निजी छाडेर सामुदायिक विद्यालयमा भर्ना

पछिल्लो सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ । निजी विद्यालय छाडेर पनि सामुदायिक विद्यालयमा भर्ना हुन आउनेको सङ्ख्या बढिरहेको छ ।

दाङको राप्ती गाउँपालिकास्थित सर्वोदय मावि सिसहनियामा यस वर्ष मात्र दुई सय नयाँ विद्यार्थी थपिएका छन् । तीमध्ये अधिकांश निजी विद्यालयबाट आएका प्रधानाध्यापक गोविन्दबहादुर केसीले बताए  । अङ्ग्रेजी माध्यामबाट कक्षा सुरु भएपछि विद्यार्थीको आकर्षण बढेको उनले बताए ।

राप्ती गाउँपालिका–४ स्थित जनज्योति आधारभूत विद्यालयमा पनि निजी विद्यालय छाडेर भर्ना भएका छन् । प्रधानाध्यापक कुलराम जैसीका अनुसार ४६ जना नयाँ विद्यार्थी थपिएका छन् । विद्यालयमा नर्सरी–१ र नर्सरी–२ पनि सञ्चालन गरिएकाले पनि विद्यार्थीको आकर्षण बढेको उनको भनाइ छ ।

नेपाल राष्ट्रिय मावि राप्ती गाउँपालिका–१ मा पनि निजी विद्यालयबाट भर्ना हुन विद्यार्थी आएका छन् । प्रधानाध्यापक लोकेन्द्र केसीका अनुसार ८० जना निजी विद्यालयबाट मात्रै भर्ना भएका छन् ।

राप्तीको आदर्श नमूना माविमा प्रत्येक कक्षामा ५० जना थप नयाँ विद्यार्थी आएका छन् । प्रधानाध्यापक किरन पोख्रेलका अनुसार अहिले सोही विद्यालयमा दुई हजार एक सय विद्यार्थी छन् । सोही विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेको छ । 

यी त केही उदाहरणमात्रै हुन् । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढिरहेको छ । अङ्ग्रेजी माध्यममा पठन–पाठन हुन थालेपछि यसरी विद्यार्थीको सङ्ख्या बढिरहेको प्रधानाध्यापक पोख्रेलले बताए । सामुदायिक विद्यालयले उचित व्यवस्थापन गरेपछि विद्यार्थीको सङ्ख्या बढ्ने उनको भनाइ छ ।

राप्ती गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, सरकारी विद्यालयका शिक्षकका सन्तान सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने निर्णय गरेको छ । सोहीअनुसार पालिका अध्यक्ष प्रकाश विष्ट, शिक्षा शाखा प्रमुख विश्वास विकलगायतले आफ्ना सन्तालानलाई सामुदायिक विद्यालयमा भर्ना  गरेका छन् ।

सामुदायिक विद्यालयको अवस्था सुधार गर्न स–साना कुरामा ध्यान दिनसके निजीभन्दा राम्रो हुने पालिका अध्यक्ष प्रकाश विष्टले बताए । उनले राप्तीका सामुदायिक विद्यालय सुधार अभियानलाई अगाडि बढाएको समेत बताए । “हामी सबै लाग्यौँ भने सामुदायिक विद्यालयको शिक्षा सुधार हुनसक्छ”, उनले भने, “त्यसैले यस वर्षदेखि सामुदायिक विद्यालय सुधार अभियानमा लागेका छौँ ।”