अटेरी मेडिकल कलेज
काठमाडौं ।
संसदको शिक्षा तथा स्वास्थ्य समितीले मेडिकल कलेजहरुको शुल्क तत्काल घटाउन सरकारलाई निर्देशन दिएको छ ।
संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकले मेडिकल कलेजहरुको शुल्कसम्बन्धी विवाद समाधान गर्न गठित उपसमितिले दिएको सुझावलाई आधार मानेर तत्काल शुल्क घटाउन सरकारलाई निर्देशन दिएको हो ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐनको मर्मअनुसार मेडिकल कलेजहरुको शुल्क घटाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन् । समितिले मेडिकल कलेजहरुको पाठ्यक्रम र शैक्षिक क्यालेन्डरमा एकरुपता ल्याउन पनि सरकारलाई सचेत गराएको छ ।
समितिको बैठकले समितिअन्तर्गत मेडिकल कलेजको शुल्क विवादलगायत विविध विषयमा अध्ययन गर्न गठित उपसमितिको समयावधि तीन हप्ता थप गरेको छ ।
समिति सदस्य सुरेशकुमार राईको संयोजकत्वमा गठित सो उपसमितिमा समिति सदस्य उमेश श्रेष्ठ, एकवाल मिया, खगराज अधिकारी, चित्रलेखा यादव, जीवनराम श्रेष्ठ, मनकुमारी जिसी र सन्तकुमार थारू रहेका छन् ।
समितिका संयोजक राईका अनुसार प्रतिवेदन मस्यौदा लेखन कार्य अन्तिम चरणमा रहेको छ। उनले भने,सरोकारवालासँगको छलफल र मेडिकल कलेजको स्थलगत अध्ययन भ्रमण गरी प्रतिवेदन तयार हुनेछ ।
बैठकमा समिति सदस्य उमेश श्रेष्ठले एमबिबिएस र बिडिएस तहका सिट सङ्ख्या कटौती हुँदा रु ३० देखि ४० अर्ब विदेशिने जानकारी दिँदै यसलाई रोक्न ध्यान दिन आग्रह गरे।
उनले प्रश्न गरे,एमबिबिएस र बिडिएस तहका कार्यक्रम सञ्चालन गर्न विश्वविद्यालयले सम्बन्धन दिँदा रु तीन करोडसम्म लिएका छन्, यो सम्बन्धनको पैसा कहाँ जान्छ ?