Thuprai - Books and E-books
Scholarship edusanjal

पुस्तक समिक्षा: सिकाइ र सहयोग

Admission edusanjal

विशेषतः शिक्षा क्षेत्रलाई कर्म थलो बनाएर वृत्तिपथको उपल्लो तह अर्थात् नेपाल सरकारका बहालवाला सचिव खगराज बराल एक सुपरिचित लेखक हुनुहुन्छ । उहाँको यो कृति जीवन भोगाइ, अनुभव र अनुभूतिसँगै प्रेरक सन्देशहरू रहेका २५ वटा जीवनोपयोगी लेखरूपी पुष्पले सजिएको छ । यस सङ्ग्रहका विषयवस्तुले पाठकलाई आफ्ना अतीत, वर्तमान र स्वाभाविक व्यवहारका विविध पक्षमा सोच्न बाध्य बनाउँछन् । कसैलाई सुधारका लागि टिप्पणी गर्दा चित्त नदुःखाउनु होला भन्ने हैन उल्टो मन दुःखेन भने सुधारको सम्भावना पनि रहन्न भन्ने यथार्थ भावनाले लेखकमा लेखकीय धर्मको भरपूर उपयोग भएको देख्न सकिन्छ । 

यस सङ्ग्रहमा बाल अधिकार र हाम्रा व्यवहार, संस्कृत, संस्कार र संस्कृति, सिकाउने आफ्नै काइदा, बुझाइमा अर्थ र अनर्थ, पुर्खाको विश्वास, लैङ्गिक सवाल र जापानी परिवेश, जेनेभा बसाइमा हाम्रो सिकाइ, लैङ्गिक पक्ष र परिवेश, नाता र सम्बोधनः अनुभव र अनुभूति, यात्राबाट सिकेका कुरा, प्रगतिको बाधक : नकारात्मक सोच, लैङ्गिकता र व्यवहारोपयोगी सिप, खानपान र हाम्रो चलन, बानी त कस्तो राम्रो !, परामर्शदाता र असङ्गत सोच, क्षतिपूर्ति दावीमा अनौठो प्रवृक्ति, आचरण र व्यवहार, निम्ता र निम्तालु, कार्यत्रम औपचारिक : प्रसङ्ग अनौपचारिक, अनुभव र उपयोग, पर्यटक आकर्षणमा इजिप्सेली अनुभव, आनुवंशिकताको प्रभाव, गृहस्थीमा फर्किएका गुरू, साङ्केतिक भाषाको मर्म र संस्कृतको वास्तविक महत्व जस्ता विविध विषयहरू समेटिएका छन् । 

वास्तवमा हामीले ध्यान नदिएका धेरै पक्ष जीवनका महत्वपूर्ण विषय हुन सक्दछन् । लेखकले बाल अधिकार र हाम्रा व्यवहार शीर्षकमा अधिकांश अभिभावकले सार्वजनिक यातायातमा भाडा तिर्न गाह्रो मान्ने र सीटमा बस्न पनि नपाउने अवस्था तथा आफ्नै छोरालाई राष्ट्रिय नाचघरको शौचालयमा परेको अप्ठेरोलाई संस्मरण गर्दै सार्वजनिक स्थल, विद्यालय, घर आदिका शौचालय बालमैत्री नहुने अवस्था अथार्थ र सुधारको गम्भिर व्यवहार रिक्तता औँल्याइएको छ । 

संस्कृत, संस्कार र संस्कृति शीर्षकमा पूर्वीय संस्कार, संस्कृत भाषाको महत्व, गीता महात्म्य र नेपालीहरू धेरै खुशी रहनुको रहस्य वर्णन निकै उपयोगी र प्रेरणादायी लाग्दछ । सिकाउने आफ्नै शैलीमा जापानी सहजकर्ताले तथ्यसहित मांशाहारी र शाकाहारी छुट्याउने तरिका तथा मान्छेलाई विषेषतासहित शाकाहारी प्रमाणित गर्दै सिकाउन प्रयोग गरेको शैली चाख लाग्दो र अनुकरणीय छ ।

बुझाइमा अर्थ र अनर्थमा चेभिनोभा, पिन्टो, वनमारा जस्ता शब्दहरू तथा गोरू ब्याउने प्रसँगहरू उस्तै विचारणीय एवं जीवनोपयोगी लाग्छन् । जापानमा सम्बन्धित व्यक्तिलाई मर्का नपरी सार्वजनिक सरोकारको विषयको नाममा मुद्दा हाल्ने व्यवस्था नभएकाले व्यक्तिको अराजकता पनि रहेनछ भनेर लैङ्गिक सवाल र जापानी परिवेश लेखले मुलुकको शासकीय व्यवस्थामा सुधारको एक विषय उठान गरेको छ । लैङ्गिक पक्ष र परिवेश शीर्षकमा के खाना पकाउने, भाँडा माझ्ने काम महिलाको मात्र हो ? भन्ने प्रश्न सबैका लागि र सधैंका लागि अहम् रहेको छ ।

नाता र सम्बोधनः अनुभव शीर्षकमा बाबा, सर र श्रीमान् अनि ममी र आमा शब्दको समानान्तर प्रयोग प्रतिको चाखलाग्दो विमति र भोलिका दिनमा नाता सम्बन्धलाई गलत किसिमले चिनाइन सक्ने सम्भावनाप्रति उचित खवरदारी गरिएको छ । प्रगतिको बाधक : नकारात्मक सोच शीर्षकमा भएन, गरेन, छैन, मिल्दैन, सकिदैन, गर्दैनन्, मान्दैनन् सम्झव छैन जस्ता अकरण क्रियापदको अधिक प्रयोग र नकारात्मकतालाई प्रगतिको वाधकका रूपमा औँल्याइएको छ ।

लैङ्गिकता र व्यवहारोपयोगी सिप शीर्षकमा व्यवहार कुशल सिप, जीवनोपयोगी सिप, पेशागत सिप र सञ्चालन सिप मानव जीवनलाई सहज बनाउन अति आवश्यक भएको तथ्य जापान भ्रमणको अनुभवसहित प्रस्तुत गरिएको छ । खानपान र हाम्रो चलन शीर्षकमा हाम्रा खेती लगाउने पद्धति, समयअनुसारका खाद्य परिकार, भान्छा र खाना खान अपनाउने तरिका, सरसफाइ जस्ता अत्यावश्यक कुराहरूको परम्परागत अभ्यास र विदेशको अनुभवलाई सजीव प्रस्तुत गरिएको छ ।

बानी त कस्तो राम्रो ! शीर्षकमा लेखकको शाकाहारी, सादा र ठिक समयमा सन्तुलित तथा सादगी खाना खाने एवं नसावाल जुस उपयोग नगर्ने बानीलाई सबैले राम्रो भनेको तर उनीहरू स्वयंबाट भने अवलम्बन नगरिएको प्रति दिग्दारी रहेको छ । वास्तवमा ‘यो शरीरलाई नखाए पनि हुने खाद्य पदार्थ र नपिए पनि हुने पेय पदार्थ मैले नखाएको र नपिएको हुँ, जीवन जिउनका लागि आवश्यक दार्थ त खाएकै छु नि’ भन्ने अभिव्यक्ति हामी सबैको स्वस्थ्य जीवनका लागि अत्यावश्यक मार्गदर्शन रहेको छ ।

परामर्शदाता र असङ्गत सोच शीर्षकको लेखबाट नेपालका अधिकांश कार्यालयहरूले योजना तथा परियोजनाको अध्ययन गर्न आउने परामर्शदाता तथा दातृ निकायलाई राम्रो मात्र देखाउने गलत प्रचलनमा परिवर्तनको आवश्यकता बोध गराउन खोजिएको छ । क्षतिपूर्ति दावीमा अनौंठो प्रवृत्ति शीर्षकमा हुलहुज्जत गरी क्षतिपूर्तिबाट आम्दानी खाने गलत प्रवृत्तिलाई चित्रित गरिएको छ । 

आचरण र व्यवहार शीर्षकमा हाम्रो आचरण तथा व्यवहारका बीचको असंगतिलाई उपदेशात्मक शैलीमा प्रस्तुत गरिएको छ । हाम्रा पुर्खाले निकै होसियारीसाथ अभ्यास गर्दै विकास गरेका आदर, सद्भाव र सद्वयवहार र आचरणका राम्रा पक्षहरूलाई अवलम्बन गर्न प्रेरित गरिएको छ । निम्ता र निम्तालु शीर्षकमा समाजमा विभिन्न घरायसी समारोहमा निम्ता गर्ने सुची निर्माण र उपस्थितिको आवश्यकतालाई मिहिनरूपमा प्रस्तुत गर्दै चुलै निम्ता भन्दैमा घरमा ताला लाएर जाने होइन भन्ने सन्देश दिइएको छ । अनुभव र उपयोग शीर्षकमा विभिन्न सान्दर्भिक अनुभव प्रस्तुत गर्दै आफूमा भएको क्षमता पहिचान गरी थोरै समयमा धेरै अनुभव हुने कार्यक्षेत्रमा खट्नु उपयुक्त हुने अनुभवजन्य सन्देश दिइएको छ । 

आनुवंशिकताको प्रभाव शीर्षकमा लेखकको आनुवंशीय पद्धतिप्रतिको जिज्ञासा र सम्बन्धित क्षेत्रका विज्ञ बीचको छलफललाई वर्णनात्मक शैलीमा प्रस्तुत गरिएको छ । यो जिज्ञासा र उल्लेख गरिएका विषयवस्तु मानव, जीवजन्तु र कृषि पैदावारमा समेत आनुवंशिक शुद्धता कायम गर्न उपयोगी खुराक रहेको देखिन्छ । गृहस्थीमा फर्किएका गुरू लेखमा मूलतः चन्द्रकान्त गुरूको गृहस्थ जीवनलाई  ब्रम्हचर्यमा रहँदा हासिल गरेको ज्ञान, सिप, प्रवृत्ति र क्षमताले गृहस्थी जीवनमा परिवार तथा समाज सुधार्न थप योगदान दिने उदाहरणका रूपमा प्रस्तुत गरिएको छ । 

साङ्केतिक भाषाको मर्म शीर्षकले समावेसिताको मर्म र भिन्न क्षमता भएका सिकारूको आवश्यकता सहज बनाउन साङ्केतिक भाषाको सुविधाको महत्व दर्शाइएको छ । पुस्तकको अन्तिम लेख संस्कृतको वास्तविक महत्वले संस्कृत आफैमा कर्णप्रिय र पूर्णभाषमात्र नभइ ज्ञानको अथाह भण्डारका रूपमा महत्वबोध गराएको छ । 

पुस्तकको विषयगत विविधता र लेखकको अभिव्यक्ति कलाका बीचमा सन्तुलन रहेको छ । व्यस्त रहने जिम्मेवारीमा रहँदा त यसरी घोत्लिन सक्ने स्वभावले भोलिको फुर्सदिलो समयमा अझ ज्ञानवर्धक पुस्तक श्रृङ्खला बढ्ने अपेक्षा गर्न सकिन्छ । पुस्तकमा समेटिएका विषयहरूलाई विषयगत भिन्नताका आधारमा समूहीकृत गरिएको भए अझ पाठकलाई विषय छनोटमा सहज हुने देखिन्छ । पर्यटक आकर्षणमा इजिप्सेली अनुभव २ पृष्ठको मात्र छ भने अनुभव र अनुभूति २२ पृष्ठको देखिन्छ । तसर्थ हरेक लेखको लम्बाइमा चाहिँ एकरूपता देखिन्न । सायद मैले नाम जुराउन पाएको भए ‘कथनी र करनीको व्यतिरेकी’, ‘आचरणजन्य विरोधभाष’, ‘अशल कसलाई भन्ने’, ‘जीवनोपयोगी अनुभवहरू’ ‘आचरण र व्यवहार’ वा यस्तै कुनै शीर्षकबाट यो पुस्तकको न्वारान गर्ने थिए । 

आफूलाई ससाना कुरामा मात्र ध्यान दिने मान्छे भनेर गर्ने गरिएको टिप्पणीप्रति ‘ससाना कुरामा ध्यान नपुर्‍याउने व्यक्तिले मुख्य कुरामा समेत ध्यान दिन सक्दैन’ भन्ने सटिक प्रतिक्रिया दिँदै लेखकबाट यस पुस्तकमा भरपूर जीवन दर्शन बोध गर्न अभिप्रेरित गरिएको छ । 

सैद्धान्तिक र व्यवहारिक कसीमा घोटिएको सिकाइ सामाजिक जीवनका हरेक क्षेत्रमा उपयोगी हुन्छ । त्यसैले समग्रमा पुस्तकको अन्तिममा रहेको ‘यसले सोच्ने शैलीसँगै अनुभूतिलाई व्यवहारिकतामा ढाल्ने सिप सिकाउँछ’ भन्ने सन्देशबाट नै यस पुस्तकको मूल उपयोगिता पहिलयाउन सकिन्छ । लेखकको अघिल्लो कृति ‘सिकाउने शैली’ जस्तै यो पनि पठनीय छ । कुन राम्रो भन्ने प्रश्न सापेक्षतामा निर्धारण हुन्छ । तसर्थ दुवै कृति आआफ्ना विशिष्ठतामा संग्रहणीय रहेका छन् । 

Courses edusanjal
Select college / campus
Schools edusanjal