आजबाट साक्षर बागमती प्रदेश

बागमती प्रदेश आजदेखि साक्षर प्रदेश घोषणा गरिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मीे शाक्यले आज बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेकी हुन् । सामाजिक विकास मन्त्रालय बागमतीद्वारा आयोजित एक कार्यक्रमका विच मुख्यमन्त्री शाक्यले बागमतीलाई साक्षर प्रदेश घोषणा गरेकी हुन् ।

“साक्षर अभियानलाई सृजनात्मक रुपले अगाडि बढाउनुपर्छ । प्रदेशमा शिक्षाको ज्योतिलाई सबैतिर फैलाउनुपर्छ ।” कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, “हाल बागमती प्रदेश पूर्ण साक्षर नभए पनि आगामी दिनमा भने स्थानीय तह, जिल्ला समन्वय समितिसंग समन्वय गरी प्रदेशलाई पूर्ण रुपमा साक्षर बनाउने अभियान चलाउनुपर्छ।”

उनले विगतमा बेलुकाको समयमा मात्र प्रौढकक्षा पढ्नुपर्ने महिलाको बाध्यता भए पनि अहिले त्यो समस्या हटेकाले अब सबै नागरिक साक्षर बन्नुपर्ने धारणा राखिन् । जिल्लास्तरका सबै निकाय साक्षर अभियानमा लाग्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री शाक्यले घोषणाको काम सकिए पनि यसको कार्यान्वयन गर्न लाग्नुपर्नेमा जोड दिए ।

प्रदेशका १५ देखि ६० वर्षबीचका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भइसकेकाले एउटा सन्देश प्रवाह गर्न बागमतीलाई साक्षर प्रदेश घोषणा गरिएको प्रदेश शिक्षा निर्देशनालय बागमती प्रदेश हेटौँडाका निर्देशक चन्द्रप्रसाद लुइँटेलले बताए ।

निर्देशक लुइँटेलका अनुसार अब भने १५ वर्ष मुनि र ६० वर्षमाथिका नागरिकहरूलाई पनि साक्षर बनाउने कार्यलाई तीव्रताका साथ पहल गरिनेछ । प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका मन्त्री, सचिव, मन्त्रालय र निर्देशनालयका कर्मचारीलगायतको सहभागिता रहेको थियो ।

Thuprai - Books and E-books