Thuprai - Books and E-books
Scholarship edusanjal

नयाँ भर्ना यसरी गरौं

Admission edusanjal
Schools edusanjal

नयाँ विद्यार्थी, नयाँ कक्षा चढेका बालबालिकाको पढाइ प्रतिको उत्साह र केही गरुँगरुँ भन्ने मनोकांक्षा बेकेका बालबालिकाको ओठमा देखिएको हाँसो र उमंगले उल्लासमय बगैंचा झैं देखिने विद्यालयको कम्पाउण्डमा अहिले हरियो दुबो र झारले ढपक्कै ढाँकेको छ । न त विद्यार्थी नै विद्यालय आउन सके नत सरकारले एक दशक अगाडि देखि निरन्तर सञ्चालन गर्दै आएको भर्ना अभियान नै सञ्चालन हुन सक्यो । नत सरकारले अघि सरेको अहिलेको वैकल्पिक शिक्षण सिकाइ कार्यक्रममा सतप्रतिशत विद्यार्थी नै सहभागी हुन सके । क्वारिन्टन सञ्चालन भएका  विद्यालय बाहेक अन्य विद्यालयको गेटैमा चाइनिज ताला झुण्ड्याएको ३ महिना भयो । कोरोना भाइरस शिक्षा क्षेत्र सहित सम्पूर्ण मानव जातिका लागि अफावसिद्ध बन्यो, आर्थिक, शैक्षिक लगायत  सबै क्रियाकलाप अवरुद्ध गरायो ।

सरस्वती पूजामा अक्षरआरम्भ गराइएका नानीबाबुहरुलाई वैशाख देखि सुरु  गरेको शैक्षिक यात्राको एक त्रैमासिक पढाइ सकिने बेलामा  घरैमा बालबालिका धुलो र इन्टरनेटमा हराइ रहेका छन् ।

 यो वर्ष कोरोना १९ कोभिड महामारीका कारण सबैखाले शैक्षिक गतिविधि ठप्प छन् । ५ वर्षदेखि १७ वर्ष उमेर समूहका झण्डै ८० लाख विद्यालय जाने उमेरका विद्यार्थी लकडाउनका कारण घरमै बस्दै आएका छन् । असार १ पछि दुर शिक्षा तथा भच्र्युअल कक्षा पनि सबै बालबालिकाको पहुँचमा  पुग्न सकेको छैन ।

गत चैत महिनामा सञ्चालित वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्ने, एसईई परीक्षाको आन्तरिक मूल्यांकन सिट तयारी गर्ने, अनलाइनबाटै भए पनि नयाँ भर्ना कार्यक्रम सञ्चालन गर्ने, रेडियो टिभीबाट दूरशिक्षा विधिबाट पठनपाठनको सुरुआतजस्ता कार्यक्रमको सुरुआत हुनु राम्रो पक्ष मान्नुपर्छ ।

लामो समय लकडाउनमा बस्दाबस्दा बालबालिकाहरु छटपटाउन थालेका छन् । यसरी थुनिएर बसेका बालबालिकामा एक किसिमको मनोवैज्ञानिक त्रास पनि छ । कोरोनाको डरले त्रसित बनेका यी कलिला मनहरुलाई यस वर्षको भर्ना अभियानसंगसंगै अभिभावक र विद्यार्थी दुवैलाई मनोसामाजिक परामर्श सेवा प्रदान गर्न जरुरी छ ।

शैक्षिक संस्थाहरुले नयाँ भर्नासंगै बालबालिकालाई मनोपरामर्श र अभिभावकलाई अभिमुखीकरण सेवा प्रदान गर्नसके भयरहित वातावरणमा पठनपाठन सञ्चालन गर्न सहज हुने देखिन्छ । नयाँ बालबालिकालाई नियमित विद्यालय पठाउन अभिभावकको महत्वपूर्ण भूमिका हुन्छ । नयाँ भर्नासँगै पढाइप्रति रुची जगाउने, प्रेरणा र हौसला दिने काममा अभिमुखीकरण कार्यक्रले निकै सहयोग पुग्दछ ।

सफलताको सपना बोकेर वर्सेनि विद्यालयमा कक्षा एकमा धेरै विद्यार्थी भर्ना हुन्छन् । जहाँबाट शैक्षिक गन्तव्यको हजारौं माइलको यात्रा आरम्भ हुन्छ । विद्यालय उमेर समूहका बालबालिका पूर्ण रुपमा अभिभावकसंग आश्रित हुने हुँदा अभिभावकले आफ्ना सन्तानको भविष्य निर्माणको जग तयार पार्न मद्दत पुर्याउनुपर्छ ।

प्रत्येक अवस्थाका बालबालिकाको चारित्रिक विशेषता नयाँनयाँ जिज्ञासाले भरिएको हुन्छ । त्यसैले भर्खरै विद्यालयमा भर्ना भएका यिनै बालबालिकाको पठनपाठनमा सुधार ल्याउन अभिमुखीकरण कार्यक्रम आवश्यक पर्दछ ।

कोरोनाको त्रासका बिचमा अभिमुखीकरण सम्भव होला त ? यस वर्षको नयाँ भर्नामा । किन चाहिन्छ त नयाँ भर्नासँगै अभिभावकलाई अभिमुखीकरण ? यस वर्ष सामाजिक दुरी कायम गर्दै गरिने भर्ना र अभिमुखीकरण कार्यक्रम प्रभावकारी हुन सक्ला त ? प्रश्न अनुत्तरित नै छ ।

शैक्षिक सत्रको शुरुमा गरिने यस्तो अभिमुखीकरण कार्यक्रम निकै प्रभावकारी हुने गर्दछ । यस वर्षको भर्ना अभियानमा सबैभन्दा पहिेले अभिभावक अभिभावकबिच, विद्यार्थी विद्यार्थीबिच , अभिभावक शिक्षकबिच र विद्यार्थी शिक्षकबिच मानसिक रुपमा कोरोनाको त्रास हटाउन आवश्यक छ । यसले आपसमा परिचित हुन सहयोग गर्दछ । यस्तो कार्यक्रम नयाँ अभिभावक र विद्यालयबिच परिचय गराउनुका साथै विद्यालयमा भएका विद्यार्थी र अभिभावकको संलग्नतामा स्वास्थ्य सुरक्षा र चेतना बुझाउन लक्षित हुनुपर्छ ।

यसले विद्यालय सञ्चालनमा कसको के भूमिका हुँदोरहेछ भन्ने कुरा बुझ्न नयाँ अभिभावकलाई सजिलो हुन्छ । बालबालिकाको शिक्षणमा शिक्षकलाई मद्दत पुग्छ । विद्यार्थीको सिकाइमा सुधार ल्याउन र अभिभावकको सहयोग लिन प्रत्येक विद्यालयले नयाँ भर्नासँगै अभिभावक सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक हुन्छ ।

छोराछोरीको आँखामा आफ्ना सपना सजाएर उनीहरुको सुन्दर भविष्य निमार्ण गर्ने दायित्व लिएर विद्यालयको ढोकामा स्यानिटाइजरले शुद्धिएर पाइला टेक्ने नूतन अभिभावकका लागि शैक्षिक चेतना जगाउनु नै यस वर्षको अभिमुखीकरण कार्यक्रम हुन सक्छ ।

विगतका वर्षमा झैं कोरोनाको त्रास मत्थर भएसंगै थुप्रै बालबालिका आफ्ना कलिला हातले बुबाआमाका हात समातेर विद्यालय पुग्दै छन् । कतिपय बालबालिकाका बाबुआमा नै पहिलोपटक विद्यालयको अभिभावक बनेका हुन सक्छन् ।

कतिपय अभिभावकलाई बालबालिकाको जन्म र विकास कसरी हुन्छ ? कुन उमेर समूहमा उनीहरुको व्यवहार कस्तो हुन्छ ? ठीक र बेठीकलाई कसरी उत्साहित र निरुत्साहित गर्नुपर्छ भन्ने ज्ञान हुँदैन । उनीहरुलाई विद्यालय, परिवार र समाजमा हुने क्रियाकलाप र आफ्नै जिम्मेवारीका बारेमा समेत जानकारी नहुन सक्छ ।

 कक्षा १ मा भर्ना भएका नानीबाबुहले कक्षा बिचैमा छोड्ने र दोहोर्याउने विद्यार्थी संख्या बढी हुन्छन् । विशेष गरी अभिभावकले कक्षा १ मा भर्ना भएका बालबालिकालाई नियमितता बढाउन घरमा कसरी सहयोग गर्ने ? विद्यालयमा कसरी सहयोग गर्ने र शिक्षकलाई कसरी सहयोग गर्न सकिन्छ ? बालबालिकाले गरेका क्रियाकलापलाई कसरी प्रोत्साहित गर्ने भन्ने कुरालाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम केन्द्रित हुनुपर्छ ।

विद्यालय समुदायको साझा संस्था हो । कतिपय विद्यालयमा क्वारिन्टाइन बनाइएको छ । कोरोना संक्रमण समुदायमा नफैलियोस् भनेर गरिएको लकडाउन अब खुकुलो हुने क्रममा छ । महामारीको त्रासका  बिचमा विद्यालय राम्रोसंग सञ्चालन गर्न विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ, अभिभावक, विद्यार्थी र शिक्षक सबैको महत्वपूर्ण भूमिका हुन्छ । यी सबैले आ आफ्नो जिम्मेवारी पुरा गरेमा समग्र रुपमा विद्यालयको शैक्षिक वातावरण असाध्यै राम्रो हुन्छ ।

 शिक्षा मन्त्रालयले समय सापेक्ष हुनुपर्ने कुरामा जोड दिँदै भर्चुअल कक्षा सञ्चालन गर्न निर्देशिका नै जारी गरेको अवस्था छ । देशभरि रहेका नमुना विद्यालयमा प्रविधिमैत्री कक्षाको तयारी हुनु यसका उदाहरण हुन् । नेपालको परिवेशमा सबै विद्यालयमा प्रविधिमैत्री भर्चुअल कक्षा सम्भव हुने अवस्था भने देखिदैन । सबै ठाउँमा इन्टरनेटको पहुँच र सन्तुलन नपुगेको हुँदा भर्चुअल कक्षाको आंशिक तयारीसँगै नयाँ अभिभावक अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नु उचित हुने देखिन्छ ।

नयाँ भर्ना भएका बालबालिकाका अभिभावक भर्ना भएका विद्यार्थी, विषय शिक्षक, प्रधानाध्यापक व्यवस्थापन समितिका पदाधिकारी सञ्चालक सबैलाई सामुहिक रुपमा भेला नगराई अभिमुखीकरण कार्यक्रम शुरु गर्दा सुरक्षित महशुस गर्न सकिन्छ । तर यस वर्ष यो काम निकै चुनौतिपूर्ण देखिएको छ ।

 सानासाना समूहमा सामाजिक दुरी कायम गर्दै अभिभावक र बालबालिकाले पालैपालो लकडाउनको अवस्थामा भोगेका सुखदुखका अनुभव साटासाट गर्न दिने, कार्यक्रम सकेपछि विद्यालयमा गरिने क्रियाकलाप बारे वार्षिक कार्यतालिका वा शैक्षिक क्यालेन्डरका बारेमा प्रअ अथवा विद्यालयले अभिभावकलाई जानकारी गराउने सम्भव भएसम्म विव्यसका पदाधिकारीको जिम्मेवारी र काम कर्तव्य बताइदिने शिक्षकाको भूमिका, अभिभावकको भूमिका, विद्यार्थीले पालना गर्नुपर्ने नियम आदिका बारेमा क्रमैसंग अभिमुखीकरण कार्यक्रममा प्रस्तुत गर्नु राम्रो हुन्छ ।

विद्यालयले नयाँ बालबालिकाका लागि रमाइलो कक्षाकोठा व्यवस्थापन, गुणस्तरीय शिक्षा स्रोत सामग्री र कक्षाकोठाभित्र भयरहित बनेर पढ्नका लागि बालमैत्री शिक्षण सिकाइ क्रियाकलापको व्यवस्था गर्न जरुरी हुन्छ । अभिभावकलाई बेलाबेलामा बैठकमा सहभागी गराई बालबालिकाको प्रगति विवरण सुनाउने गर्नुपर्छ । कोरोनासँग डराउने भन्दा पनि सुरक्षित भएर कसरी पढ्ने भन्ने विषयमा केन्द्रित हुन सके भर्ना अभिमुखीकरण कार्यक्रम फलदायी हुन सक्छ ।

मनोसामाजिक परामर्श सेवा, कोरोनाबाट सतर्कता, स्वास्थ्य सम्बन्धी परामर्श, खोप तालिका, पोषण सम्बन्धी चार्ट, बालबालिकाको सन्तुलित भोजन तालिका, डेली डायरी लेखन, कथा सुनाउँदाको प्रभाव, विद्यालयका सेफ्टी नियम, ट्राफिक नियम, बास्तुसम्बन्धी जानकारी, बालहिंसा र अपराध आदिको जानकारी दिन भर्ना अभिमुखीकरण कार्यक्रम केन्द्रित हुनु सान्दर्भिक हुन्छ ।

विद्यार्थीले  बिचमा विद्यालय छोड्दा र कक्षा दोहोर्याउनुपर्दा कस्तो मनोवैज्ञानिक असर पर्न सक्छ भनेर सचेत तुल्याउने, मासिक त्रैमासिक वार्षिक कक्षागत अभिलेख र अनलाइन प्रगति विवरण प्रस्तुत गर्ने, बालबालिकाका सुधार्नु पर्ने कमिकमजोरी भए एकअर्कामा सुझाव दिने लिने गर्नाले विद्यालय र अभिभावक बिच सम्बन्ध प्रगाढ बन्दै जान्छ ।

अभिभावकले सकेसम्म लामो दुरीका सवारी साधनमा बच्चालाई चढाएर जंकफुडको झोला बोकाइ विद्यालय पठाउनु भनेको कोरोना निम्त्याउनु हो । सकेसम्म नजिकको विद्यालयमा भर्ना गर्ने हो भने जोखिम कम हुने निश्चित छ । गुणस्तरीय शिक्षाका नाममा ठुला र आकर्षक भवन भएका विद्यालयमा राम्रो पढाइ हुन्छ भन्ने भ्रम त्यागेर सुरक्षित वातावरण भएका विद्यालयमा भर्ना गर्दा केहीहदसम्म संक्रमणबाट बच्न सकिन्छ ।

अवस्था सामान्य नभएसम्म अभिभावकले प्रत्येक दिन विद्यालय गई आफ्ना बालबालिकाको विद्यालयमा रहने समय र उनीहरुले गर्ने व्यवहारसम्बन्धी बुझ्नुपर्छ । विद्यालयले पनि एप्समार्फत गृहकार्य, प्रोजेक्टवर्कका सम्बन्धमा र शैक्षिक उपलब्धीका बारेमा जानकारी लिनुपर्छ । दिनहुँ विद्यालय गएर बालबालिकाले फरक फरक कुरा सिकिरहेका हुन्छन् । त्यसको उचित प्रोत्साहन गरिने कुरा भर्नासँगै अवगत गराउनु राम्रो हुन्छ ।

उनीहरुलाई हरेक दिन पढाइको महत्व हुन्छ भन्ने कुरा सानैदेखि अभिभावकले बताउनुपर्छ । त्यस्तै दिनभरि स्कुलमा बस्दा बालबालिका भोकाउँछन् । उनीहरुलाई सिक्न गाह्रो हुन्छ । पढाइ छाडेर  बिचमै भाग्न नसकुन् भनेर सरकारले नै दिवा खाजा कार्यक्रम अगाडि सारेको छ । अभिभावकले पनि उनीहरुलाई खाजाको व्यवस्था मिलाइदिनुपर्छ ।

समुचित पोषण माया ममता प्रदान गर्न सके बालबालिकालाई नयाँ वातावरणमा समायोजन हुन सजिलो हुन्छ । फोहोरी भएमा साथीहरुले हेला गर्दछन् । रोग लाग्न सक्छ । त्यसैले सफासुग्घर रहन हौसला दिनुपर्छ ।

प्रत्येक अभिभावकले ठीक समयमा सुत्ने, उठने , दाँत माझ्ने, हात धुने , नुहाउने बानीको रुटिन बनाएर अनिवार्य अभ्यास गराउनुपर्छ । यसलाई पछिसम्म उनीहरुले व्यबहारमा उतार्छन् । अभिभावकले दिनभरि गरेका क्रियाकलापहरु घरमा छलफल गरिदिनुपर्छ ।

भर्नाको समयमा मात्रै होइन विद्यालयले बोलाएको बेला, शिक्षकहरुले डाकेको समयमा, परीक्षाफल प्रकाशित भएका दिन, लब्धांकपत्र लिने समयमा र फुर्सदको समयमा अभिभावकले विद्यालय जान अल्छी मान्नुहुँदैन ।

यसरी अभिभावकको विशेष हेरचाह, समुदायको रचनात्मक सहयोग, विद्यालयको क्रियाशीलता र शिक्षकहरुको लगनशीलताले मात्रै अहिलेको अवस्थामा बालबालिकाको भविष्य सुरक्षित र सुनिश्चित हुन्छ ।

समय मिलाएर गरिने यस्ता अभिमुखीकरणले शिक्षक तथा विद्यार्थीको सन्दर्भमा जीवनोपयोगी सीप विकास गर्न मद्दत मिल्दछ । आत्मवोध गर्न सिकाउँछ । आवेश तथा तनावलाई व्यवस्थापन गर्न सहज हुन्छ । विवेचनात्मक सोच र निर्णय गर्न सक्ने क्षमताको विकास हुन्छ । द्धन्द्ध व्यवस्थापन र समस्या समाधान गर्दै सफलताका निम्ति लक्ष्य निर्धारण गर्नसमेत बेलाबेलामा गरिने अभिमुखीकरण कार्यक्रम अभिभावकका लागि महत्वपूर्ण मानिन्छ ।

बालबालिकाका लागि घर पहिलो पाठशाला र आमा पहिलो गुरुआमा हुन् । त्यसैले कक्षा १ मा नियमितता बढाउन अभिभावक बालबालिकाको हरेक ठाउँमा सहयोगी बन्नुपर्छ । “जहाँ प्रशंसा जीवित रहन्छ त्यहाँ विश्वास र आशा पैदा भइ पुरानो र नयाँ पुस्ताहरुको  बिचमा आपसी सम्बन्ध पुनरस्थापित हुन्छ ।”

डेभिड कूपरराईडरले भने झैं अभिभावकले बालबालिकालाई उनीहरुले विद्यालयमा गरेका क्रियाकलापलाई प्रोत्साहित गर्नुपर्छ ।

साथीभाइसंग भएको व्यवहार र गरेका कुराकानी आदि चाख लिएर सुनिदिने गर्नुपर्छ । कापी कलम छ छैन बुझेर व्यवस्था गरिदिने, खाजाको व्यवस्था गरिदिने, पढाइको सफलताका बारेमा स्याबासी दिने, घरबाट विद्यालय जाने व्यवस्था समयमै मिलाइदिने घरमा रुटिन बनाएर पढ्ने बानीको विकास गरिदिनु पर्छ । गृहकार्य र सरसफाइ कार्यमा मद्दत गरिदिनाले उनीहरु विद्यालय जान रमाइलो मान्छन् ।

त्यसैगरी बेलाबेलामा विद्यालय जाने, सुरुसुरुका दिनमा विद्यालयको वातावरणमा घुलमिल गराउन अभिभावकले आफैं पुर्याउने र संगै ल्याउने गर्नुपर्छ । बालबालिकाको शैक्षिक प्रगति र अन्य पक्षमा शिक्षकसंग बैठक बस्ने, विद्यालयले बालबालिकाको व्यक्तित्व विकासका लागि सञ्चालन गरेका क्रियाकलापमा सहभागी हुँदा फाइदै हुन्छ ।

कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने । वनभोज ,अभिभावक दिवस , प्रर्दशनी, ट्यालेन्ट सो आदि इभेन्टस्मा सहभागी भई हौसला दिने जस्ता गतिविधिप्रति चासो लिने गर्नाले उनीहरुमा पढाइ र विद्यालयप्रति चासो बढ्न जान्छ । घरमा बस्नभन्दा विद्यालय जान रमाइलो मान्छन् । उनीहरु दिनदिनै सफल हुन्छन् ।

विद्यार्थी भनेका देशका कर्णधार हुन् । जसरी यिनीहरुको अनुहार फरकफरक हुन्छ । त्यसरी नै गुण र स्वभाव पनि फरकफरक हुन्छ । असल अभिभावक र शिक्षक पनि तिनै हुन् । जसले बालबालिकाको फरक फरक अनुहारको फरक फरक क्षमता र रुचि बुझेर व्यबहार गर्छन् । तिनै बालबालिकाको भविष्य सुन्दर हुन्छ ।

फ्र्यांक ओउट्लाले भने झै “जब म आप्mनो विचारहरुलाई हेर्छु त्यो शब्दहरुमा रुपान्तरण हुन्छ । जब शब्दहरुलाई हेर्छु त्यो क्रियाशील कार्य बन्दछ । जब म क्रियशील कार्यलाई हेर्छु त्यो ब्यवहार बन्दछ । जब म ब्यवहारलाई हेर्दछु त्यो स्वभाव (आनीबानी) बन्दछ । जब म स्वभावलाई हेर्दछु त्यो मेरो भविष्यको भाग्य बन्दछ । ” हो, बालबालिका समाजका अत्यन्त संवेदनशील समूह पनि हुन् । बालबालिकाबिनाको समाज परिकल्पना पनि गर्न सकिँदैन । यिनीहरु समाजका भविष्य हुन् ।

वर्तमानमा यिनको भविष्य निमार्ण गर्न सकिएन भने उनीहरुको भविष्य उज्यालो हुँदैन । त्यसैले प्रत्येक अभिभावकले आफ्ना सन्तानको सुन्दर भविष्य निर्माणमा कुनै कन्जुस्याइँ गर्नुहँुदैन ।

एउटा बालकले आमा, बुबा, परिवारका सदस्यहरु, खेल समूह, छरछिमेकी, विद्यालय, सामाजिक संघसंस्थाहरु र राष्टिय तथा अन्तर्राष्टिय परिवेशलाई सामाजिकीकरणको अभ्यास गर्ने आधार बनाएको हुन्छ ।

त्यसैले विभिन्न कारणले विद्यालयभन्दा बाहिरी परिवेशमा रहेका अल्पसंख्यक, गरिब, दलित, उपेक्षित र पिछडिएका बालबालिकालाई विद्यालयमा स्वागत गरी उनीहरुको पठनपाठनमा निरन्तरता दिन नयाँ अभिभावक अभिमुखीकरण कार्यक्रम प्रभावकारी हुन्छ ।

त्यसै गरी नयाँ अभिभावकहरुमा शैक्षिक चेतना बढाउन अभिभावककै सहयोग लिई विद्यार्थीहरुको पठनपाठनमा सुधार ल्याउन र विद्यालय विकासमा गर्नैपर्ने कामहरु छनौट गरी सबै अभिभावकको संलग्नता गराउन यस्तो कार्यक्रम बढी प्रभावकारी हुने देखिन्छ ।