After SEE Portal

लकडाउनमा सिकाइ विधि

Bridge Course

आज २०७७ वैशाख १६ गते । हतार हतारमा कक्षा नौसम्मका परीक्षा २०७६ चैत्र ५ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने सूचना जारी गरी चैन ६ गतेबाट सुरु हुने एसइइको सम्पूर्ण तयारी पूरा गरिसकेर स्थगन गरिएको थियो । आफ्ना परीक्षा केन्द्रहरूमा पोकोपतेरो बोकेर पुगेका विद्यार्थीहरू परीक्षा स्थगनको सूचनाबाट दुःखी हुँदै घर फर्केका थिए भने सुगम क्षेत्रका विद्यार्थीहरू आफूले अनेक गरी तयारी गरेको परीक्षा स्थगन हुँदा खुसी हुन सकिरहेका थिएनन् । त्यसै दिनदेखि बन्द रहेका विद्यालयहरू खुल्न सकेका छैनन् र छिट्टै खुल्ने अवस्था पनि देखिदैन । सामान्य अवस्था भएको भए यस समयसम्म विद्यार्थी भर्नाका सम्पूर्ण कार्य सकेर धमाधम पढाइ भइरहेको हुने थियो । 

यसरी हेर्दा आज ३९ दिनदेखि विद्यार्थीहरू विद्यालय र शिक्षकहरूको प्रत्यक्ष सम्पर्कमा आउन सकेका छैनन् । अभिभावक, शिक्षक तथा शिक्षासँग सरोकार राख्ने हरेक व्यक्तिलाई एक प्रकारको स्वाभाविक छटपटिले सताइरहेको छ । केही दिन यता आएर केही जाँगरिला शिक्षकहरूले मेसेन्जर होस् वा जुमको प्रयोगले केही प्रयत्न गरिरहनुभएको छ । सामाजिक सञ्जालमा पाठ्यपुस्तकका सफ्ट कपी (पिडिएफ) पाइए हुन्थ्यो भन्ने खालका आसय झल्काउने आग्रह राख्ने गर्नुभएको पनि देख्न पाइन्छ । एक कोणबाट हेर्दा यो आग्रह उहाँहरूको इमान्दार एवं निर्दोष सोचाइको प्रतिविम्व हो पनि भन्न सकिन्छ । 

कसैले कल्पनासम्म नगरेको यो अवस्थामा आफ्ना विद्यार्थी/छोराछोरीको पढाइमा पर्न गएको सम्भावित हानीले पढाइ नै छोराछोरीको सर्वस्व ठान्नै पर्ने यस समयको बाध्यकारी अवस्थामा के गरूँ र कसो गरूँ को मानसिकतामा हुनु स्वाभाविक हो । विभिन्न किसिमले बालबालिकालाई सम्पर्कमा ल्याई केही सिकाउने प्रयत्न हुनु यसै छटपटीको परिणाम हो भन्नुपर्छ । 

जुनसुकै एपको प्रयोग भए तापनि अर्थात् मेसेन्जर वा जुम वा शिक्षक/विद्यालय र विद्यार्थी/अभिभावकका बीचको सेतुको रूपमा विकसित मुलुकहरूमा प्रचलनमा रहेका ठाउँ हेरी भिन्न एपहरूको प्रयोग भए तापनि सबैभन्दा पहिलो आवश्यकता इन्टरनेटको रह्यो । साथमा कम्प्युटर वा स्मार्ट फोनको आवश्यकता रहने भयो । त्यतिले मात्र पनि पुग्ने कुरा भएन । आफ्ना बालबालिकालाई साथै राखी दिइएको समयमा दिइएको तरिकाले बालकलाई सहजीकरण गर्न सचेत अभिभावकको आवश्यकता रह्यो । अब प्रश्न उठ्छ– यो तरिकाले कति प्रतिशत विद्यार्थीलाई हाम्रो सेवासँग जोड्न सकिएला ? हाम्रो योजनामा सहभागी गराउन सकिएला ? त्यसको माध्यमबाट के कुरा सिकाउन सकिएला ? हाम्रा विद्यार्थीले मोबाइल हात परेपछि हाम्रा कार्यक्रममा सहभागी होलान् र ? भन्ने प्रश्न पनि नगरौं तर उपलब्धी कति होला ? मैले यसो लेखिरहँदा, पाठक मित्रहरूलाई लाग्न सक्छ– केही नहुनुभन्दा यत्ति पनि भयो भन्ने मान्नु पर्दैन र ? मित्र तपाईंले गर्नुभएको शङ्का एकदम जायज छ । हो नि, केही नहुनुभन्दा यति प्रयत्न पनि त भयो ! सकारात्मक बनौं । म यसप्रति पूर्ण सहमत छु । साथै यो पनि जोडौं मोबाइल वा कम्प्युटरमा आफ्ना बालबालिकालाई यति सहजीकरण गर्ने क्षमता राख्नेमध्ये धेरै अभिभावकले आफ्ना बालबालिकालाई यो खाली रहेको समय कसरी उपलब्धिमूलक बनाउन सकिन्छ भन्ने योग्यता राख्नुहुन्छ । तथापि जे भएको छ, त्यो पनि धेरै हो भन्ने नबिर्सौ । 

अब माथि नै जोडिएको एउटा प्रश्नतिर ध्यान दिऊँ– यो प्रविधिलाई आत्मसात गर्न सक्ने कति प्रतिशत विद्यार्थी होलान् ? जो छन् तिनका लागि त केही न केही भयो । यसमा जोडिन नसक्ने विद्यार्थीलाई कसरी व्यवस्थापन गर्ने ? प्रविधि उपलब्ध भएकामध्ये पनि ठूलो कक्षाका विद्यार्थीहरूको सानो अंश यसमा जोडिएला, सानो कक्षाका बालबालिकाको क्रियाशीलतालाई कसरी कायम राख्ने ? यो जटिल प्रश्न हो भन्ने लाग्छ । 

पाठ्यपुस्तक (पाठ्यक्रमलाई भनिएको छैन)का हरपहरप कन्ठ गराएर तिनैमा आधारित तोकिएका प्रश्नका जवाफ लेख्न लगाइ, अझ परीक्षामा गुरुगुरुमाले नै सहजीकरण गराएर लेख्न लगाइ उच्च प्राप्ताङ्क हासिल गरेको जेहेन्दार विद्यार्थी देखाउने पद्धतिमा हुर्केको वर्तमान शिक्षा प्रणालीमा अभ्यस्त हामी विनापाठ्यपुस्तक पनि पढाइ हुन्छ र भन्ने लाग्नु स्वाभाविक हो । तर के शिक्षा भनेको पाठ्यपुस्तकको रटान हो ? त्यो नभए के हो त ? प्रश्न सहजै उठ्छ । 

सहज मानेमा सिकाइ भनेको जान्नु नै हो । तर बालबालिकाले जान्नुपर्ने चाहिँ के हो त ? उनीहरूले जान्नैपर्ने कुरा के हुन् ? सिकाउनु पर्ने कसले हो ? कसले के सिकाउने हो ? सिकाउने केका लागि हो ? उच्च अङ्कका लागि ? बालबालिकाको उज्ज्वल जीवनका लागि ? हामीले यी कुरामा अलिकति ध्यान पुर्‍याउन सक्यौं भने बालबालिकालाई घर बस्नै परेको यो वाध्यकारी समय अत्यन्त उपयोगी र सिर्जनशील हुनसक्छ । भनिन्छ आमा नै बालबालिकाकी प्रथम शिक्षक हुन् । कार्य व्यस्तताले गर्दा आफ्ना पाँच वर्षदेखिका छोराछोरीलाई बिहान सात बजे स्कुल वा मन्टेसरीका बोर्ड झुण्ड्याइएका बालकेन्द्रमा वा ट्युसन केन्द्रमा लगी छाडेर काममा लाग्नु पर्ने अवस्थामा रहनुभएका अभिभावकलाई आफ्ना छोराछोरीलाई सिकाउनै पर्ने तर समयको अभावले नभ्याइरहेका आमाहरूलाई आफ्ना छोराछोरीप्रति आफ्नो दायित्व पूरा गर्ने समय पनि हुनसक्छ यो । 

पढाइ भनेको विद्यालय, क्याम्पस वा विश्वविद्यालयका पाठ्यांश मात्र होइनन् भन्ने बुझ्नु जरुरी छ । आफ्ना बालबालिकाको उमेरका हिसाबले उपयुक्त रहेका पुस्तकहरू पढ्ने वातावरण दिन सकेको खण्डमा उनीहरूमा स्वाध्यायनको बानी बसाल्न सकिन्छ । ‘कोर्सको किताब पढ्न छाडेर अनेक पढ्नु पर्छ तँलाई ?’ भनी अभिभावकले हप्काउने संस्कृतिमा हुर्केका पनि हामी नै हौं । अरूको उदाहरण के दिऊँ ? साहित्यकार अमर न्यौपानेले एकपटक लेख्नु नै भएको थियो– ‘मैले कतिपय पुस्तकहरू बुवाआमाबाट लुकाएर पढ्थें ।’ यस्तो अवस्थाबाट गुज्रनुपरेका उहाँ मात्र नभएर अनगिन्ती हुनुहुन्छ । अझ अनगिन्ती त किताबमा पनि पैसा खेर फाल्ने ? भन्ने सोचाइ राख्ने कति हुनुहोला ? तर वास्तविकता के हो भने हाम्रा बालबालिकालाई जति स्वाध्ययनमा बानी पार्न सकियो त्यत्ति नै विकसित हुने हो उनीहरूको ज्ञानको, सोचाइको र कल्पनाशीलताको, सिर्जनशीलताको दायरा । यसरी पढ्ने बानी बसेका बालबालिकालाई त कोर्सका पुस्तक भनौं वा पाठ्यांश केही जस्ता पनि लाग्दैनन् । उनीहरूको तीक्ष्णतालाई किताब कन्ठ पारेर जीपीए ४ ल्याउनेले कहिल्यै भेट्न सक्दैन । शिक्षक साथीहरू तथा अभिभावकहरूमा यति मात्र चेतना आइदिए, हाम्रो शिक्षाको स्तर ह्वात्तै बढ्ने छ । र, यो फुर्सदिलो समयको उपयुक्त सदुपयोग हुनेछ ।    

शिक्षकहरूले चाहेर पनि गर्न नसक्ने तलका विषयहरूमा अभिभावकहरूले ध्यान दिन सके यो कोरोना व्यधीले दिएको आतङ्कलाई वरदानको रूपमा प्रयोग गर्न सकिने छ । बालबालिकाले घरमै आमा बुवासँग आफ्नो सामानको सुरक्षण, प्रयोग, आफ्नो घर वा कोठाको सफाइ, परिवारका सदस्यसँग आवश्यकताअनुसार बोल्ने तरिका, छलफलमा भाग लिने तरिका– सुनाइमा एकाग्रता, तर्कपूर्ण तथा धैर्यतार्पूक जवाफ दिने वा नजानेको सोध्ने काइदा, हरेक वस्तुलाई फरकढङ्गले हेर्ने तरिका आदि, आफ्ना व्यक्तिगत सामग्रीको प्रयोग सफाइ र जतन, कोठाको सफाइ र प्रयोग, भान्सा र यसभित्रका वस्तुहरूको प्रयोगदेखि संरक्षण, करेसाबारी वा बार्दलीमा, वा गमलामा उमार्न सकिने उपयोगी फूल, फलफूल तथा सब्जीहरू, यिनीहरू रोप्नेदेखि स्याहार सम्हार, हाम्रो कृषिका विभिन्न तरिका, हाम्रो खाद्यपदार्थका स्रोतहरू र यिनमा श्रमको भूमिका, उमेरअनुसार उत्पन्न हुने बालबालिकाका आफ्ना उद्देश्य निर्धारणबारे छलफल, तिनको प्राप्तिमा व्यक्तिको भूमिका, आचरण, शिल स्वभावजन्य कुराहरू व्यावहारिक किसिमले नै सिकाउन सकिने छ । आफूसँगै राखेर सिनेमा हेर्ने, छोराछोरीलाई तिनमा रहेको कथा भन्न लगाउने, पात्रहरूको भूमिका वर्णन गर्न लगाउने, कसको भूमिका कस्तो भनी छलफल चलाउने र बालबालिकालाई नै मूल्याङ्न गर्न लगाउन सके उनीहरूको तार्किक क्षमतालाई मलजल गर्न सकिने छ । 

यी त भए अत्यन्त मसिना कुराहरू । यसबाहेक औपचारिक शिक्षाजस्तो पनि देखिने बालबालिकाको चौतर्फी विकासमा पनि कामयावी हुने केही कदम चाल्न सकिन्छ । जस्तो कि अहिले नेपाल टिभी २ मा शिक्षासम्बन्धी कार्यक्रम चलिरहेको छ । त्यसबाहेक सम्बन्धित स्थानीय निकायहरूको सहकार्यमा आफ्नो समुदायमा सञ्चालित एफएम रेडियोहरू, टिभी च्यानलहरूलाई प्रयोग गर्न सकिन्छ । यसमा सम्बन्धित विषयका विज्ञहरू, योग्य शिक्षकहरू, विभिन्न कार्यक्षत्रका अनुभव संगाल्नुझएका विशिष्ट व्यक्तित्वलाई स्रोतव्यत्तिका रूपमा आन्त्रण गरी विषयगत कम र सीपमा आधारित, ज्ञानमा आधारित, प्रयोगमा आधारित संस्कृतिमा कार्यक्रमहरू चलाएर देखाउन सक्यौं भने झन् उपयोगी हुनेछ । कतिपय अवस्थामा आफ्ना शिक्षक देख्न पाएमा विशेषतः तल्लो कक्षाका विद्याथीहरू रमाउने हुनाले उहाँहरूलाई नै कार्यक्रको संयोजन गर्न लगाउने र उहाँहरूले विज्ञ अतिथिलाई प्रस्तुत गर्दा बढी उपयोगी हुनसक्छ । 

यस फ्रकारका कार्यक्रमहरूमा स्थानीय निकायहरूले आफ्नो क्षेत्रमा चलेका संचार माध्यमलाई बाल कार्यत्रहरू, बालबालिकाकेन्द्रीत नाटकहरू, गीतिनाटकहरू, बालबालिका केन्द्रीत छोटाछोटा सिनेमा वा विभिन्न ठाउँ चिनाउने महान व्यक्तित्वहरूका जीवनी वा उहाँहरूले गर्नुभएका सामाजिक कार्यहरू, अन्वेषणहरूमा आधारित डकुमेन्ट्रीहरू देखाउन सके कति उपयोगी होला ? 

पाठक मित्र, नबिर्सौं, शिक्षा र सिकाइ पाठ्यपुस्तकको रटन्तामबाट प्राप्त श्रेणीभन्दा धेरै गुणा फरक कुरा हो । किनकी प्राप्ताङ्क परीक्षा पास गर्नका लागि र सिकाइ सिङ्गै जीवनका लागि हो । जय शिक्षा । 

लेखक शिक्षण पेसाबाट अवकास प्राप्त शिक्षाकर्मी हुन् ।

A Levels MA
I Tech store