चेपाङ बालबालिकालाई लायन्सको न्यानो कपडा

तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित सूर्योदय प्राथमिक विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीलाई लायन्स क्लब अफ तनहुँ दमौलीले न्यानो कपडा सहयोग गरेको छ । 

तस्वीर: कृष्ण न्यौपाने- रासस

विद्यालयमै पुगी क्लबले मङ्गलबार विपन्न चेपाङ बालबालिकालाई न्यानो कपडा सहयोग गरेको हो । न्यानो कपडाको अभावमा जाडो महिनामा काम्दै विद्यालय आउने गरेको थाहा पाएपछि क्लबले ३० चेपाङ बालबालिकालाई स्वेटर र टोपी सहयोग गरेको नगर शिक्षा शाखा प्रमुख नगेन्द्र प्रसाद रेग्मीले जानकारी दिए । 

चेपाङ बालबालिकाको अवस्था ज्यादै दयनीय रहेको र आगामी दिनमा समेत सहयोग गर्ने क्लबका अध्यक्ष राजु रानाले बताए ।  “न्यानो कपडा नहुँदा कतिपय विद्यार्थी विद्यालयमा नियमित पनि नभएको पायौँ, न्यानो कपडा पाएपछि नियमित विद्यालय आउने वातावरण बनाउन सकिन्छ भन्ने आशा पलाएको छ,” उनले भने  ।