CMAT

निजी शिक्षकको व्यवस्थापन गर्दै स्थानीय तह

बैतडी, ५ मङ्सिर (रासस) ःजिल्लाका स्थानीय तहले सामुदायिक विद्यालयमा देखिएका समस्या समाधानका लागि पहल गर्न थालेका छन् । निजी स्रोतका शिक्षकको व्यवस्थापन गरेर सामुदायिक विद्यालयका समस्या समाधानमा स्थानीय तह जुटेका छन् । 

सुर्नया गाउँपालिका, पाटन नगरपालिका, दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकाले निजी स्रोतका शिक्षकको व्यवस्थापन गरेका हुन् । सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकलाई सुर्नया शिक्षकको नाम दिएर व्यवस्थापन गरेको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताउनुभयो । “गुणस्तरीय शिक्षामा सबैको पहुँच पु¥याउन यो अवधारणा ल्याएका हौँ,” उहाँले भन्नुभयो, “शिक्षा ऐन र कार्यविधि पारित गरेर सामुदायिक विद्यालयका निजी शिक्षकको व्यवस्थापन गरेका हौँ ।” 

सुर्नया गाउँपालिकाका ३९ सामुदायिक विद्यालयमा कार्यरत ८० भन्दा बढी शिक्षक र कार्यालय सहयोगी नियुक्त गरिएको छ । कक्षा १२ सम्म पढाउने शिक्षकलाई रु २५ हजार, कक्षा १० सम्म पढाउने शिक्षकलाई रु २० हजार, कक्षा ८ सम्म पढाउने शिक्षकलाई रु १५ हजार तथा कक्षा ५ सम्म पढाउने शिक्षकलाई मासिक रु १० हजार उपलब्ध गराएको छ । कार्यालय सहयोगीलाई रु आठ हजारका दरले तलब दिने गरिएकोछ । सो गाउँपालिकाले शिक्षा क्षेत्रको विकासका लागि चालु आर्थिक वर्ष २०७५÷७६ मा रु ७० लाख बजेट विनियोजन गरेको छ । 

यस्तै पाटन नगरपालिकाले नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकको व्यवस्थापनका लागि नगर स्वयंसेवक शिक्षकको अवधारणासहित रु एक करोड बजेट विनियोजन गरेको उपप्रमुख सरस्वती कोलीले बताउनुभयो । कार्यविधि बनाएर नगरपालिकाभरि सामुदायिक विद्यालयको समस्या समाधानका लागि पहल गरिने पाटन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन अधिकारीले बताउनुभयो । 

दशरथचन्द नगरपालिकामा शून्य दरबन्दी भएका सामुदायिक विद्यालयमा शिक्षकको व्यवस्था गरिएको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो । शून्य दरबन्दी भएका विद्यालयमा शिक्षकको व्यवस्थापन तथा खेलकूद प्रशिक्षकका लागि चालु आर्थिक वर्षमा रु ५५ लाख बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । मेलौली नगरपालिकाले निजी शिक्षकको तलबभत्ता दिने भएको छ । नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका सबै शिक्षकलाई नगरपालिकाले तलबभत्ता दिन रु एक करोड विनियोजन गरेको छ । नगरपालिकाका ४५ सामुदायिक विद्यालयका ८५ शिक्षकका लागि उक्त रकम विनियोजन गरिएको हो । कक्षा ५ सम्मका शिक्षकका लागि मासिक रु १० हजार, कक्षा ८ सम्मका शिक्षकका लागि रु ११ हजार, कक्षा १० सम्मका शिक्षकका लागि रु १४ हजार तथा कक्षा १२ सम्मका शिक्षकका लागि मासिक रु १५ हजार तलबको व्यवस्था गरिएको छ । 

निजी स्रोतका शिक्षकलाई तलब दिन विद्यालयसँग आर्थिक स्रोत नभएकाले नगरपालिकाले तलबको व्यवस्था गरेको हो । नगरपालिकाले निजी स्रोतका शिक्षकलाई तलब दिने व्यवस्था गरेपछि विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आउने सुर्नयाको केदार मावि कठमडाका प्रधानाध्यापक वीरेन्द्रबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयसँग आर्थिक स्रोत नहुँदा निजी स्रोतका शिक्षक आउनेजाने चलन रहेकामा अब त्यसो हुँदैन ।” निजी स्रोतका शिक्षकलाई तलब दिन अभिभावकले चन्दा उठाउनुपर्ने बाध्यता थियो । 

–विनोदसिंह विष्ट 

Thuprai - Books and E-books