After SEE Portal

स्थानीय शिक्षा नीति

Bridge Course

जनउत्तरदायी सरकारद्वारा सार्वजनिक हितलाई केन्द्रबिन्दुमा राखेर सार्वजनिक उत्तरदायित्व, अधिकार र कर्तव्यबोधका साथ आफ्ना भावी योजनाहरूलाई कार्यान्वयनमा ल्याउन गरिएको प्रतिबद्धता सार्वजनिक नीति हो । यो राज्य सञ्चालन गर्ने मुख्य पक्ष हो ।

शिक्षा नीति के हो ?

सरकारले शिक्षा क्षेत्रमा के–कस्ता कार्यहरू गर्ने वा नगर्ने भनेर गरिएको निर्णयहरूको लिखित दस्तावेज शिक्षा नीति हो । नागरिकलाई शिक्षाको मुल प्रवाहमा समाबेश गराउने तथा गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्ने नीति शिक्षा नीति हो । शिक्षाको सवालमा सरकारद्वारा गरिएको प्रतिबद्धता शिक्षा नीति हो । विगतमा विभिन्न कालखण्डमा शिक्षा क्षेत्रमा गरिएको प्रयासको प्रतिविम्ब शिक्षा नीति हो । अहिलेको समयमा नगरिनहुने शैक्षिक कार्यक्रमहरूको विवरण शिक्षा नीति हो । भविष्यमा शिक्षा कहाँ पुर्याउने, शिक्षा कस्तो बनाउने, भावी गन्तव्य के हुने ? विद्यमान समस्याहरू के के छन् ? यसको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समाधान के हुन सक्छ ? यस्ता प्रश्नहरूको योजनावद्ध जवाफ शिक्षा नीति हो ।

स्थानीय शिक्षा नीति के हो ?

स्थानीय सरकारद्वारा शिक्षा क्षेत्रमा रहेका सवै प्रकारका समस्या समाधानका लागि योजनाबद्ध रूपमा सञ्चालन गर्ने कार्यक्रमहरूसहित गरिएको प्रतिबद्धता स्थानीय शिक्षा नीति हो । स्थानीय स्तरमा भएका समस्या हटाई समय सापेक्ष, युग सुहाउदो जनशक्ति उत्पादन गर्न बनाईने शैक्षिक नीति स्थानीय शिक्षा नीति हो । शिक्षासम्बन्धी आशातित कल्पना, सकरात्मक सोच, प्रतिवद्ध अठोटको आधारमा कार्ययोजना सहित अगाडि जाने स्थानीय शैक्षिक कार्यक्रम स्थानीय शिक्षा नीति हो ।

शिक्षा नीति कस्तो हुन पर्छ?

असल शिक्षा नीति युग सुहाउँदो, सरल सहज तथा व्यवहारिक प्रयोग योग्य र सीप विकाससँग सम्वन्धित हुन आवश्यक छ । शिक्षा नीति कार्यान्वयनमा जान सक्ने र  सहज प्रकारको हुनुपर्छ । यो भविश्य तर्फ उन्मुख हुनपर्छ । शिक्षा नीति शैक्षिक विकासको पक्षधर हुनुपर्छ । यो सूचना संचार, विज्ञान र प्रविधिलाई समेट्ने प्रकारको हुन आवश्यक छ । शिक्षा नीतिले समावेशी पक्षलाई आधार बनाएको हुनुपर्छ । यसमा महिला, दलित, जनजाति, पिछडावर्ग, शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएका मानिसका आवश्यकतालाई प्रश्रय दिने हुन आवश्यक छ ।

शिक्षा नीतिको महत्त्व के छ ?

नेपालको संविधान, स्थानीय स्वायत्त शासन ऐन, हालको स्थानीय सरकार संचालन ऐन लगायत नेपाल पक्ष विभिन्न अन्तर्राष्ट्रिय सन्धि तथा महासन्धि आदिका आधार र कानुनी व्यवस्था आदिका आधारमा शिक्षा नीतिको महत्त्व रहेको स्पष्ट हुन्छ । शिक्षालाई सुव्यवस्थित तथा प्रणालीगत रूपमा अगाडि बढाउने स्थानीय अभ्यास स्थानीय नीति भएकोले यसको ठुलो महत्त्व छ । स्थानीय तहको सरकारले शिक्षाको नीति निर्माण र कार्यान्वयन गर्ने जिम्मेवारी पाएको छ । विकासको विकास भनेको शिक्षा भएकोले यसमा हुने नीतिले समाजको रुपान्तरणमा प्रभाव पार्दछ । शिक्षाको विकासबाट मात्र समग्र समाज र राष्ट्रको विकास सम्भव छ । यसर्थ स्थानीय तहले शैक्षिक विकासका लागि सान्दर्भिक शिक्षा नीति निर्माण गरी कार्यान्वयनमा ल्याउने आँट गर्नपर्छ ।

शिक्षा नीति के हुन सक्छ?

Economic Transparency:  

विद्यालयको आय र व्यय पारदर्शी नहुनाले विद्यालयमा आन्तरिक र वाह्य दुवै प्रकारको हस्तक्षेप र असन्तुष्टि वढेको देखिन्छ । विद्यालयहरूको आम्दानी तथा खर्चहरूलाई सरल र सहज पार्ने तथा आवश्यक पर्दा आधिकारिक निकायबाट नियमन गर्न सक्ने प्रावधान सृजनागर्न आवश्यक छ । वास्तविक र यथार्थपरक आय व्यय राख्न अनलाईनमा आधारित क्लाउड बेस्ट लेखा प्रणाली लागू गर्न सकेमा विद्यालय आफै माथि उठ्छ । सर्वपक्षिय सुधार हुन्छ ।  बेमेल र मनमुटाव कम हुन्छ । शैक्षिक संस्था अगाडि बढ्छ ।

Additional Two Month Salary

नेपालको प्रचलित शिक्षा सम्वन्धि प्रावधानले वढीमा २०० दिन आसपास मात्र नियमित पठनपाठन हुने व्यवस्था गरेकोछ । तीन देखि चार वटा त्रैमासिक तथा आन्तरिक परीक्षाले झण्डै २० देखि ३० परीक्षा हुन्छ, नियमित पठनपाठन हुदैन । परीक्षा तयारी विदाका लागि ३ देखि ४ दिन पठनपाठन वन्द हुन्छ। अझ बुक फ्रि फ्राइडेले विद्यार्थीमा सिप ज्ञान र अभिवृत्तिमा विकास गरेपनि पाठ्यक्रमले तोकेको पाठ्यघण्टा पुरा नहुने समस्या थपेको छ । विद्यमान कानुले स्थानीय पर्व विदा समेत ५० दिन विद्यालय विदा हुने, पठनपाठन नहुने व्यवस्था गरेकोछ । नीजि स्रोत, करार र राहत प्रकृतिका शिक्षकले विरामी विदाको समेत पैसा नपाउने हुँदा क्या.वि. र पर्व विदा समेत गर्दा झण्डै शिक्षक २४ दिन सिधै विदामा रहने प्रावधान कायम छ । यसको सट्टा स्थानीय सरकारले २ महिनाको तलव थप दिने र सवै शिक्षक कर्मचारीहरूलाई थप २ महिना विद्यालयमा पठनपाठन गर्ने, विद्यालय र विद्यार्थीको उपलव्धी सँग सम्वन्धित काम गर्ने वातावरण सृजना गरिदियो भने शिक्षामा छोटो समयमा ठूलो परिवर्तन आउने सम्भावना रहन्छ ।

No lesson Plan No class:

योजनावद्ध शिक्षणले शिक्षाको गुणस्तरलाई कायम गर्दछ । विद्यार्थीहरूको उपलव्धीस्तरलाई सुधार गर्दछ । पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका, स्पेशिफिकेशन ग्रिड आदि अध्ययन गरी पाठयोजना सहित अध्यापन गर्ने सस्कृतिको विकास गर्ने नीति शिक्षाको नीति हुन सक्छ । यसमा हालै मात्र १० कक्षा सम्मको पाठ्यक्रम परिवर्तन भएकोले स्थानीय तह वा पालिकाहरूले शैक्षिक पात्रोको आधारमा पाठयोजना बनाउने, पालिकाभरको सवै विद्यालयमा एकै पटक एकै प्रकारको पाठ शिक्षण गर्ने हुँदा समस्या आएमा तत्काल समाधान गर्न सकिने हुन्छ । पाठयोजना विद्यालय, विद्यार्थीहरूको भिन्नताका आधारमा परिवर्तन गर्न सकिने हुन आवश्यक छ । पाठयोजनालाई अनलाइनको माध्यमबाट उपलब्ध गराउने र परिवर्तन तथा कस्टमाइज्ड गर्न सकिने हुनु पर्दछ । यसो भएमा एउटै पाठ विद्यार्थीको अवस्था, विद्यालयको अवस्था, कक्षा कोठा, कक्षा कोठामा आइसिटीको उपलव्धता आदिको आधारमा लचकता अपनाई शिक्षण गर्न सकिन्छ ।

Girls Toilet with Incineration and Sanitary Pad:

स्थानीयपालिकाहरूका सवै विद्यालयहरूमा छात्र तथा छात्राहरूको लागि फरक– फरक शौचालय अनिवार्य हुनु आवश्यक छ । शौचालयमा सेनिटरी प्याड, सावुन, गम्छा, ऐना जस्ता अत्यावश्यक सामग्री रहनु आवश्यक हुन्छ । छात्रा शौचालयमा सेनिटरी प्याड नष्ट गर्न इन्शिनेरेशन सहितको शौचालय हनु आवश्यक छ । यसो भएमा सुन्दर विद्यालय, वालमैत्री विद्यालय तथा छात्रा मैत्री विद्यालय स्थापना र विकास गर्न सकिन्छ ।

Terminal Exams and Other Exams:

स्थानीय पालिकामा अध्यन गर्ने विद्यार्थीहरूको मुल्यांकनमा एकरुपता कायम गर्न पालिकास्तरीय परीक्षा समिति गठन गरी इकाइगत, त्रैमासिक तथा वार्षिक परीक्षालाई व्यवस्थित गर्न सकिन्छ । स्थानीय पालिका शिक्षा शाखाले प्रकासन गरेको शैक्षिक पात्रो मुताविक कुन कुन विषयमा कति पाठ संखया शिक्षण गर्ने भन्ने एकिन शैक्षिक सत्र शुरु हुनु भन्दा अगाडि नै गरी सक्नु पर्दछ । सोही मुताविक पालिका भरिका सवै शिक्षकहरूबाट परीक्षा अगाडि एक सेट प्रश्न र उत्तर कुञ्जिकाको इकपिलिने, सो प्राप्त भएपछि तलव भत्ता निकासा दिने गर्ने गरेमा प्रश्नपत्रहरूको संगालो पनि प्रशस्त मात्रामा बन्न सक्छ । यदि प्रश्न निकाल्न नसक्ने अवस्था छ भने विदा तथा कक्षा सञ्चालनमा वाधा नपुग्ने गरी विज्ञ व्यक्तिहरू झिकाई प्रश्न पत्र निर्माण, प्रश्न पत्र टाईप लगायतका विविध विषयमा तालिम तथा प्रशिक्षण दिन सकिन्छ । प्रश्न पत्र बनाउँदा उत्तर कुञ्जिका समेत बनाउने गरेमा उत्तर पुस्तिका चेक जाँच गर्दा एकरुपता आउँछ । प्रश्न हरूको मोडरेशन गर्न विषयगत समिति बनाएमा एकरुपता, आधिकारिकता र वैधता पाउने सम्भावना पनि अधिक रहन्छ । हरेक विद्यालयको प्रथम, द्धितयि, तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूको उत्तरपुस्तिका संकलन गरी सन्दर्भ सामग्री तथा अध्ययन सामग्रीको रुपमा प्रकाशन तथा वितरण गर्न सकेमा सोही सामग्री एउटा अख्खा स्वअध्ययन सामग्रीको रुपमा विकास हुन सक्छ ।

Teaching Learning Method:

नियमित पठनपाठनमा परम्परागत घोकन्ते तथा शिक्षक केन्द्रित विधिहरूको ठाउँमा Student centered, Creative, Critical, Hibrid Class, Hands on activities, Project work based क्रियाकलापलाई जोड दिने व्यवस्था शिक्षा नीतिमा समावेश हुन आवश्यकछ । अधिकांश विषय र कक्षाहरूमा समस्या र समाधान सवै कुराहरू विद्यार्थीलाई खोज्न लगाउने, समूह कार्यमा व्यस्त गर्ने, प्रस्तुतीकरण गर्न लगाउने, विद्यार्थीहरूकै प्रयोगबाट स्वमूल्यांकन गर्न लगाउने गर्ने र शिक्षकले केवल सल्लाह,सुझाव र परामर्श मात्र दिने परिपाटीको विकास गरेमा शिक्षण कार्य सहज हुन्छ र विद्यार्थीहरूमा सिकाई सँग सँगै धेरै सीप र क्षमताको विकास हुन्छ ।

Equity for Equality:

 कतिपय पहुँच भएका थोरै तथा सिमित विद्यालयहरूले तिनै तहका सरकारहरूबाट योजनाहरू आवश्यकता भन्दा वढि पाउने वा रहने अवस्था विद्यमान छ । आवश्यकता परेका अन्य धेरै विद्यालयका ठूला ठूला समस्याहरू छन् र साना साना आर्थिक प्राविधिक सहयोगले उत्कृष्टता हासिल गर्न सकिन्छ । यसका लागि कमजोर विद्यालयलाई प्राथमिकतामा राखि सहयोग गर्न आवश्यकछ । स्थानीय सरकारले सोही मान्यतामा आधारित रहेरसेवा, सुविधाहरूलाई विद्यालयहरूमा वितरण गर्ने नीति आवश्यक हुन्छ । विद्यालयको मागमा आधारित विविध कार्यक्रम गर्न कार्यक्रम तथा बजेटको व्यवस्था गर्न सकेमा शिक्षामा गुणस्तर कायम गर्न सकिन्छ ।

Priority for Marginalized group of people:

महिला, दलित, सिमान्तकृत, पिछडा वर्ग, शारिरीक, बौद्धिक तथा मानसिक समस्यामा रहेका विद्यार्थीहरूको मुलप्रवाहीकरण तथा समावेशितामा प्राथमिकता दिनु पर्छ । यसका लागि सम्वन्धित समूह लक्षित कार्यक्रम लागूगर्न आवश्यकछ । त्यस्ता प्रकारका परिवार सहायता कार्यक्रम विद्यालयबाट गर्न गराउन सकेमा परिवारमा स्थायित्व आउँछ र विद्यार्थीमा सकरात्मक परिवर्तन देखा पर्न सक्छ । विद्यालय र समुदाय प्रति विद्यार्थी अनुग्रहित हुन सक्छ । यसो गरेमा पविारका सदस्यहरूबाट तथा त्यस्ता विद्यार्थीहरूबाट उनिहरूको सीप, क्षमता र दक्षता प्रयोग गर्न सकिन्छ ।

Experience, Management and Skill sharing:

सफल नीजि विद्यालय तथा कमजोर सामुदायिक विद्यालय अनि तेसै गरी कमजोर नीजि विद्यालय र सफल सामुदायिक विद्यालयहरू , सफल सामुदायिक विद्यालय र कम सफल सामुदायिक विद्यालय वीच व्यवस्थापन सहकार्यको थालनी गरेमा स्थानीय शिक्षा नीति सफल हुन सक्नेछ । विभिन्न सामुदायिक तथा सरकारी विद्यालयका शिक्षक तथा विद्यार्थीहरू वीच Exchange proga program संचालन गरेमा जीवनोपयोगी शिक्षा सहज हुनेछ । पठनपाठनको विधि र ढाँचामा परिवर्तन आउँछ । एकापसमा भातृत्वभाव विकास हुन्छ र समस्या समाधान गर्न एकापसको सहकार्यको विकास हुन्छ ।

Enhance the Role of Past- Students:

सामुदायिक विद्यालयहरूमा Almuni गठन गरी विद्यालयको समग्र विकासमा सहायता लिने दिने र गुणस्तरीय शिक्षा प्राप्त गर्ने मकसदमा पूर्व विद्यार्थीहरूको परिचालन र संलग्नतामा जोड दिने कार्यक्रम नीतिमा राख्न आवश्यकछ । यसो गरेमा पूर्व विद्यार्थीहरूको सहभागिता, नेतृत्व र सहकार्यमा बढावा भई समग्र विद्यालयको विकास हुन सक्छ ।

Opportunity for Higher Studies:

विद्यालयका शिक्षकहरूले तल्लो तह बाट माथिल्लो तहको अध्ययन तथा डिग्री हासिल गर्न चाहेका खण्डमा अवसरहरू सृजना गरिदिने नीति लिनु आवश्यक हुन्छ । स्नातक, स्नातकोत्तर, एमफिल तथा पिएचडि अध्ययन गर्न चाहेमा नियमानुसार निवेदन लिने, भर्नाको रसिद समावेश गर्न लगाउने, विद्यालयमा फर्केर काम गर्ने प्रतिवद्धता सहित उक्त शिक्षाको लागि निश्चित प्रतिशत शिक्षकहरूलाई अवसर दिने नीति भएको अवस्थामा शिक्षामा गुणात्मक परिवर्तन आउन सक्छ  । शिक्षकहरूलाई उच्च शिक्षाको अवसर सृजना गर्न सकेमा स्थानिय विद्यालय र सरकार बलियो हुन्छ ।

Extra Activities for Teachers:

शिक्षक सकृय, क्रियाशिल तथा जाँगरिलो नभई शिक्षामा विकास नहुने भएकोले क्यालेण्डर बनाई वर्ष भरीमा तोकिएका र सम्भव हुने विभिन्न विधाका अतिरिक्त कृयाकलाप तथा सहकृयाकलापको आयोजना गरीने व्यवस्थाले शिक्षक कर्मचारीलाई रिफ्रेसनेस र जोस जाँगर दिनेछ । यसमा वौद्धिक पक्ष समेटिने प्रकारका प्रतियोगिताहरू र शारिरीक पक्ष समेटिने खेलकुद लगायतका विविध कार्यक्रम आयोजना गर्ने रणनीति अवलम्वन गर्नु आवश्यक हुन्छ ।

Teachers as Readers, Researchers and Writers:

नेपालको पछिल्लो समयको परिवेश हेर्दा हामी सवैमा पठन सस्कृतीको अभाव वढिरहेको देखिएकोछ । कम्तिमा महिनामा एउटा पुस्तक पढेर विद्यालयमा शेयर गर्ने र सो को प्रतिवेदन पेश गर्ने बानीको विकास गर्न सकेमा हामीमा पठन संस्कार विकास गर्न गराउन सकिन्छ । जति पढ्यो त्यति ज्ञान, सीप र अभिवृत्तिमा परिवर्तन आउँछ । शिक्षक अध्ययनशील भएमा विद्यार्थीहरू पनि स्वतः अभ्ययनशिल हुन्छन् । कार्यास्थलमै रहेर शिक्षण कार्यकलापमा नकरात्मक असर नपर्ने गरी कक्षा शिक्षण, विषय शिक्षण, विषय भित्रका जटिल इश्युहरू तथा अन्य जेनेरिक विषयमा शिक्षकहरूको लेख रचनाहरू संकलन गर्ने तथा खोज अनुसन्धान गर्ने र सो गरेमा सरुवा, वढुवा तथा पारिश्रमिकमा सकरात्मक प्रभाव पार्ने व्यवस्था गरेमा शिक्षक अध्यनशील हुनेछ । अध्ययनशील शिक्षकले मात्र गुणस्तरिय शिक्षा दिन सक्छ । वर्षमा नियमित रुपमा मौलिक कार्यमुलक अनुसन्धान, घटना अध्ययन कतिवटा गर्नु पर्ने हो किटान गरिदिने र त्यस्ता कार्य गर्ने शिक्षकहरूलाई प्रोत्साहन स्वरुप न्युनतम रकम दिने व्यवस्थ ागर्न सकेमा शिक्षामा अनुसन्धान हुन सक्छ । तेसै गरि लेख्नका लागि पढ्नै पर्ने हुनाले शिक्षकहरू अध्ययनशील हुन्छन् ।

ICT Based Training and Workshops:

भविष्यका लागि हामि जनशक्ति तयार गर्दैछौं । यसले गर्दा पचासौं वर्ष पछिको समाजको कल्पाना गरी सो समाजलाई आवश्यक जनशक्ति तयार गर्न आवश्यक छ । कक्षामा तथा पठनपाठनमा सहजता हासिल गर्न शिक्षकहरूलाई सूचनासंचार सहितको शिक्षणका लागि तालिमको आयोजना गर्नु आजको आवश्यकता हो । त्यस्तै मागमा आधारित शिक्षक तालिमलाई प्राथमिकतामा दिने र तालिमलाई केन्द्रिकृत तथा विकेन्द्रिकृत दुवै मोडेलबाट संचालन गर्न आवश्यक छ । यसका लागि कार्यरत अनुभवि तथा दक्ष शिक्षकलाई समेत सहजकर्ताको भूमिकामा प्राथमिकता दिन सकिन्छ । च्याट जिपिटीको जमाना छ , भचुअल रियालिटीको जमाना आइसकेको छ । विद्यालयका बालबालिका सवै कक्षा चालु हुनुभन्दा अगाडिनै अपडेटेड भइसकेका छन् तर शिक्षकमा अझै यो पक्ष कमजोर देखिएको छ । तसर्थ शिक्षकहरूका लागि आइसिटीमा आधारित तालिम र कार्यशालाहरू कम्तिमा मासिक ३ दिनका दरले वर्षभरिमा ३० दिन जति दिने परिपाटीको विकास गर्न आवश्यकछ ।

Better and Beautiful School:

सामुदायिक विद्यालयका आधारभुत आवश्यकता पुरा नभएका कारण शिक्षक विद्यार्थी विद्यालयमा टिक्न सक्दैनन् । विद्यालयका यस्ता आवश्यकताहरू पुरा गर्न सकेमा विद्यालय मनोरम हुन्छ । घर नबसौं विद्यालय जाऔं जाऔं लाग्ने हुन पर्छ । यस्ता कार्यहरू विद्यालयहरूमा प्राथमिकता दिई गर्न आवश्यकछ । शिक्षक कर्मचारी तथा विद्यार्थीहरूलाई विद्यालयमा सेवा सुविधा तथा समयानुकुल सामन्जस्यता कामय गर्ने गरी आकर्षक र मनोरम विद्यालय बनाउने कार्य आवश्यकछ । विद्यालयका आवश्यकताका आधारमा योजनाहरू, कार्यक्रमहरू दिने गरी जगेडा कोष तथा बजेटको व्यवस्था गरेमा उठ्ने वित्तिकै विद्यालय जाउँ जाउँ लाग्ने हुनेछ । गर्मीमा र जाडोमा वातावरण अनुकुलन हुने कक्षाकोठा, फर्निचर, र अन्य सुविधा भएमा विद्यालय सवैको लागि जतिवेलाको लागि पनि गन्तव्य हुन सक्छ ।

Attendance System of Teachers:

विद्यालयमा व्यतित गर्ने समयले विद्यालयको विकास र प्रगति तथा विद्यार्थीहरूको उपलब्धी र गुणस्तरका सवालमा ठूलो अर्थ राख्छ । अझै पनि विद्यालयका शिक्षक कर्मचारीहरूको समय पालनालाई व्यस्थित गर्न आवश्यक छ । केही नगरेर विद्यालय समयमा विद्यालयमा वसेर अनुभव शेयरिङ्ग गरेपनि आशा गरे भन्दा वढि विद्यार्थीमा परिवर्तन आउँछ । तसर्थ हाजिरलाई बायोमेट्रिक प्रणालीमा लाने र त्यसलाई सर्भरमा राखि उपस्थ्तििको आधारमा तथा कामको आधारमा अनि उपलब्धिको आधारमा थप सुविधा दिने, पुरस्कृत गर्ने व्यवस्था गरेमा र यसलाई सकरात्मक रुपमा प्रयोग गर्ने गरेमा राम्रो हुनेछ । थप समय काम गर्ने शिक्षक तथा कर्मचारीहरूलाई प्रोत्साहन दिने, थप सेवा सुविधा दिने, कम काम गर्नेलाई नसिहत दिने व्यवस्था भएमा नेपालको विद्यालय शिक्षा र गुणसतर नराम्रो हुदैन ।

Award for Best Teachers:

स्थानीय तहले सो तहमा रहेका विद्यालयमा एकरुपमा परीक्षा संचालन गर्ने र कक्षा १, ३ ५, ८, १० र १२ को विषयगत क्लष्टर बनाई सवैभन्दा उत्कृष्ट अंक वा जिपिए हासिल गर्ने गराउने शिक्षक तथा विद्यार्थीलाई अभिभावकको उपस्थतिमा त्रैमासिक रुपमा पुरस्कृत गर्ने व्यवस्थाले सकरात्मक प्रतिष्पर्धा गर्न प्ररित गर्न सक्छ । वार्षिक परीक्षालाई समेत यसै आधारमा मुल्यांकन गरिने भएमा यसले अभिभावक, विद्यार्थी र शिक्षकमा एक प्रकारको छाप छोड्ने सम्भावना प्रबल रहन्छ ।

Management of Head Teachers:

शिक्षा ऐन, नियम तथा नियमावलीमा भएको व्यवस्था अनुरुप विद्यालयमा प्रधानाध्यापकहरूको व्यवस्था गर्न वि.व्य.स. लाई समय दिनु आवश्यक छ । वि.व्य.स. ले सो मुताविक काम नगरेमा वि.व्य.स., शि. अ.संघ, प्रधानाध्यापक, तथा पेशागत संस्था , शिक्षक महासंघ, सरोकारवालाहरू समेतको  उपस्थितिमा सामुहिक निर्ण गरी स्थानीय सरकारको कानुन अनुसार प्र.अ. हरूको व्यवस्थापन गर्न सक्ने अवस्था रहन सक्छ । यसो गर्न नसके पनि समय सापेक्ष नीति नियममा सुधार र परिमार्जन गरी सोही अनुसार प्रधानाध्यापकको व्यवस्था गर्नु पहिलो दायित्व हुन्छ । विद्यालय विकास प्रस्ताव लिने, प्रस्तावमा वार्षिक रुपमा रिभिजन गर्ने, शिक्षकले प्र.अ.सामु र प्र.अ.ले स्थानीय पालिका समक्ष करार सम्झौता गर्ने जस्ता नयाँ र थप प्रावधान जोड्न आवश्यकछ । विद्यमान वा सृजित नीति नियम अनुसार प्र.अ.व्यस्थापन गरी कार्य गरेमा वैधता रहन सक्छ । विद्यालय संचालन, गुणस्तर वृद्धि, उपलव्धीको सुधार जस्ता विकास र परिवर्तनको सवालमा विद्यालयको प्रधानाध्यापकलाई थप अधिकार दिनु आवश्यकछ । विधि सम्मत प्र.अ.हरूको व्यवस्थापन नहुँदा स्थानीय तहमा प्रधानाध्यापक तथा समिति र शिक्षा कार्यालय वीच विवाद भइ मुद्दा मामिलामा मात्र समय वरवाद हुन सक्छ ।

Enrollment of Young Teachers:

विविध कारणले शिक्षण पेशामा स्वेच्छाले रहन नचाहने शिक्षक कर्मचारीहरूलाई आकर्षक सेवा सुविधा तथा गोल्डेन हेण्डसेकको कार्यक्रम दिई स–सम्मान विदा गर्ने तर उहाँहरूको ज्ञान, सीप तथा क्षमतालाई प्रयोग गर्ने प्रावधानको व्यवस्था र प्रभावकारी कार्यान्वयन आवश्यकछ । त्यस्ता सेवा निवृत्त शिक्षकहरूको समूह बनाई उहाँहरूसँग समन्वय गर्ने, अनुभव लिने, ज्ञान लिने गर्न सकेमा कम समयमा धेरै उपलव्धी ल्याउन सकिन्छ । रिक्त स्थानमा शिक्षक नियुक्त गर्दा नविनतम सिप र ज्ञानका प्रश्नहरू समेटेर शिक्षकको विज्ञापन गरी स्थानिय सरकारले सुची तयार गर्ने र एकद्धार प्रणालीबाट आवश्यक विद्यालयमा शिक्षक पठाउने प्रावधान राख्न जरुरीछ ।

Use Alive Library:

समुदायका जेष्ठ र पाका सदस्यहरू जीवित पुस्तकालय हुन् । चाहे गुन्द्री बुन्ने मानिस हओस वा सुकुल । माटोको काम गर्ने कुमाले होस् वा सिलाई काम गर्ने दर्जी दाई । उहाँहरूको जीन्दगीका अनुभवहरू, भावना र विचारहरू सुन्न आवश्यकछ । उहाँहरूको सीप लिन आवश्यकछ । समुदायका अग्रज, विविध विधा र क्षेत्रका व्यक्तिहरूलाई विद्यालयमा डाकी उहाँहरूको अनुभव, सीप तथा दक्षता आदान प्रदान गर्ने र उहाँहरूको माध्यमबाट ज्ञान प्रवाह तथा मोटिभेसनल कार्यक्रम चलाउन विद्यालयलाई उत्प्रेरित गर्ने नीति लिन जरुरीछ ।

Parenting:

अभिभावक शिक्षालाई विद्यालय विकासको अनिवार्य शर्तको रुपमा लान विद्यालयमा कक्षागत तथा तहगत रुपमा आमा भेला, अभिभावक भेला आदि गर्ने गराउने व्यवस्था गर्ने प्रवन्ध गर्नु वाञ्चनिय हुन्छ । विद्यार्थीहरूले हप्ता भरि वा महिना भरी गरेका असल तथा राम्रा कामहरू प्रदर्शन गर्ने, अभिभावक र विद्यार्थीलाई हौसला तथा प्रोत्साहन दिने नीतिगत व्यवस्था गरेमा विद्यालय जुरुक्क उठन सक्छ । विद्यालयमा अभिभावकको संलग्नता वढाउन स्थानीय तहको सरकारले कार्यविधी बनाई आर्थिक पाटोलाई लागत सहभागितामा वढाउन सक्छ ।

Incentive for Head Teachers and Teacher Staffs: 

नेपाल सरकारले प्रधानाध्यापकलाई महिना भरिको २०० देखि पढिमा ५०० रुपैया सम्म भत्ता दिन्छ । यसलाई सोही रकम दैनिक दररेटमा उपलव्ध गराउन आवश्यक छ । यसबाट एक कप कफि पनि आउँदैन । अन्य शिक्षक कर्मचारीहरूको त शुन्य नै छ । तसर्थ स्थानीय नीतिमा प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक तहका प्रधानाध्यापकलाई कुनै न कुनै कार्यविधि बनाएर प्र.अ भत्ता दिने र शिक्षक तथा कर्मचारीहरूलाई खाजा भत्ता, प्रोत्साहन भत्ता आदि दिने व्यवस्था गरियो भने समय सँगै धेरथोर कार्य क्षमतामा सुधार र प्रगति आउने विश्वास गर्न सकिन्छ । शिक्षकहरूमा मोटिभेसनल फ्याक्टर वढ्न सक्छ ।

Capacity Energize Activities:

वि.व्य.स., शि.अ.संघ को क्षमता अभिवृद्धिका कार्यशाला तथा गोष्ठिहरूको आयोजना गर्ने, अनुभव साटासाट गर्ने, विद्यालय सुधार र उपलव्धिका कुरालाई केन्द्रमा राख्ने आदि कार्ययोजना बनाउनका लागि समय समयमा आवश्यक कार्यक्रम गर्न आवश्यकछ । बेला बेलामा विद्यार्थी, प्रधानाध्यापक, शिक्षक, वि.व्य.स., शि.अ.संघको संयुक्त बैठक कार्यक्रम गरेमा योजना निर्माण र कार्यान्वयमा सहजता आउन सक्छ ।

Educational Tour:

स्थानीय सरकार तथा विद्यालयहरूले गर्ने शैक्षिक भ्रमण शैक्षिक कम र अन्य वढि हुने गरेकोले भ्रमणलाई विषय केन्द्रीत बनाउन नीति निर्माण गर्न आवश्यकछ । स्थानीय सरकारले यस्ता प्रकारका कार्यक्रम गरेमा असल अभ्यासलाई नक्कल गर्ने, नयाँ परिवेसमा कार्य शुरुवात गर्ने जस्ता कार्यहरू गर्न सकिन्छ ।

Petty Budget for Demand Based Activities:

सानो तथा थोरै रकम सहयोगले विद्यालयको ठूलो क्षति क मगर्न सकिने विशेष अवस्थाहरू रहेका छन् । कतिपय अपवस्थामा त्यस्ता विशेष अवस्था सृजना हुने रहेछ । तसर्थ यस कार्यका लागि आवश्यकताका आधारमा रकमको व्यवस्था गरी स्थलगत भ्रमण तथा प्रतिवेदन समेतलाई अध्ययन गरी आवश्यक सहयोग गर्ने प्रावधान राख्न जरुरी छ ।

Intelligent Interactive Board and CC Camera:

कक्षा कोठामा विद्यार्थीमा सहज शिक्षण गर्न, कम समयमा धेरै ज्ञान दिन उपयोगी हुन सक्छ । परम्परागत शिक्षण सामग्रीहरूका स्थानमा समय सापेक्ष इन्टेलेक्चुअल इन्टेरेक्टिभ बोर्ड, स्मार्ट बोर्ड, स्क्रिन मिरर जस्ता सेवाहरू जडान र प्रयोग आवश्यक छ । यसले एक्काइसौ शताव्दी सुहाउँदो ज्ञान प्रवाहमा काम लाग्छ र शिक्षण विधिमा नवप्रवर्तन गर्न सहायता दिन्छ । त्यस्तै थोरै सम्पन्न विद्यालयले मात्र सुरक्षाकर्मि वा गार्डको व्यवस्था गरेको हुन्छ । त्यस्ता विद्यालयले रातिको समयमा समेत कुरुवाको व्यवस्था गरेको हुन्छ तर सरकारी सामुदायिक विद्यालयमा राज्यको तर्फबाट दरवन्दि वाकोटकाको व्यवस्था गरिएको छैन विद्यालयको भौतिक सुरक्षा, विद्यालयका विविध सामग्रीको रक्षा तथा अन्य मोनिटरिङ्गका लागि विद्यालयमा सिसि क्यामेराको व्यवस्था गरेममा यो समस्या केही न्युनिकरण हुन सक्छ । अपराधिक कार्य रोक्न नसके पनि न्युनिकरण गर्न र अपराधी पकड्न सहायता हुन सक्छ ।

Inform Budget Title and Amount:

स्थानीय सरकारवाट विद्यालयमा हुने निकासामा कुन शिर्षकमा कति भएको छ भन्ने एकिन हाल सम्म पनि छैन । यो अन्योल हटाउन कुन शिर्षकमा कति रकम निकासा भएको छ र सोको खर्च विवरण कसरी अद्यावधिक गर्ने भन्ने सुचना वेबसाईटमा राख्ने व्यवस्था वा विविध एप्लिकेशनका माध्यमबाट विद्यालयमा पुग्ने व्यवस्था गरेमा शिक्षा निकायहरूको पारदर्शिता कायम हुन सक्छ । विद्यालयमा रकम आउँछ, के  शिर्षकमा आएको पत्तै हुदैन ।

Day Meal Program:

दिवा खाजालाई प्रभावकारी वनाउन विद्यालयमा विद्यार्थीको हाजिरीलाई व्यवस्थित गर्ने तथा दैनिक रुपमा उपस्थित विद्यार्थी संख्या स्थानीय सरकारमा आइपुग्ने व्यवस्था हुन जरुरी छ । तेसै गरी खाजा बनाउने स्थान, सो स्थानको लागि भाँडाकुँडा, काम गर्ने जनशक्ति, सरसफाई कर्मचारी आदिको व्यवस्थाका लागि स्थानिय सरकारले विद्यालयलाई सहायता दिन आवश्यक छ । साथै फाइल बोकेर पालिका धाउनु पर्ने, धेरै थरिका अनुसुचि भर्ने भराउने, सही गराउन समिति र दुनियाँ तिर हिड्नु पर्ने काम कम हटाउन जरुरि छ । महिना सकिने वित्तिकै यस्ता कानुनी र कागजी झमेलामा विद्यालय र प्र.अ.हरू दौडेर समय वरवाद भएको अवस्था छ ।

One Laptop Per Teacher (OLPT)

लागत सहभागिताका आधारमा सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरमा सुधार गर्न,कक्षा कोठामा सूचना प्रविधि समावेश गर्न प्रविधि मैत्री शिक्षालाई संस्थागत गर्न ‘एक  शिक्षक एक ल्यापटप’ को को कार्यक्रम तत्काल लागू गर्न आवश्यकछ । 

Hybrid Classes:

हाइव्रिड कक्षा संचालन गर्न चाहने विद्यालयहरूलाई तत्काल आर्थिक तथा प्राविधिक सहयोग उपलव्ध गर्ने व्यवस्था आवश्यक छ । यसो भएमा कक्षामा नियमित उपस्थित हुन नसक्ने विद्यार्थी, गृहिणी, सेना, प्रहरी, शारीरिक अशक्त लगायतका दुर दराजका मानिसले पनि शिक्षामा पहुँच पाउनेछन् । एउटा किसानले गाउँमै वसेर खेत खन्दै औचपारिक शिक्षा पाउन सक्छ । एउटा मजदुरले विदेशमा वसेर नेपालको शिक्षा पाउन सक्छ भने विदेशमा वसेका विदेशी वा स्वदेशीले नेपालको शिक्षा र सर्टिफिकेट सहजै प्राप्त गर्न सक्छन् ।

Learn and Earn:

पढ्दै कमाउँदै, कमाउँदै पढ्दै जस्ता आकर्षक र आम्दानी तथा सीपजन्य कार्यक्रम गर्न चाहने विद्यालयलाई आवश्यक बजेटको व्यवस्था हुन जरुरी छ । यस्ता कार्यक्रम गर्न सकेमा विहान वा वेलुकाको दुइ चार घण्टा विद्यालयमा काम गरी सीप सिक्ने र आम्दानी गर्ने परिपाटी सुरु गर्न सकेमा गरीव निमुखा विद्यार्थी मात्र नभई घरानाका बाल वालिकाहरूको गन्तव्य सामुदायिक विद्यालय हुन सक्छ । विद्यालय आएर विद्यार्थीले शिक्षा र पैसा दुवै कमाउन सक्छ ।

Prepare Local Education Plan:

विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि वडास्तरबाट सरोकारवालाहरूको संलग्नतामा वडा शिक्षा योजना तयार गरी स्थानीय सरकारको शिक्षा सुधार योजनाको बनाई प्रभावकारी कार्यान्वयन गर्न आवश्यकछ । विद्यालय सुधार योजना, वडा शिक्षा योजना र पालिका शिक्षा योजना बनाउन सकेमा र यसको सही मानेमा प्रयोग गर्न सकेमा नेपालको शिक्षाले विश्व वजारमा मान, सम्मान र इज्जत कमाउन सक्छ ।

Focus in Junior Classes: 

सामुदायिक विद्यालयहरूमा पूर्व प्राथमिक शिक्षामा ‘रमाउँदै र सिक्दै’ अभियान शुरु गरी सो को लागि आवश्यक स्रोत,  साधन र संयन्त्रको व्यवस्थगा गर्न गराउन सकेमा बालबालिकाहरूको शारीरिक, मानसिक, बौद्धिक र सामाजिक विकासमा सघाउ पु¥याउन सकिने छ ।

Curriculum for Life:

सवै तहको सवै कक्षाको पाठ्यक्रमलाई जीवनोपयोगी बनाउन समय सापेक्ष पाठ्यक्रम तयार गर्ने कार्य आवश्यक छ । व्यक्ति फरक, स्वभाव फरक, परिवेश फरक, समाज फरक, आर्थिक सामाजिक अवस्था फरक तथा पाठ र पाठ्यांश उही । मुल्यांकन उही, अनि कसरी शिक्षामा परिवर्तन आउँछ ?

Skill in Education:

विद्यालय तहको इसिडी का कक्षाहरू तथा आधारभूत तहका कक्षा १ देखि माध्यमिक तहको कक्षा १२ सम्मको ज्ञानलाई जोड्ने गरी प्राविधिक ज्ञान र सीप सहितको शिक्षा प्रदान गर्ने पढाई पूरा गर्दा कुनै न कुनै सीपमा दक्ष जनशक्ति तयार गर्ने कार्य गर्न आवश्यक छ । तल्लो कक्षामा उमेर समुह अनुसारका सीप हुन सक्छन् भने माथिल्लो कक्षामा तेसै गरी उच्च स्तरको सीप हुन सक्छ ।

International Relation:

अन्तर्राष्ट्रिय स्तरका मापदण्ड पुरा गरेका विश्व प्रशिद्ध विद्यालय, कलेज, विश्वविद्यालय, शैक्षिक संस्था, नगरपालिकाहरूको संलग्नतालाई बढोत्तरी गर्न आवश्यकछ । यस अन्तरगत पाठ्यक्रम सुधार, समयानुकुल परिवर्तन तथा परिमार्जन गर्न यो कार्यले सहजीकरण गर्न सक्छ । यो कार्यक्रममा शिक्षण सिकाइका क्रियाकलाप, अनुभवहरू आदानप्रदान, संस्कार, संस्कृति र जीवनशैलीका जस्ता विषयहरूलाई समावेश गर्न सकिन्छ ।

Teachers Quota:

कतिपय पालिकाहरूका विद्यालयहरूमा शिक्षक संख्या वढि र विद्यार्थी अनुपात कमि र कतिपय मा विद्यार्थी वढि र शिक्षक अनुपात कम भई कक्षा संचालनमा वाधा पुगेको देखिन्छ । माथिल्ला कक्षाहरूमा विषयगत रुपमा शिक्षकहरूको संख्या समेत बेमेल भएको पाईन्छ । तसर्थ नीतिगत व्यवस्था गरी यसको समुचित वितरणको लागि कार्यविधि वनाउने र प्रतेक २ वर्षमा समायोजन गर्ने व्यवस्था गर्न आवश्यक छ ।

Parenting for Teachers:

विद्यालयका विद्यार्थीहरूका विशेष अवस्था र आवश्यकताहरू एकनासको हुदैन । अझ कतिपय सरकारी वा सामुदायिक विद्यालयका वालवालिकाहरूका अभिभावकहरू विहानै देखि काममा जानु पर्ने , कतिपय विद्यार्थीहरूका अभिभावकहरू विदेशमा कामका लागि जाने र कतिपय परिवारका अभिभावकहरूका पारिवारिक समस्याका कारण विद्यार्थीहरूको देखभाल गर्न नसक्ने अवस्थाका हुने भएकोले शिक्षकहरूले नै अभिभावकको भूमिका खेल्नु पर्ने भएकोले शिक्षकलाई अभिभावनको तालिम दिन आवश्यक छ ।

Mentoring:

विद्यालयका बालवालिकाहरूको चौतर्फि विकासका लागि उनिहरूको हेरचाह र देखभालका लागि, उनीहरूको मानसिक र शैक्षिक प्रगतिका लागि विद्यार्थी सहायता कार्यक्रम संचालन गर्न आवश्यक छ । यसका लागि हरेक शिक्षकको मातहतमा निश्चित विद्यार्थी संख्या राखि उनीहरूको समय समयमा फलोअप, जेनेरल कन्भरशेसन, र्यापोट विल्ड अप जस्ता कार्यहरू गरेर उनीहरूको पोर्टफोलियो समेत व्यवस्थापन गर्ने काम समेत शिक्षकलाई दिएमा उनिहरूको विकास र भविश्य निर्माणमा सकरात्मक परिवर्तन आउन सक्छ ।

स्थानीय सरकार जनउत्तरदायी भई सार्वजनिक हितलाई केन्द्रबिन्दुमा राख्ने हो भने विकासहरूको पनि विकास शिक्षामा आमुल परिवर्तन आवश्यकछ । सार्वजनिक उत्तरदायित्व, अधिकार र कर्तव्यबोधमा शिक्षालाई प्राथमिकतामा राख्न जरुरी छ ।

विद्यालय तहको शिक्षामा विपद व्यवस्थापन, सुरक्षित विद्यालय, हरित विद्यालय, सफा विद्यालय, श्रमदान सहितको शिक्षा, हाम्रो कक्षा राम्रो कक्षा जस्ता विषयहरूलाई विद्यालयको सवै बालवालिका तथा सरोकारवालाहरूको मुख्य मुद्दा बनाउन आवश्यक छ ।

यसका लागि शैक्षिक योजनाहरूलाई कार्यान्वयनमा ल्याउनुको विकल्प छैन । शिक्षा नीति एउटा प्रतिबद्ध सार्वजनिक नीति हो । शिक्षा नीतिले राज्य सञ्चालन गर्ने मुख्य आधारका रूपमा मात्र काम गर्दैन यसले मानव सभ्यताकै सकरात्मक परिवर्तन, रुपान्तरण तथा  विकासमा सहायता पुराउँदछ ।

(लेखक: शितला माध्यमिक विद्यालय, का.म.न.पा. –१६, काठमाडौंका प्रधानाध्यापक हुनुहुन्छ ) 

 

A Levels MA
Thuprai - Books and E-books