ट्राफिक स्वयंसेवकमा ‘कानूनका विद्यार्थी’

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ स्कुल अफ ल, चक्रवर्ती हवी एजुकेशन एकेडेमी तथा नेसनल ल कलेजसँगको सहकार्यमा काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गरेको छ ।

स्वयंसेवक परिचालनको दोस्रो चरणको कार्यक्रमअन्तर्गत महाशाखाले विभिन्न कलेजसँगको सहकार्यमा आजदेखि स्वयंसेवक परिचालन गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

समुदाय प्रहरी साझेदारी अवधारणाअनुरुप उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन ३५५ विद्यार्थी ट्राफिक स्वयंसेवकका रुपमा खटिनेछन् । युवा र विद्यार्थीसँगको सम्बन्ध, सहयोग र सहकार्य अझै बढाउन र युवामार्फत ट्राफिक सचेतना बढाइ नियम पालना गराउने उद्देश्यले कार्यक्रम गरिएको महाशाखाले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, राष्ट्रिय युवा परिषद्लगायत विभिन्न सङ्घसंस्थाको सहकार्यमा असोजदेखि उक्त अभियान शुरु गरिएको थियो ।