Bachelors Portal

आफूसँग भएको ज्ञान र सीप स्वदेशकै विकासमा प्रयोग गरौँ : शिक्षा राज्यमन्त्री

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले आफूसँग भएका ज्ञान र सीपलाई स्वदेशकै विकासमा प्रयोग गर्न विद्यार्थीलाई आग्रह गर्नुभएको छ । पाटन कलेज फर प्रोफेसनल स्टडीजले आज यहाँ आयोजना गरेको दीक्षान्त समारोहमा उहाँले पछिल्लो समय युवा पलायन दर बढ्दै गएकाले यसलाई रोक्न जरुरी रहेको बताउनुभयो । 

    नेपालमा भएका अवसरको पहिचान गर्न र मुलुकप्रति योगदान गर्न युवापुस्तालाई उहाँले अनुरोधसमेत गर्नुभयो । राज्यमन्त्री कुमारीले सरकार रोजगारीको अवसर सिर्जना गर्न दत्तचित्त भएर लागिपरेको उल्लेख गर्नुभयो । 

    उहाँले कलेजले बहन गर्ने सामाजिक उत्तरदायित्वको उच्च प्रशंसा गर्नुभयो । नेपालको पहिलो आइटी कलेज लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको अभिन्न अङ्ग पाटन कलेज फर प्रोफेशनल स्टडीजले हरेक प्रदेशबाट छानिएर आउने विद्यार्थीहरूलाई छात्रवृत्ति दिँदै आएको छ ।

    कार्यक्रममा ब्रिटिश चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेन्द्र खेतानले आफ्नो शिक्षाले देशमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने जिम्मेवारी बोध गर्न आग्रह गर्नुभयो । 

    क्याम्पसका अध्यक्ष इञ्जिनीयर पङ्कज जलानले सरकार तथा निजी शैक्षिक संस्थाले देशको शैक्षिक क्षेत्रको विकासका लागि सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।

    उक्त दीक्षान्त समारोहमा क्याम्पसका बिएससी कम्प्युटर साइन्स एण्ड साफ्टवेयर इञ्जिनियरिङ र बिबिए अध्ययन गरेका ६८ विद्यार्थी दीक्षित भएका थिए । 

Thuprai - Books and E-books