After SEE Portal

चीनमा मेडिकल अध्ययनरत विधार्थीहरुद्वारा नेपालमै इन्टर्नसिप नपाए आन्दोलनमा जाने चेतावनी

Bridge Course

कोरोना महामारीका कारण चीनमा मेडिकलतर्फको इन्टर्नसिप पुरा नगरेका विद्यार्थीले देशभित्रै इन्टर्नसिप गर्ने व्यवस्था मिलाउन माग गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै इन्टर्नसिपको बाँकी अवधि पूरा गर्ने व्यवस्था नेपालमै मिलाउन पीडित विद्यार्थीहरुले सरकारसँग आग्रह गरेका हुन् ।

विद्यार्थीहरुले डेढ वर्षको इन्टर्नसिप नेपालकै सरकारी अस्पतालमा गर्न पाउनुपर्ने माग गरेका छन् । विद्यार्थीहरुले आफ्नो जायज माग पुरा नगरेमा आन्दोलनमा उत्रने चेतावनी पनि दिएका छन् । समस्या समाधान नभएसम्म आन्दोलन जारी राख्ने पनि उनीहरुको चेतावनी छ ।

चिकित्सा शिक्षा आयोगले २०७८ साल साउन २३ गते इन्टर्नसिप पूरा गर्न नपाएका विद्यार्थीहरुलाई अनलाइन आवेदन गर्न सुचित गरेको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, त्रिवि र काठमाडौं विश्वविद्यालयका उपकुलपतिहरु, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष लगायतका उपस्थितिमा मंसिर १७ गते भएको छलफलले विदेशमा विभिन्न शिक्षण संस्थाहरुमा शिक्षाको एमबीबीएस अध्ययनरत नेपाली विद्यार्थीहरुले कोभिड–१९ महामारीको अवधिमा नेपाल फर्किआएका र अध्ययन पुरा गर्न नपाएका विद्यार्थीहरुलाई सम्बन्धित विश्वविद्यालयमा नै उपस्थित् भई अध्ययन निरन्तरता दिनको लागि सम्बन्धित सरकारसमक्ष उच्चस्तरमा कुटनितिक पहल गर्ने र उल्लेखित नियामक निकायहरु समेतको समन्वय र सहकार्यमा आवश्यकता अनुसार समस्याको सकारात्मक निकास दिन पहल गर्ने निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पीडित विद्यार्थीहरुले नेपाल मेडिकलले काउन्सिलमा बुझ्न जाँदा अनलाइन मार्फत लिइएको कक्षालाई मान्यता दिने भनेपछि आफूहरुले अनलाइन कक्षा लिएको बताए । अनलाइन कक्षा लिएर पूरै रकमसमेत बुझाएको उनीहरुको भनाई छ । काउन्सिल र विश्वविद्यालयको समन्वयपछि पीडित विद्यार्थीहरुले अनलाइनमार्फत सैद्धान्तिक विषयहरु पढेको सुनाए । बाध्यात्मक परिस्थितिमा इन्टर्नसिप लिन बाध्य भएका विद्यार्थीहरुले राहत दिनुपर्नेमा थप पीडा दिईएको बताए । पटक–पटक सम्बन्धित् निकायमा धर्ना तथा विरोधका कार्यक्रम गरेको भएपनि अहिलेसम्म आफूहरुको मागको सुनुवाई नभएको उनीहरुको भनाई छ ।

एमबीबीएस अध्ययरत अर्का विद्यार्थीले स्वदेशमै प्रयोगात्मक विषयको लागि आवश्यक सामाग्रीसहित व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे । इन्टर्नसिप गर्न बाँकी विद्यार्थीहरुले सबैले अनलाइनमार्फत विषयको ज्ञान लिएको उनले बताए । अनलाइनबाट शिक्षा लिँदा पनि पुरै रकम तिरेको भन्दै फेरि विश्वविद्यालयमा नै गएर कक्षा लिनुपर्ने मन्त्रालयले निर्णय गरेपछि थप पीडा भएको सुनाए ।

उनले भने,‘सम्बन्धित् विश्वविद्यालयमै गएर कक्षा लिनुपर्ने मन्त्रालयले भनेपछि हामीहरु थप संकटमा परेका छौं ।’ उनले इन्टर्नसिपको मागबारे पीडित विद्यार्थीहरुसँग कुनैपनि छलफल नभएको र सरकार विद्यार्थीहरुको बारेमा जानकार हुँदाहुँदै पनि विद्यार्थीहरुको हितका केही निर्णय नगरेकोमा आपत्ति जनाए ।

मन्त्रीलगायत काउन्सिलको उपस्थितिमा भएको छलफलले विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको उनको गुनासो थियो । उनले भने,‘यदि विद्यार्थीको समस्या के हो र उचित समाधान गर्नुपर्छ भन्ने महसुस भएको भए विद्यार्थीहरुलाई पनि समेटेर छलफल गरिन्थ्यो ।’ देशका दक्ष जनशक्तिहरुलाई यसरी अप्ठ्यारोमा पार्न नहुने उनको भनाई थियो ।

एमबीबीएस अध्ययरत एक छात्राले कार्यक्रममा बोल्दै मन्त्रालयको यो निर्णयले विद्यार्थीहरु र अभिभावकहरुलाई निकै गाह्रो भएको सुनाईन् । यसले आर्थिक भार थपिँदा अभिभावकलाई थप पीडा भएको उनको भनाई थियो । उनले भनिन्,‘सरकारले निजी विश्वविद्यालयसँग मिलेर मोटो रकम लिनलाई कुनै षड्यन्त्र भैरहेको देखिन्छ र यसको निर्णयप्रति हामी विद्यार्थी असन्तुष्ट छौं ।’

अर्का विद्यार्थीले मन्त्रालयले विद्यार्थीलाई फसाउन लागेको बताए । अर्की छात्राले कार्यक्रममा बोल्दै अनलाइनबाट लिईएको शिक्षालाई मान्यता दिएअनुसार अनलाइनबाट पुरै कोर्श पुरा गरेको बताइन् । उनले भनिन्–‘प्रत्येक सेमिस्टार २ महिनामा सकाएर कोर्श सकाएको हो । फेरी कोर्श पुरा गर्न सोही विश्वविद्यालय जानपर्ने निर्णयले हाम्रो भविष्यलाई अन्धकारमा धकलेको छ ।’ मन्त्रालयको यो निर्णयले नीजि विश्वविद्यालयहरुमा फेरी कोर्श पढ्न बाध्य बनाएर दोहोरो भार लगाउन खोजेको उनले आरोप लगाईन्् । युवा शक्तिलाई समय खेर फाल्न लगाउन बाध्य पार्न खोजिएको बताइन् । चीनमा विद्यार्थीहरुलाई पठाउने निर्णय विद्यार्थीको हितमा नभएको समेत उनको भनाई थियो । ‘यो निर्णयलाई अस्विकार गर्छांै, हामी कुनैपनि हालतमा यो निर्णय स्विकार गर्न सक्दैनौ ।’–उनले भनिन् ।

त्यस्तै, अर्का चीनमा अध्ययनरत विद्यार्थीले नेपाल मेडिकल काउन्सिललाई समस्याको बारेमा जानकारी दिँदापनि आजसम्म समस्या समाधान नभएको बताए । विद्यार्थीहरुको माग सम्बोधन नहुनुमा शिक्षा मन्त्रालयनै जिम्मेवार भएको उनको आरोप थियो ।

उनले चीनमा एमबीबीएस अध्ययन गरेका आएका चिकित्सकहरुले नै विद्यार्थीहरुलाई सहयोग नगरेको पनि बताए । सम्बन्धित् निकायका जिम्मेवार व्यक्तिहरुले नै विद्यार्थीहरुको मागलाई गैरजिम्मेवार जवाफ दिएको बताए ।

उनले आफ्ना मागहरु जायज भएको भन्दै तत्काल कार्यान्वयन गर्न माग गरे । र, उनले अघि भने,‘मेडिकल इतिहासमा तपाईँहरुको नाम सुनौला अक्षरले लेखियोस र पछिका विद्यार्थीहरु सबैले तपाईंको नाम लिन पाउन त्यसरी हामीलाई सहयोग गर्नुहोस् ।’ नयाँ भेरियन्ट आइरहेको बेला अब फेरी चीन बन्द हुने भएको र चाँडै नै यतै व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

 

A Levels MA
Thuprai - Books and E-books