Thuprai - Books and E-books
Scholarship edusanjal

बिचौलिया हैन सक्षम नेतृत्व  तथा व्यवस्थापन खोजौं

Admission edusanjal
Schools edusanjal

शिक्षा मन्त्रीलाई खुला पत्र

आदरणीय शिक्षा मन्त्रीज्यू,

तपाईँ सार्वजनिक शिक्षा रुपान्तरण, सामुदायिक विद्यालय सबलीकरणको दशक लगायत अन्य मिठा मिठा कुरा गरेर हामीलाई पटकपटक लठ्ठ पार्नुहुन्छ । हामी पनि हजुरको मिठोबोली मन्त्रमुग्ध भएर सुन्छौं । अब त केही हुने नै भयो कि भनेर आशावादी हुन्छौं । तर ! कहिले सार्वजनिक विद्यालय भित्रको कथा–व्यथा र पीडा परिवर्तन हुँदैनन् । जहिले उस्तै !

वर्सौंदेखि सार्वजनिक विद्यालयको प्रशासन, सुशासन तर्फ उन्मुख हुनेछ भन्ने आशा तथा कामना गर्दै चुपचाप कार्य स्थलमा अनवरत रुपमा हामी खटिएका छौं । कसरी हाम्रा विद्यार्थीलाई राम्रा विद्यार्थी बनाउने भनेर खोधखोज गर्छौं, शिक्षण विधिमा विविधता ल्याउँछौं । कतिपय विद्यार्थीले अनुकरणीय कार्य गरेर देखाइसकेका छन् र तर हामी समय समयमा अनेकौं शोषण, असमानता समेत मतलव नराखी प्रतिवद्ध भएर युद्धमा खटिएको सिपाही जस्तै डटिरहेका छौं । सार्वजनिक विद्यालयका हामी शिक्षकले व्यक्तिगत स्वार्थलाई त्यागी आर्जित विद्यालयको इज्जत, प्रत्येक शिक्षकको मिहेनत पसिनाको फल हो ।

जाबो मास्टर भनी हेला गर्ने, नपढाई तलब खाए भनी आक्षेप सवत्र सुन्दै हामी कार्य स्थलमा छौं । तर मलाइ लाग्दैन यी सब सत्य हुन् । हामीले हाम्रा विद्यार्थीलाई निरन्तर समानता, सक्षमता, सम्मान, समता र राष्ट्रप्रेमको पाठ सिकाइरह्यौं राष्ट्र निर्मााणका निम्ति आधारशीला तयार गरिरह्यौं । निस्वार्थ !

अनेकौं लाञ्छना खेपेरै पनि सार्वजनिक शिक्षाको बढोत्तरीमा अनवरत खटिने बौद्धिक रूपमा सक्षम एक शिक्षक पटक पटक कहिले हेडमास्टरको ईगोमा शहीद हुन्छ त कहिले झोले राजनीतिक प्रतिशोधको कोपको शिकार बन्छ । तरै पनि एकाध अपदवा बाहेक विद्यालयको कार्यमा योद्धा बनी तैनाथ रहन्छ जसको फाईदा तिनै राजनीतिका झोले पात्र र प्रधानाध्यापकका वरिपरिका अजासु सल्लाहकारले उठाईरहन्छन् । अहोरात्र पेसाप्रति वफदार भएर शिक्षण गर्ने शिक्षक जहिलै प्रताडना सहेर बसिरहेको छ । त्यसतर्फ खै हजुरको ध्यान गएको ?

प्रधानाध्यापक छनौटको मिथ्या प्रक्रिया, मिलोमतो वा राजनीतिक स्वार्थ लिप्त व्यक्तिका समूह खडा गरी पक्ष विपक्षमा निषेधको राजनितिबाट द्वन्द्व चर्काईरहने र विद्यालयको व्यवस्थापन गर्ने अथवा समाज सेवाको नाममा स्थानीय स्वार्थको चक्रव्यूह भित्र सम्पूर्ण सार्वजनिक शिक्षाको वली चढाईरहने सरकारी नीतिनै आजको सार्वजनिक विद्यालयको प्रगति बाधक हो ।

सक्षम शिक्षकलाई प्रधानाध्यापकका रूपमा व्यवहारिक छनोट प्रक्रिया, महासंघमा विषयगत प्रतिनिधिको सुनिश्चितता, निजामती र राजनितीभन्दा शिक्षकबाटनै विद्यालयको शैक्षिक प्रशासनको लागि एक छुट्टै व्यवस्थापन समिति र संवैधानिक संयन्त्र खडा गरी सशक्त अनुगमन, मूल्याङ्कन र छनौट गर्ने नीतिको अवलम्बनले सार्वजनिक शिक्षा सुध्रनेछ। जसतर्फ मन्त्रालय उदासीन छ वा भनौं यस अर्थमा मन्त्रालयलाई दिग्भ्रमित बनाईएको छ ।

मन्त्रालयका उपबुज्रूक निजामति सल्लाहकारज्यूहरू तथा स्वयं घोषित महासंघका माननीय शिक्षक प्रतिनिधिले मन्त्रीज्यूका सामू राखिदिएको पर्दाले सक्षम सार्वजनिक शिक्षक र सार्वजनिक शिक्षा बिचको ठूलो खाडल पैदा गरिएको छ । मन्त्रीज्यूलाई थाहा छ छैन, मन्त्रालय स्वयंलाई निरीह बनाउन तत् तत् महामहिमहरू सक्षम भैरहेकाछन् ।

हामीले गरेका छौं । गर्न सक्छौं भन्दा भन्दै बजेट भाषणको बुँदा नम्बर १६६ मा ‘माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्न सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै कम्तीमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार सामग्री सहित विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने’ जस्तो लज्जास्पद नीति तय गर्नु भो । पछि थाहा नभएको बाहाना गरेर हुन्छ ? हामीलाई सरकारले विश्वास गर्नै सक्नु भएन । एक पटक विश्वास गरेर यो जिम्मेवारी हामीलाई दिएको भए हामी यो जिम्मेवारी लिन तयार छौं । जिम्मेवारी दिएर त हेर्नुस् ।

समाजले शिक्षकको विश्वास नगर्नुको विकल्प छैन, विद्यालयको सुधार गर्न शिक्षकभन्दा सक्षम दोश्रो कोही हुनै सक्दैन । त्यसैले सार्वजनिक शिक्षा सुधारको पहिलो खुड्किलो शिक्षकलाई भय रहित, दबाब रहित वातावरणमा निर्वाध सुरक्षित विद्यालय उपस्थित हुनसक्ने र स्वस्स्फूर्त काम गर्ने वातावरण बनाउनुपर्छ ।

आफ्ना छोराछोरीको भविष्य सार्वजनिक शिक्षामा देख्नसक्ने बनाउन तर्फ प्रोत्साहन गरिनुपर्छ । बिहानदेखि बेलुकीसम्म विद्यालयकै कामकाज गर्नेगरी रोजगारी र वेतन सुनिश्चित गरिनुपर्छ । यो माग होईन सार्वजनिक शिक्षा सुध्रिढीकरणको आवश्यकता हो । शिक्षकनै त्यो समुदाय हो जो प्रत्येक विपद रक्षार्थ हर घरको रक्षक बन्नसक्छ ।

इतिहास साक्षी छ, प्रत्येक परिवर्तनको आधार बनेको छ शिक्षक, प्रत्येक सफल नेतृत्वको आँखा भएको छ शिक्षक । व्यवस्था परिवर्तन संगैका परिवर्तित बिना पूर्वाधारका महत्वकांक्षी शिक्षाका राष्ट्रिय उद्देश्य प्राप्तिका लागि हरबखत आफूलाई जलाएर खरानी बाँडिरहेको छ शिक्षक ।

मन्त्रीज्यू त्यसैले सामुदायिक विद्यालय सुधारका लागि बिचौलियाको आवश्यकता छैन । बिचौलिया राखेर सामुदायिक विद्यालयको सुधार हुनै सक्दैन । सामुदायिक विद्यालय सुधारका लागि हरेक विद्यालयमा सक्षम नेतृत्व शिक्षकबाटै चुनौं, शिक्षक सहमतीले फरक ढंगबाट, समुदायको समुन्नतिका लागि । सफल सार्वजनिक शिक्षा रुपान्तरणको लागि सामुदायिक विद्यालय सबलीकरणको लागि अब्बल सामुदायिक विद्यालय नै काफि छ । उसले गरेको अध्यास नै काफि छ त्यसैले बिचमा बिचौलिया घुसाएर गरिब जनताको खुनपसिना चुस्ने कोशिष नगरौं ।