लर्डबुद्ध तथा जेनेज क्लाउड एकेडेमी बिच क्लाउड कम्पुटिङ्गमा सहकार्य सुरु

लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले बेलायतको जेनेज क्लाउड एकेडेमीसगं सहकार्य गर्ने भएको छ । यस साझेदारी कार्यक्रम अन्तरगत विद्यार्थीले बीएससी आईटी (आनर्स) र क्लाउड कम्पुटिङ्गको सैद्धान्तिक तथा व्यहारिक ज्ञान प्राप्त गर्ने छन् । फाउण्डेसनलले नयाँ रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गदै एकेडेमीसंग सहकार्य गरेको हो ।

क्याम्पसले एक औपचारिक कार्यक्रमका बिच एकेडेमीसंग सहकार्य गरेको जानकारी दियो । ‘यस सहकार्यले उद्योग र औपचारिक शिक्षा बिचको दुरीलाई कमगर्ने विश्वाश लिएका छौं ।’ कलेजका अध्यक्ष पंकज जालानले भने, ‘यस कार्यको लागी जेनेस क्लाउड एकेडेमी जस्तो सहयात्री पाउदाँ अत्यन्तै हर्षित छौं ’

उक्त कार्यक्रममा लर्डबुद्ध एजुकेसन फाउण्डेसनले बीएससी आईटी (आनर्स) कार्यक्रममा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको लागी एक जना छात्रा सहित ३ जना विद्यार्थीका लागि पूर्ण छात्रवृत्ति उपलब्ध हुने जानकारी गराएको छ ।

सोको छनौट जेनेस क्लाउड एकेडेमीको अगुवाईमा गठित छात्रवत्ति छनोट समितिले गर्नेछ । उक्त कार्यक्रममा जेनेज क्लाउड एकेडेमीका सीईओ अंजनी फुयालले सूचना प्रविधि उद्योग र शैक्षिक क्षेत्र बिच सहकार्यको महत्वमा जोड दिइन् । आजको यस डिजिटल युगमा क्लाउड कम्प्युटिङ्ग सबै उद्योगहरुका लागि मेरुदण्ड साबित भएको बताइन् ।

यसले सूचना प्रविधिमा भविष्य देखिरहेका विद्यार्थीहरूको लागि विश्वव्यापी रोजगारीको सृजना गरेको छ । उक्त अवसरको लागि विद्यार्थीहरुले यस क्षेत्रसँग सम्बन्धित ज्ञानको दक्षता हासिल गर्न तयार रहनु पर्नेछ । उनका अनुसार लर्ड बुद्ध एडुकेसन फाउनडेसन र जेनेज क्लाउड एकेडेमी बिच भएको साझेदारीले शैक्षिक क्षेत्र तथा सूचना प्रविधि उद्योग बिचको दुरी कम गर्न कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरिन् ।

उक्त कार्यक्रमका अर्का वक्ता कनिष्क अग्रवालले नेपाली आईटी बजार प्रवर्धनका लागि जेनेज क्लाउड एकेडेमीले महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै नेपालमा समेत निकट भविष्यमै एडब्ल्यूएस एकेडेमीे सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा कम्प्युटर एसोसिएशन अफ नेपाल (क्यान) का निवर्तमान अध्यक्ष र विश्व सूचना प्रविधि र सेवा गठबन्धन कार्यकारी सदस्य हेमन्त चौरसियाले आईटी शिक्षालाई समृद्ध बनाउन शैक्षिक संस्थालाई सहयोग गर्न कम्प्युटर एसोसिएशन अफ नेपाल सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।

सो कार्यक्रममा एलबीईएफका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले क्लाउड कम्पुटिङ्गको प्रयोग अहिले व्यवसायिक प्रतिष्ठानहरुमा बढ्दो मात्रामा रहेको उल्लेख गरे ।

फाउण्डेसनले यसअघि एसिया प्यासिफिक यूनीभर्सिटी, मलेसियासँग शैक्षिक सहकार्य गरी नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक स्तरको बीएससीआईटी र बीबीएम विषयमा अध्यापन गराउदैं आएको छ ।