After SEE Portal

महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालय उद्घाटन

Bridge Course

खोटाङको नुनथलामा स्थापना गरिएको महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयको आज औपचारिक शुरुआत गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गरिएको प्रदेश १ को बहुउद्देश्यीय प्राविधिक शिक्षालको उद्घाटनमा अबको शिक्षा विकास, सुशासन र विज्ञान तथा प्रविधिसँग जोडेर अगाडि बढाउनुपर्ने बताउनुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गरिएको महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालय मङ्गलबार आयोजित उद्घाटन कार्यक्रममा सहभागी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललगायत । तस्वीर: केदार मगर ।


“हाम्रो देशमा राजनीतिक परिवर्तनसँगै धेरै क्षेत्रमा परिवर्तनहरू भएका छन्”, उहाँले भन्नुभयो, “शिक्षामा अहिलेसम्म कुनै परिवर्तन भएको छैन, अबको शिक्षा सीपमूलक हुनुपर्छ भन्ने नेपाल सरकारको अवधारणअनुसार सातवटै प्रदेशमा एक÷एक वटा बहुउद्देश्यीय प्राविधिक शिक्षालय खोलिएको हो ।”

आफ्नो क्षेत्रमा स्थापना भएको बहुउद्देश्यीय प्राविधिक शिक्षालयलाई फलाउने÷फुलाउने जिम्मा जिल्लावासीको भएको भन्नुहुँदै उहाँले मन्त्रालयको तर्फबाट गरिने सहयोगमा कुनै कमी हुन नदिने बताउनुभयो । “बहुउद्देश्यीय प्राविधिक शिक्षालय खोटाङमा स्थापना हुनु जिल्लावासीको निम्ति अवसरको विषय हो” उहाँले भन्नुभयो, “यो शिक्षालयमा जिल्ला बाहिरका विद्यार्थीहरू पनि आउने भएकाले उनीहरूका लागि खाने÷बस्नेलगायतका भौतिक पूर्वाधार विकासमा जिल्लावासीले ध्यान दिन जरुरी छ ।”

आङ्गिक क्याम्पसको रूपमा स्थापना गरिएको बहुउद्देश्यीय प्राविधिक शिक्षालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सीटीईभीटीका निर्देशक विनयकुमार मिश्रले नुनथलामा स्थापना भएको बहुउद्देश्यीय प्राविधिक शिक्षालयमा यस वर्ष भौतिक विकासका कामहरू शुरु हुने बताउनुभएको छ । यसअघि विद्यार्थी अभावमा नुनथलास्थित जालपा माविमा गाभिएको विद्यालयको भवनमा सञ्चालित शिक्षालयमा अहिले वन प्राविधिकअन्तर्गत डिप्लोमा तहका २० र छोटो अवधिका २४० जना विद्यार्थी अध्ययनरत छन् ।

वन प्राविधिक, कृषि तथा पशु भेटेनरी, अनमी तथा अहेव, ओभरसियर, प्लम्बर, मेसनलगायत विभिन्न विषयमा पठन–पाठन गर्ने गराउने उद्देश्यले स्थापना गरिएको बहुउद्देश्यीय प्राविधिक शिक्षालयमा आगामी वर्षदेखि थप विषय अध्ययन÷अध्यापन गराइने सञ्चालक समितिले जनाएको छ । प्राविधिक शिक्षा आर्जनका लागि वातावरणीय हिसाबले उपयुक्त मानिएको नुनथलामा बहुउद्देश्यीय प्राविधिक शिक्षालय सञ्चालनमा आएपछि विद्यार्थीहरू पनि यसप्रति आकर्षित भएका छन् ।

नुनथलामा नेपाल सरकारको लगानीमा बहुउद्देश्यीय प्राविधिक शिक्षालय स्थापना हुने भएपछि स्थानीय ११ जना दाताले करोडौँ मूल्य पर्ने ६८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । मध्यपहाडी लोकमार्गमा पर्ने नुनथलामा स्थापना गरिएको बहुउद्देश्यीय प्राविधिक शिक्षालयका लागि निःशुल्क जग्गा उपलब्ध गराउनुहुने जग्गा दातालाई उद्घाटन कार्यक्रममा शिक्षामन्त्री पोखरेलले सम्मानपत्र प्रदान गर्नुभएको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०७३÷०७४ को स्वीकृत वार्षिक कार्यक्रमानुसार प्रदेश १ को खोटाङमा बहुउद्देश्यीय प्राविधिक शिक्षालय खोलिएको हो ।

A Levels MA
Thuprai - Books and E-books