कर्णाली प्रतिष्ठानमा एमडिजिपी पढाइ हुने

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जु्म्लामा एमडिजिपी (डाक्टर इन मेडिसिन इन जनरल प्राक्टिस) पठनपाठनका लागि बाटो खुलेको छ । नेपाल मेडिकल काउन्सिलले आज प्रतिष्ठानमा एमडिजिपी पढाइ गर्न निर्णय गरेको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार अब एमडिजिपी पढाइ हुने बाटो खुलेपछि चाँडै काम अगाडि बढाइनेछ । चाँडै एमडिजिपीका लागि आवश्यक पूर्वाधारसमेत तयारी भइरहेको उहाँले बताउनुभयो । यसका लागि मेडिकल काउन्सिलले विज्ञ टोली जुम्ला पठाएर सिट निर्धारण गर्ने प्रतिष्ठानले जनाएको छ । एमबिबिएस उत्तीर्ण गरेकाले मात्रै एमडिजिपी पढ्न पाउनेछन् । प्रतिष्ठानले अब एमबिबिएस अध्ययनको समेत पहल थालिरहेको छ ।

भवन भत्काएर पुनर्निर्माण गरिने

विसं २०७२ पुस ३ गते राति अज्ञात व्यक्तिबाट आगजनी गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको तत्कालीन ओपिडी भवन भत्काइने भएको छ । सो घटनाको अनुसन्धान भइरहेको र आवश्यक अनुसन्धानका तस्बीरसहित सबै प्रमाणहरु सङ्कलन भइसकेको हुँदा जलेको भवन भत्काउँदा फरक नपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले पत्राचार गरेपछि भवन भत्काएर पुनर्निर्माण गरिने रजिष्ट्रार काफ्लेले जानकारी दिनुभयो ।

भवन भत्काएर पुनर्निर्माण गरिने विषयमा प्रतिष्ठानमा जिल्लास्तरीय सर्वदलीय सर्वपक्षीय बैठकसमेत गरेर छलफल गरिएको छ । सो भवनका विषयमा छलफल गरी प्रहरीको पत्रलाई आधार बनाई भत्काइने सहमति भएको र अस्पतालाई संरचना चाहिने भएकाले आधुनिक भवन निर्माण गरिने प्रतिष्ठानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सीताराम रिजालले आगलागीको विषयमा अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरोसहित जिल्ला प्रहरी कार्यालयले गरिरहेको र भवन भत्काएर पुनर्निर्माण गर्न उत्तम हुने बताउनुभयो ।

यसैगरी प्रदेशसभा सदस्य पूर्णप्रसाद धितालले प्रतिष्ठानमा अब सबै प्रकारका सेवा पाउने गरी पूर्वाधार निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । नेपाली काङ्ग्रेसका कोषाध्यक्ष कालीबहादुर बुढाले आन्तरिक सेवा प्रवाहमा गुणस्तरता दिनुपर्ने सुझाव दिनुभयो ।

चार वर्षअगाडि ओपिडी भवनमा भएको आगजनीबाट रु दुई करोड ७४ लाख ४१ हजार ९०९ बराबर क्षति पुगेको थियो । यसैगरी प्रतिष्ठानले उच्च शिक्षामा स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, ब्याचलर मिडवाफ्री, ब्याचलर पब्लिक हेल्थपछि सबैभन्दा माथिल्लो तहको एमडिजिपी पढाइ गर्न सरकारले प्रथामिकता दिएको छ ।

Thuprai - Books and E-books