लकडाउन, प्रविधि र शिक्षक

अहिले सम्पूर्ण मानवजाति कोरोना भाइरस (Covid-19) को संक्रमणको कारणले आक्रान्त छ। यो लेख तयार पार्ने समयसम्म विश्वका २१० देशमा यो रोगको संक्रमण फैलिइसकेको छ। हालसम्म २१ लाख ९० हजार भन्दा बढी मानिसहरु संङ्क्रमित भैसकेका छन् भने १ लाख ४७ हजार मानिसको मृत्यु भैसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा जम्मा ७२४० मा परिक्षण, १६ जनामा संक्रमण, १ जना निको, ० मृत्यु र १०३ जना आइसोलेसनमा भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्वका अधिकांश मुलुकहरु जस्तै नेपाल पनि बन्दाबन्दी (लकडाउन) को अवस्थामा छ । चैत्र ११ बाट शुरु गरिएको बन्दाबन्दी तेस्रो पटक थपिँदै वैशाख १५ सम्मको लागि तय गरिएको छ । यो गर्नुपर्ने नै थियो र  गर्नुपर्छ । नेपाल जस्तो सीमित स्रोतसाधन भएको देशमा अहिलेको अवस्थामा यो नै उत्तम उपाय मानिएको छ । यसै बीच लकडाउन आंशिक रुपमा खुलाउने वा  कुनै क्षेत्र मात्रै लकडाउन गर्ने सम्बन्धमा पनि पछिल्ला दिनहरुमा वहस शुरु भएका छन् । यस सम्बन्धमा सरकारले अर्को निर्णय नगरुन्जेल सरकारको अहिलेकै नियम कडाईपूर्वक पालना गर्नुको विकल्प हामी नागरिकसामु छैन । र, सरकारी निर्णयको अवज्ञा गर्नु पनि हुँदैन ।

के के भैरहेको छ?

यो महामारीको समयमा कतिपय मानिसहरु भने रचनात्मक कामहरुमा आफूलाई व्यस्त वनाईरहेका छन् । घरबाट बाहिर निस्कन नपाउने हुनाले शैक्षिक तथा पेशागत कामहरु गर्न सूचना प्रविधिको सहारा लिइरहेका छन् । यो समयलाई अवसरको रुपमा लिँदै आफूलाई प्रविधिमा अभ्यस्त बनाउँदै लगेका छन् । गत चैत्र २ (March 15) गते  कोरोना भाइरस विरुद्द साझा रणनीति तय गर्न सार्क राष्ट्रबीच भिडियो वार्ता सम्पन्न भयो । प्रधानमन्त्री र ७ वटै प्रदेशका मुख्यमन्त्री हरूबीच  र  संघीय संसद्का सभामुख र अध्यक्ष र प्रदेशसभाका प्रमुखहरुबीच भर्चुअल बैठकहरु भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि विद्यालय तहमा अनलाइन कक्षा चलाउने र रोकिएका परीक्षाहरु सञ्चालन गर्ने सम्बन्धमा प्रदेशका सामाजिक विकास मन्त्रीहरुसँग भर्चुअल छलफल गरेको छ। त्रिभुवन विश्व विद्यालय र खुला विश्व विद्यालयले संस्थागत रुपमै र अन्य विभिन्न विश्वविद्यालयहरुले विभिन्न विषयहरुमा अनलाइन कक्षाहरु चलाइरहेका छन्। माध्यमिक तहका सबै विद्यालयहरु (सामुदायिक, खुल्ला, वैकल्पिक र निजी) लाई लक्षित गरी विषयगत पाठ सिकाइमा सहयोग पुर्याउने उदेश्यले कक्षा १० का ६ वटा अनिवार्य विषयहरूको प्रत्यक्ष शिक्षणमा आधारित रेकर्डेड भिडियो पाठहरु नेपाल टेलिभिजनको एन टि भी प्लस च्यानलबाट हरेक दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म श्रव्यदृश्य सामग्रीको रुपमा भर्चुअल कक्षाको रुपमा प्रसारण भइरहेको छ । संसद्को "शिक्षा तथा स्वास्थ्य समिति" ले पनि भर्चुअल बैठक गरेर केही  सुझावहरु प्रस्तुत गरेको छ । शिक्षक तथा विभिन्न पेशागत संघसंस्थाहरुले पनि आफ्ना सरोकारवालाहरुसँग भर्चुअल बैठकहरु गरिरहेका छन् । केही विद्यालयहरुले परीक्षा सकेर रोकिइराखेको परीक्षाफल अनलाइन मार्फत् नै प्रकाशित गर्न थालेका छन् । व्यक्तिगत रुपमा पनि मान्छेहरु विभिन्न तरिकाबाट प्रविधिसँग नजिक बन्न पुगेका छन् । समग्रमा यसरी बुझौँ, मानिसहरु प्रविधिसँग साक्षात्कार हुने क्रम बढेको छ ।  कोरोना भाइरसले निम्त्याएको निराशालाई केही हदसम्म भए पनि कम गर्न सूचना प्रविधि एउटा राम्रो माध्यम बनेको छ।

उपयोगी एप्लिकेसनहरु केके हुन सक्छन्?

प्रविधिले मानिसलाई घरमै बसेर दुनियाँसँग नजिक बनाउँछ । माथि उल्लिखित क्रियाकलापहरु गर्न विभिन्न सामाजिक सञ्जालहरु जस्तो: फेसबुक, म्यासेन्जर, IMO, Viber, Instagram, Twitter, WhatsApp, LinkedIn, YouTube आदिका अलावा विभिन्न एप्लिकेसनहरु, सफ्टवेयर  तथा अनलाइन लर्निङ् वेभसाइटहरुको प्रयोग भएको छ । यस्ता एप्लिकेसनहरु इन्टरनेटको सुविधा भएको ठाउँमा सहज रुपमा मोबाइल र कम्प्युटरमा नै उपलब्ध हुन्छन् । तीमध्ये धेरै निशुल्क र केही सशुल्क रहेका छन् । यो बन्दाबन्दीको समयमा निशुल्क रुपमा उपलब्ध हुने त्यस्ता एप्लिकेसनहरुको प्रयोग बुद्धिमतापूर्ण हुन्छ । त्यस्ता धेरैमध्ये मानिसहरुले प्रयोग गरिरहेका केहीलाई प्रतिनिधि उदाहरणको रुपमा यहाँ प्रस्तुत गरिएको छ ।

१. Zoom Cloud Meetings App

जुम त्यस्तो एप हो जसबाट १०० जनासम्म मानिसलाई अनलाईनबाट एकैपटक मिटिङ गर्न प्रयोग गर्न सकिन्छ। यस एपको फ्रि भर्सनमा ४०–४० मिनेटमा भिडियो कलिङ रोकिन्छ र फेरि कल गर्नुपर्ने हुन्छ । तर पेड भर्सनमा भने समयको कुनै सीमा तोकिएको छैन ।अनलिमिटेड समयसम्म यसलाई मिटिङ गर्न प्रयोग गर्न सकिन्छ । यसलाई गुगल प्ले स्टोरबाट १० करोडभन्दा बढी पटक डाउनलोड गरिएको छ।

२. Moodle Learning Management System

यसको पूर्ण रुप Modular Object Oriented Dynamic Learning Environment हो । यस एपको प्रयोग गरेर शिक्षण सामाग्रीहरु जस्तो : Text, audio, video आदि निर्माण तथा अपलोड गर्न सकिन्छ । साथै, विभिन्न क्रियाकलापहरु गृहकार्य, क्विज गेम्स आदिको निर्माण गर्न सकिन्छ । यो एप हालसम्म ५० लाखभन्दा बढी पटक डाउनलोड गरिएको छ ।

३. Vevox app

सहभागीहरु बीच छलफल गर्न, एक अर्काको मतमा आफ्नो विचार व्यक्त गर्न , पृष्ठपोषण प्रदान गर्न यो एपको प्रयोग गर्न सकिन्छ । मोबाइलमा प्लेस्टोर वा एप स्टोरबाट सजिलैसँग डाउनलोड गरी दिइएको निर्देशन बमोजिम यो एप प्रयोग गर्न सकिन्छ । यो एप हालसम्म १० हजार भन्दा बढी पटक डाउनलोड गरिएको छ ।

४. Pocket App

विभिन्न लेख रचना, भिडियो सामग्री, अडियो सामग्री अध्ययन गर्न र पछि अध्ययनका लागि सेभ गर्न, शिक्षक तथा विद्यार्थीहरुबीच अन्तरक्रिया गर्न यो एपको प्रयोग गर्न सकिन्छ । यो एप हालसम्म १ करोड पटक डाउनलोड गरिएको छ ।

५. TED App

अडियो, भिडियो डाउनलोड गर्न तथा अनलाइन शिक्षण गर्न यो एप प्रभावकारी मानिएको छ । १०० भन्दा बढी भाषामा उपलव्ध यो एप १ करोडभन्दा बढी पटक डाउनलोड गरिएको छ । यी र यस्ता कैयौँ उपयोगी एप्स , लिंक तथा सफ्टवेयरहरु अरू पनि उपलव्ध छन् ।

हामी शिक्षकहरू के गर्न सक्छौँ?

अहिले SEE, कक्षा ११ र १२ अनि  सम्पूर्ण विश्वविद्यालयका परीक्षाहरु स्थगित भएका छन् । विद्यालय तहको  कक्षा १० सम्मको शैक्षिक सत्र वैशाख २ गतेदेखि शुरु हुनुपर्नेमा त्यसो हुन सकेको छैन। वैशाख १५ गतेसम्म हुने विद्यार्थी भर्ना अभियान बन्द छ । जारी लकडाउन खुलेर स्थिति सामान्य नहुन्जेल परीक्षा सञ्चालन हुने देखिन्न । परीक्षाका विभिन्न विकल्पहरुमा पनि सरोकारवालाहरु बीच छलफल भैरहेको छ । यसपटक SEE परीक्षा  दिन लागेका करिव ५ लाख विद्यार्थीहरुको तनाव र मनोवैज्ञानिक असर कम गर्न हामी शिक्षकहरु विभिन्न उपायहरु गर्न सक्छौँ । जस्तो:

१. माथि उल्लेख गरिएका विभिन्न मोवाईल एप्लिकेशन तथा वेभसाईट हरुको प्रयोग गरी विद्यार्थीहरुसँग विषयगत   

   रुपमा नियमित अन्तरक्रिया गर्ने, धेरै विद्यार्थीहरु भएको अवस्थामा समूह विभाजन गरेर छलफल गर्ने,

   उनीहरुलाई व्यक्तिगत रुपमा प्रेजेन्टेसन गर्न लगाउने,

२. विषयगत शिक्षकहरुको सम्पर्क नम्वर विद्यार्थीहरुलाई उपलव्ध गराएर व्यक्तिगत रुपमा परामर्श गर्ने,

३. सामाजिक सञ्जालको माध्यमवाट विषयगत नोट, अध्ययन गर्ने तरिका, समस्याको समाधान आदि कुराहरु

  आदानप्रदान गर्ने,

४. आधिकारिक शैक्षिक निकायहरुबाट उपलब्ध हुने सन्दर्भ सामग्रीहरु विद्यार्थीहरुलाई उपलब्ध गराईदिने,

५. SEE परीक्षार्थीबाहेक कक्षा ९ सम्मका अधिकांश विद्यार्थीहरु नतिजाको पर्खाइ छन् । चैत्र ५ भित्रै परीक्षा  सक्नुपर्ने

  केन्द्र सरकारको निर्देशन बमोजिम नै सबै विद्यालयहरुले परीक्षा सिध्याएको र लगभग सबै विद्यालयले नतिजा

  प्रकाशन पूर्वका सम्पूर्ण कामहरु सकेको अवस्था छ । तसर्थ,  परीक्षाको नतिजा सम्बन्धित निकायसँगको समन्वय

  तथा शिक्षक कर्मचारीहरुको सहयोगमा अनलाइनबाट वा सामाजिक तथा भौतिक दूरी कायम राखेरै भए पनि

  नतिजा प्रकाशित गर्ने, नतिजाका लागि बन्दाबन्दी खुल्नैपर्छ भन्ने छैन ।

६. अभिभावकहरुसँग पनि सम्पर्कमा रहेर बालबालिकाहरुको बारेमा नियमित जानकारी लिने,  

७. शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि एक सूचना जारी गरेर विद्यालय बन्द भएको अवस्थामा अध्ययन

  गर्न गराउन भनेका निम्न वेभसाइटहरुमा भएका सामग्रीहरु अध्ययन गर्ने/गराउने,

१. Grade 6-8 English, Math , Science content: https://moest.himalayantechies.com

२. E-pustakalaya- free and open digital library : https://pustakalaya.org/

३. E – paath – Digital learning activities: https://pustakalaya.org/epaath/

४. Children´s stories and games: https://egr.pustakalaya.org/

५. Children´s books: https://pustakalaya.org/balpaathmala/

६. Class 9-10 Math, Science and English Content: https://www.youtube.com/channel/UCrTKRd1F1QL61JIEb5BOvA

७. https://moecdc.gov.np/

अन्त्यमाः  

सूचना, प्रविधिको हालको यो प्रयोगलाई अझ व्यापक बनाउँदै लैजानु कोरोनाले दिएको एउटा अवसर पनि हुनसक्छ । यो प्रयोग भोलि कोरोना महामारी कम वा अन्त्य भैसकेपछि कमी हुनुहुन्न । नेपाल सरकारले परिभाषित गरेको शिक्षकका ८ वटा सक्षमतामध्ये एउटा "सूचना तथा सञ्चार प्रविधि" पनि रहेको छ । यसलाई व्यवहारमै कार्यान्वयन गर्न यसको प्रयोगमा व्यापकता ल्याउनु अहिलेको आवश्यकता हो । मुलुकको समग्र शैक्षिक विकासको नेतृत्व लिने शिक्षकहरु सूचना प्रविधिमैत्री हुनैपर्छ। युनेस्कोको ICT Framework for Teachers 2011 का अनुसार शिक्षकमा technology literacy, knowledge deepening and knowledge creation हुनुपर्छ । धेरै पहिले आएको यो कुरा अझैपनि पूर्ण रुपमा विकास हुन सकेको अवस्था छैन । राज्यले पनि विद्यालय र शिक्षकको मागका आधारमा सूचना प्रविधिको विकासका लागि स्रोतसाधन उपलब्ध गराउनुपर्छ । बढ्दो डिजिटल डिभाइड कम गर्नका लागि यो समयमा भएको प्रविधिको प्रयोगलाई स्रोतसाधन, नीति तथा कार्यक्रमले सुसज्जित तुल्याउँदै अघि बढ्न ढिलो गर्नु हुँदैन ।