मेडिकल कलेज निर्माणको प्रगतिले स्थानीयवासी खुशी

सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको विकाससँग जोडिएको कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजको निर्माण कार्यमा भइरहेको प्रगतिसँगै स्थानीयवासी खुशी भएका छन् ।

धनगढीको गेटामा गेटा मेडिकल (तस्वीर: तिलकराज ओझा, रासस)

निर्माण थालनीका बेला कलेज सञ्चालन हुने÷नहुनेमा अन्योल सिर्जना हुँदा निराश देखिएका स्थानीयवासी पछिल्ला वर्षमा संरचना निर्माणको काम तीव्र हुँदा खुशी भएका हुन् । “शुरुका वर्षमा संरचना निर्माण ढिलाइ हुँदा यो योजना कार्यान्वयनमा आउनेमा शङ्का थियो, स्थानीय भक्तराज ओझाले भन्नुभयो, “अहिले भने काम धमाधम हुँदा कलेज छिट्टै सञ्चालन हुने आशा जगाएको छ ।”

कलेजका संरचना निर्माणले तीव्रता पाएसँगै आगामी एक वर्षभित्र सबै संरचनाको निर्माण पूरा हुन लागेको कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले जानकारी दिनुभयो । “विसं २०७७ को अन्त्यसम्ममा सबै संरचना तयार पारेर कलेज सञ्चालनको प्रक्रियामा जाने सोच बनाएका छौँ”, कार्यकारी निर्देशक साउदले भन्नुभयो, “अहिलेसम्म ६५ प्रतिशतभन्दा बढीको निर्माण कार्य पूरा भइसकेको छ ।”

नेपाल सरकारले यस्ता कलेज सञ्चालनको ढाँचाका बारेमा विधेयक तयार पारेर कानूनी परामर्शसमेत गरिरहेको छ । सरकारले विसं २०६६ मा कलेज स्थापनाको घोषणा गरेकामा प्रक्रियागत ढिलाइका कारण निर्माण कार्य भने तीन वर्षअघि देखि मात्रै शुरु गरिएको थियो ।

कलेजका लागि साढे तीन तलाको अस्पताल भवन, साढे पाँच तलाकोे कलेज भवन, दुई तलाका दुईवटा छात्रबास भवन, अढाइ तलाको प्रशासनिक भवन लगायतका २४ संरचना निर्माणधीन रहेका छन् ।

आउने साउन महिनासम्म कलेजको अस्पताल भवन, कलेज भवन, प्रशासनिक भवन, छात्रावासलगायत संरचना निर्माण पूरा हुन लागेको छ । चिकित्सकको आवासगृहका रुपमा आठवटा भवन निर्माणाधीन छन् ।

अन्य कर्मचारीको आवासका लागि पनि तीनवटा छुट्टै भवन निर्माण भइरहेको छ । मेडिकल कलेज परिसरको मूल बाटो निर्माणका साथै कलेज निर्माणस्थलको उत्तरतर्फ रहेको नदीको नियन्त्रणको काम पनि सँगसँगै गर्न लागिएको छ ।

चालू वर्षमा फोहर व्यवस्थापन र पानी व्यवस्थापनको काम पनि अघि बढ्न लागेको छ । गेटा मेडिकल कलेज छ सय श्ययाको निर्माण गर्ने लक्ष्य छ । कलेजका थप भौतिक संरचनाहरु निर्माणका लागि हाल परामर्शदाता छनौटको काम भइरहेको कार्यकारी निर्देशक साउँदले बताउनुभयो ।

कलेजका अस्पताल भवन लगायतका संरचनाको निर्माणमा शर्मा राजेन्द्रकुमार कम्पनी, लुम्बिनी कुमार के एस र रविना कन्सट्रक्सन प्रालि संलग्न छन् । कलेज निर्माणका लागि सरकारले छुट्याएको ५१ दशमलब आठ हेक्टर जग्गामा रहेका रूख कटानीका लागि भएको ढिलाइलगायत कारणले शुरुको अवस्थामा कलेज निर्माणसम्बन्धी पूर्वाधारको निर्माणको काममा ढिलाइ भएको थियो ।

कलेजको भोगाधिकारमा रहेको जग्गामध्ये झण्डै छ बिगाहा जग्गामा मुक्तकमैया परिवारको बसोबास छ । उनीहरुलाई समयमै अन्यत्र पुनस्र्थापन गर्ने सवालमा सम्बन्धित निकायले ध्यान नदिँदा उक्त ठाउँमा निर्माण गर्नुपर्ने संरचनाको निर्माण कार्य भने अन्योलमा छ ।

मुक्तकमैया बसेको उक्त जग्गामा मेडिकल कलेज अन्तर्गतको ट्रमा सेन्टर लगायतका संरचना निर्माण गर्ने योजना रहेको बताइएको छ । मुक्तकमैयालाई अन्यत्र पुनस्र्थापना गर्नेबारे छलफल भइरहेको कार्यकारी निर्देशक साउदले बताउनुभयो ।

Thuprai - Books and E-books