाठी मिलेर काठमाडौँ सहर नजिकका विभिन्न ठाउँमा घुम्न जाने, त्यसरी घुम्न जाँदा बदाम वा पुस्टकारी किनेर खाएका कुरा बताए । उनले यी कुरा सम्झाउँदा अचानक मेरो दिमाग प्रथम वर्ष र दोस्रो पढ्दा प्रायः जसो बिदाका दिनमा १० बजेतिर खाना खाइसकेपछि झोंछे वा बसन्तपुर वा नयाँ सडकमा रहेको जुद्धशमशेरको सालिक नजिक भेटने, अनि जससँग केही रकम हुन्थ्यो वा साथी साथीमा रकम उठाएर बदाम, पुस्टकारी जस्ता खाजा किनेर हिँड्दै कहिले स्वयम्भू त कहिले नार्गाजुन दरबार पुगेको सम्झना भई हाल्यो । त्यस बखत त्यो दरबार झ्याल ढोका फुस्केका भुतबंगला थियो, त्यसमा कोही बस्दैन थिए ।  त्यसरी घुम्न हिँड्नेमा प्रायः जसो रामसुन्दर हाडा, श्रीकृष्ण जोशी र म हुन्थे । दोस्रो वर्ष पढ्दाको अवस्था घुम्न निस्कदा कहिलेकाहीँ प्रथम वर्षमा पढ्दै गरेका साथीहरू पनि हुन्थे । कहिलेकाहीँ मेरो साहिँलो भाइ यादव र चिनजानका पुलिस जमदार (असिस्टेण्ट सवइन्सपेक्टर) स्वर्गीय सुरेश मुडभरी पनि हुन्थे । 

नागार्जुन बंगलातर्फ लाग्दै तथा नागार्जुन बंगलाको अगाडि खण्ड

 

दायाँबाटः यादवनाथ ढुङ्गेल, सुरेश मुडभरी, शारदाभक्त श्रेष्ठ र श्रीकृष्ण जोशी 

स्वयम्भू क्षेत्रमा 

दायाँबाटः द्वारिकानाथ ढुङ्गेल, शैलेन्द्र सुवाल, श्रीकृष्ण जोशी, रामसुन्दर हाडा र ठम्याउन नसकिएका एक । 

काठमाडौँका डाँडाकाँडाको घुमाइको अतिरिक्त रातै बस्ने गरी भक्तपुरको बिस्केट जात्रा हेर्न गयौँ र रात रामसुन्दर हाडाको घरमा बितायौँ । जात्रा हेर्न हामी, मदन श्रेष्ठ, उत्तमरत्न शाक्य, शारदाभक्त श्रेष्ठका अतिरिक्त भाइ यादव र सुरेश मुडभरी पनि साथमा थिए । जात्रा स्थलमा अत्यन्त भिडभाड थियो, त्यसमा भाइ यादव हराए । करिव दुई घन्टा हराए । फेला पर्ने हुन् वा होइन ठेगान लागेन । भाइलाई साथमा लिएर गएको कारण हराएको भनी घरमा खप्की खाने भइयो पसिना पसिना भएँ । सबैले यता उति खोज्यौँ । केही लागे । पछि भेट भएपछि मात्र लामो सास फेरेँ । 

जात्रा हेरेर भोलिपल्ट कटुञ्जे पुर्ख्यौली घर पुगी माइला बाजे नेत्रनाथ शर्मा भेटघाट तथा त्यही विहानको खाना खाई काठमाडौँ फर्केका थियौँ । मोटर चढेर फर्किन रकम नहुँदा ठिमीको बाटो हिँडेरै काठमाडौँ फर्क्यौँ । 

कलेजका दिन सम्झनाकै क्रममा रामसुन्दर हाडाले हाम्रो घरको खाजाको चलन पनि सम्झना गर्दै भनेः 

म इन्द्रचोक नजिकै बस्दथे, त्यहाँबाट तिमीहरूको झोंछे घर टाढा थिएन । त्यसैले कलेज छुटेर घर जाने बखत होस् वा बिदाको दिन दिउँसोपखसँगै पढने सोचले तिम्रो घरमा आउँथे, अनि खाजामा मकै भटमास पाउँथे । बढो मिठो मानेर खाने गर्थेँ । त्यस बखत खाएको मकै भटमासको स्वाद नै बेग्लै खालको लाग्दथ्यो । त्यस क्रममा तिम्रा बाजेबज्यै, आमा र बाले मप्रति देखाउनुभएको माया र सद्भाव अहिलेसम्म पनि झलझल्ती सम्झन्छु । 

नभन्दै दरबार कलेज पढ्दाका दिन हाम्रो घरको दिउँसोको खाजा मकै भटमास र कहिलेकाहीँ घरैमा बनाएको मोही पनि हुने गर्दथ्यो ।             

भक्तपुरमा बिस्केट जात्रा हेर्न जाँदाको सामूहिक तस्बिर

दायाँबाटः रामसुन्दर हाडा, यादवनाथ ढुङ्गेल, द्वारिकानाथ ढुङ्गेल, 

मदनकृष्ण श्रेष्ठ, उत्तमरत्न, बज्राचार्य, शारदाभक्त श्रेष्ठ र सुरेश मुडभरी ।

५. उपसंहार 

प्रवेशिका परीक्षा पास गरेपछि विज्ञान पढेर डाक्टर बन्ने सोचले फलिफाप भई त्रिचन्द्र कलेज वा अमृत साइन्स कलेजमा भर्ना हुने अवसर जुरेको भए सम्भवत म आइएस्सीमा नै धेरै वर्ष थन्किएर फेरी कतै आइएमा भर्ना लिएर पढ्दै गर्दा सहपाठीहरूले पेसागत जीवन सुरु गरिसक्दथे होलान् । हुन त अनायसमा नै दरबार कलेजमा त्यो पनि सहपाठी अभयनन्दन जोशी, जो अहिले यस संसारमा छैनन्, को सुझाव र पितामहको स्वीकृतिमा भर्ना हुन पुगेको थिएँ । तर दरबार कलेज, विशेषतः त्यहाँको वातावरणले शैक्षिक जीवनमा मलाई जे जस्तो सफलता हासिल गरायो त्यो सफलता मैले अन्य कलेजमा भर्ना भएर पाउन सक्दिन थिएँ । विशेष गरी सहशिक्षा दिने कलेजमा भर्ना हुनाको कारणबाट मलाई पढ्दा शैक्षिक प्रतिस्पर्धा गर्ने जोश दरबार कलेजले नै दिएको हो । प्रतिस्पर्धी जोसले मलाई जीवनमा धेरै कुरा दिएको छ । त्यसै कलेजको प्रतिफल अगाडिको शिक्षामा कुनै अवरोध आउन दिएन ।  चिकित्सक बन्न नसके पनि समाज विज्ञान विषयक डाक्टरको उपाधि हासिल गर्नमा दरबार कलेजको ठुलो देन छ । सो कलेजलाई बन्द गरेर त्यहाँका विद्यार्थीले अन्य कलेजमा पढनुपर्ने स्थिति तथा त्यहाँका शिक्षकलाई अन्य कलेजमा स्थानान्तरण गरेको खबर सुन्दा नरमाइलो लागेको थियो । तर त्यस बखतका सहपाठी तथा गुरुहरूमा जो बाँचेका छन्, तिनीहरूसँग सम्बन्ध रहनाको कारणबाट बेला बेलामा दरबार कलेजको सम्झना आइरहन्छ । २००८ सालमा दरबार कलेज खोल्ने निर्णय गरेर मुलुकमा उच्च शिक्षाको दियोलाई चहकिलो बनाउनेहरुप्रति साधुबाद ।           

(लेखक नेपाल सरकारका पूर्वसचिव हुन् ।)

सन्दर्भ ग्रन्थ

१. गोविन्दमानसिंह कार्की, नेपालको उच्च शिक्षा र त्रिचन्द्र कलेज (१९१८–१९७३), त्रिचन्द्र कलेज सय वर्ष, त्रिचन्द्र बहुमुखी क्याम्पस, घण्टाघर, काठमाडौँ, २०७५, पृष्ठ १–८४ । 

अनुसूची–१

आइए परीक्षाको लब्धाङ्कपत्र 

अनुसूची–१.१

आइए परीक्षा पास वापतको प्रमाणपत्र

अनुसूची–२

वादविवादमा प्रथम भए वापतको प्रमाणपत्र