उत्तरपुस्तिाका नै हेरफेर, उपप्राध्यापक निलम्बन

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा कार्यरत उपप्राध्यापक राजन दत्तले परीक्षार्थीको उत्तरपुस्तिाका हेरफेर गरेको पुष्टि भएको छ । अङ्ग्रेजी विषयका उपप्राध्यापक दत्तले एक परीक्षार्थीको उत्तरपुस्तिका अर्को परीक्षार्थीको उत्तर पुस्तिकामा राखेको पाइएको हो ।

मानविकी संकायको स्नातक तह पहिलो वर्षको अङग्रेजी विषयको उत्तरपुस्तिका उनले आफ्नी छोरी आस्थाको उत्तरपुस्तिकामा राखेको पाइएको छ । दत्तले ६०००३०००९ सिम्बल नम्बर भएकी आस्थाको उत्तरपुस्तिका ६०००३००८२ सिम्बल नम्बर भएको मुल उत्तर पुस्तिकामा गाभेका थिए ।

क्याम्पस प्रमुख बाबुराम तिम्सिनाका अनुसार २०७८ मा लिइएको ७० पूर्णांकको सो परीक्षामा सन्ध्याको प्राप्ताङ्क २१ र आस्थाको २८ आयो । सनध्याले सो परीक्षामा चार पेज कापी थप गरेकी थिइन् । उनका दुई पेज आस्थाको उत्तरपुस्तिकामा गाभिएको पाइएको छ भने अन्य दुई पेज अहिले सम्म फेला परेको छैन । सो दिन आस्था र सन्ध्याको परीक्षा हलको गार्ड दत्त नै रहेको पाइएको छ ।

सन्ध्याले नतिजामा चित्त नबुझेपछि रिटोटलिङ गरिन् । उत्तरपुस्तिका हेर्न निवेदन दिइन् । सन्ध्याले जतिखोजे पनि आफूले थपेको चार पेज कापी नपाएको बताइन् । ‘मैले चार पेज कापी थप गरेकी थिए, कापी थप गर्दा मुल उत्तरपुस्तिकामा थप कापी पनि प्लस गरिएको हुन्छ ।’ सन्ध्याले भनिन्, ‘मूल उत्तरपुस्तिकामा थप लेखिएको ठाउँ पनि च्यातिएको रहेछ त्यसपछि त्यसपछि क्याम्पसमा छानबिनका लागि निवेदन दिए ।’

क्याम्पस र विश्वविद्यालयको परीक्षा शाखाले उत्तरपुस्तिकामाथि छानबिन गर्दा सन्ध्याले थप गरेको उत्तरपुस्तिका आस्थाको मूल उत्तरपुस्तिकामा गाभेको पाइएको थियो । कापी चोरिएको थाहा भएपछि आफूले पुनः परीक्षा दिएको सन्ध्याले बताइन् ।

उत्तरपुस्तिका चोरेको पुष्टि भएपछि त्रिविले परीक्षा नियन्त्रण कार्यालयको सिफारिसमा उपप्राध्यापक दक्तलाई निलम्बन गरेको छ ।