तीन ओटा प्रतिष्ठानले चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) का कक्षा चालु शैक्षिक सत्रदेखि सञ्चालन गर्न पाउने भएका छन् ।
चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कक्षा सञ्चालनका लागि ५०–५० सिट निर्धारण गरेसंगै उक्त प्रतिष्ठानबाट एमबीबीएसका कक्षा सञ्चालन हुने भएका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एमबीबीएस पढाई सुरु हुन लागेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।
सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत दक्ष जनशक्ति उत्पादन गर्ने र नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले तीन सय शय्याभन्दा माथिका अस्पतालमा क्रमशः एमबीबीएसको पढाई शुरु गर्ने लक्ष्य लिएको छ ।
यस्तै आयोगले व्यवसायी दुर्गा प्रसाईँको बी एन्ड सी मेडिकल कलेजलाई पनि ५० जना विद्यार्थीलाई एमबीबीएस पढाउन पाउनेगरी कोटा दिएको छ । आयोगले गएको बिहिवार २५ वटा अस्पताल, मेडिकल कलेज तथा प्रतिष्ठानलाई २१ सय ४० जना विद्यार्थीको सिट निर्धारण गरेको छ ।
प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्न पाउने छन् ।