
लुम्बिनी प्राविधिक विश्वविद्यालयले शैक्षिक सत्र २०८० देखि आफ्नो कार्यक्रम सञ्चालन गर्ने भएको छ । इन्स्टिट्युट अफ इन्जिनियरिङ , इन्स्टिट्युट अफ आईटी , इन्स्टिट्युट अफ एग्रिकल्चर इन्स्टिट्युट अफ फरेष्ट, इन्स्टिट्युट अफ ट्युरिजमका कक्षा सञ्चालन गर्ने लक्ष्यका साथ प्रदेश सरकारले चालु शैक्षिक सत्रदेखि सञ्चालनमा ल्याएको विश्वविद्यालयले आईटी र इन्जिनियरिङका कक्षा सुरु गर्ने भएको हो ।
विश्वविद्यालयको उद्देश्य
प्रदेशका लागि आवश्यक इन्जिनियरिङ्, कृषि, वन, जस्ता प्राविधिक विषयमा उच्च तहको अध्ययन, अध्यापन र अनुसन्धानमार्फत दक्ष, योग्य र सीपमूलक जनशक्ति उत्पादन गर्ने, गुणस्तरीय शिक्षाको सुनिश्चितता मार्फत विश्वविद्यालयलाई देशकै प्राविधिक शिक्षालयको केन्द्रको रुपमा स्थापित गर्ने, देश भित्र र बाहिरका विभिन्न प्राविधिक विश्वविद्यालय तथा विभिन्न अनुसन्धान केन्द्रसँग सम्बन्ध र समन्वय कायम गरी विश्वको बदलिँदो परिवेश अनुकुलको मानवस्रोत उत्पादन गर्ने उद्देश्यका साथ विश्वविद्यालयमा सञ्चालनमा आएको जनाएको छ । ।
प्राविधिक विषयमा व्यवहारिक ज्ञान प्रदान गरी विश्वविद्यालय भित्र आविष्कार, अनुसन्धान र नवप्रवर्तन केन्द्र स्थापना गरी विद्यार्थीहरुलाई व्यवसायिक ज्ञान प्रदान गर्ने विश्वविद्यालय जानकारी दियो ।
औचित्य
विश्वविद्यालयका रजिष्टार रेगबहादुर भण्डारीका अनुसार विश्वविद्यालयको विधिवत उद्घाटा गत भदौ ८ गते गरिएको हो । यसको केन्द्रीय कार्यालय बाँकेमा रहेको छ । उच्च शिक्षा अध्ययन, अध्यापन र अनुसन्धान मार्फत प्राविधिक ज्ञान, सीप र सूचना प्रविधि सहितको सक्षम, उद्यमशील र सामाजिक मूल्य मान्यताप्रति सचेत नागरिक तयार गरी समाजलाई समयानुकूल, समृद्ध तथा आत्मनिर्भर बनाउन प्राविधिक विश्वविद्यालय स्थापना भएको हो ।
आइटी र इन्जिनियरिङका कक्षा सञ्चालन हुने
विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका कक्षा सञ्चालन गर्नेछ । पहिलो वर्ष कक्षा सञ्चालनका लागि इन्जिनियरिङ र आईटी रोजिएको छ । कार्यक्रम सञ्चालनका लागि डिन नियुक्त गरिसकिएको छ । कक्षा सञ्चालनका लागि एकेडेमिक क्यालेण्डर, फि स्टक्चर, पाठ्यक्रम निर्माण जस्ता काम थालिसकेको छ ।
विश्वविद्यालयले बजारमुखी पाठ्यक्रम निर्माणमा जोड दिँदै सम्बन्धित संस्थानको डिनको नेतृत्वमा पाठ्यक्रम निर्माण भइरहेको रजिष्टार भण्डारीले जानकारी दिए । ‘विश्वबजारलाई ध्यानमा राखेर पाठ्यक्रम निर्माण गर्छौं ।’ उनले भने, ‘पहिलो वर्ष आइटी र इन्जिनियरिङका कक्षा सञ्चालन गर्छौं, बेलयाती प्रणालीमा कक्षा सञ्चालन गर्ने कि अमेरिकन प्रणालीमा भन्ने छलफल भइरहेको छ ।’
विश्वविद्यालयले कुनै कलेजलाई सम्बन्धन नदिने भए पनि आंगिक कलेज भने सञ्चालन गर्न सक्ने रजिष्टार भण्डारीले बताए ।
‘विद्यार्थीको व्यावसायिक सीप विकास गर्नेगरी उच्च गुणस्तरको शैक्षिक कार्यक्रम ल्याउने तयारी भइरहेको छ‘’ उनले भने, ‘विश्वविद्यालयले लुम्बिनी प्रदेश अन्तर्गत रहेका स्थानीय पालिकाका विद्यार्थीलाई प्राथमिकता दिने छ, यसको मतलब अरू ठाउँका विद्यार्थीले पढ्न नपाउने होइन । हामी नेपालका सबै ठाउँ र छिमेकी राष्ट्रबाट समेत विद्यार्थीहरू आउन भन्रे सोचमा छौं ।’
विश्वविद्यालयमा बौद्धिक सम्पति प्राप्ति, जर्गेना गर्न आवश्यक पर्ने पूर्वाधार सहित ‘रिसर्च एन्ड इनोभेसन सेन्टर’ हुने उनले बताए ।
अन्य विश्वविद्यालय भन्दा फरक कसरी ?
वौद्धिक सम्पत्ति प्राप्तिका लागि विशेष प्राथमिकताका साथ कार्य अगाडी बढाउने गरी काम थालनी गरेको छ ।
दिगो विकास लक्ष्यका साथै नविनतम प्रविधिसंग सम्बन्धित रहेर पाठ्यक्रम निर्माण गर्ने, सिपमुलक एवमं व्यावहारिक शिक्षामा जोड दिने विश्वविद्यालयको लक्ष्य छ ।
पाठ्यक्रम निर्माण र मूल्याङ्कनमा फ्याकल्टीलाई स्वतन्त्रता दिने विश्वविद्यालयले निर्णय गरेको छ ।
इन्टनसिप, परियोजना कार्य अनिवार्य गर्ने, पढाइसंगै कमाइलाई जोड्न प्लेसमेन्ट सेलको स्थापना गर्ने, विश्वविद्यालय र उद्योग विच सम्झौता र समन्वय गर्ने र सिमुलेशन ल्याबको स्थापना गर्ने सोच नै अन्य विश्वविद्यालयभन्दा फरक छ ।