A Levels MA

काठमाडौँ स्कुल अफ लद्वारा भाषा, साहित्य तथा संस्कृति मेला–२०८० सम्पन्न

काठमाडौँ स्कुल अफ ल ले दुई दिने भाषा, साहित्य तथा संस्कृति मेला २०८० आज सम्पन्न गरेको छ । ‘नेपाली भाषा र संस्कृतिको प्रवर्द्धनः काठमाडौँ स्कुल अफ ल को समर्थन’ नाराका साथ आयोजित उक्त मेलामा विभिन्न १२ वटा विषयवस्तुमा गहन छलफल सत्र चलेको थियो ।

मेलाको पहिलो दिन नेपाली भाषा साहित्यको महत्त्व र वर्तमान अवस्था’ माथि प्राज्ञ अमर न्यौपाने, प्रा डा सुधा त्रिपाठी र प्रा गीता पाठक, ‘नेपालको अर्थतन्त्र कसरी सुध्रिएला ?’ मा अर्थविद् केशव आचार्य, अर्थविद् डा रघुवीर विष्ट र सहायक प्रा राजीव विष्ट र ‘आधुनिक युगमा नेपाली इतिहासको महत्त्व’ शीर्षकमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्ती र दिनेशराज पन्तले विचार राखेका थिए ।

त्यस्तै, ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र अपनाउनुपर्ने परराष्ट्र नीतिका विषयमा पूर्वराजदूतत्रय मोहनकृष्ण श्रेष्ठ, डा निरञ्जन बस्न्यात र पिवी शाह, ‘नेपाली सभ्यता’ को बहसमा प्रा डा माधव पोखरेल, प्राज्ञ राजन मुकारुङ र कैलाश राई र ‘परिवर्तन गर्नुपर्ने संस्कार कि सरकार ?’ शीर्षकको सत्रमा प्रा डा युवराज सङ्ग्रौला, डा खगेन्द्र प्रसाईं र डा इन्द्र अधिकारीले आ–आफ्नो विचार राखेका थिए ।

मेलाको दोस्रो दिन ‘न्यायपालिका कुन बाटोमा ?’ शीर्षकको सत्रमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, महान्यायाधिवक्ता डा दीनमणि पोखरेल र पूर्वन्यायाधीश गौरी ढकाल, ‘नेपाली संस्कृतिको महत्त्व र पाश्चात्य संस्कृतिको बढ्दो प्रभाव’ शीर्षकको सत्रमा संस्कृतिविद् डा जगमान गुरुङ र अमर गिरी (विद्यावारिधि), ‘फेकन्यूज र नेपालको पत्रकारिता’ सत्रमा वरिष्ठ पत्रकार युवराज घिमिरे, पत्रकार माधव बस्नेत र जगदीश खरेलले गहन प्रस्तुति राखेका थिए ।

त्यस्तै, ‘लोकतन्त्र स्थापित गर्न गीत सङ्गीतले खेलेको भूमिका’ मा वरिष्ठ सङ्गीतकार विश्वनाथ बराल, साहित्यकार धीरेन्द्र प्रेमर्षी र वरिष्ठ सङ्गीतकार शम्भुजीत बाँस्कोटा र ‘नेपालले अपनाउनुपर्ने सुरक्षा नीति’ माथि पूर्वसचिव डा गोविन्द कुसुम, उपरथी (अ.प्रा) अनन्त कार्की र प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले सम्बोधन गरका थिए ।

कविता सत्रमा केशव सिलवाल र महेश पौडेलले कविता वाचन राखेका थिए । समारोहमा विद्यार्थीले हिमाली लोकगीत, साकेला, कौडा, मगौता, मारुनी, मिथि, छलिया, धिमे, देउडालगायतका सांस्कृतिक नृत्य, शास्त्रीय सङ्गीत, विद्यार्थी राजनीतिका विषयमा नाटकलगायतका प्रस्तुति दिएका थिए ।

मेलामा बिक्रीका लागि पुस्तक, ढाका टोपीलगायत स्थानीय खानेकुराका विभिन्न रैथाने परिकारका ‘स्टल’ राखिएको थियो । कार्यक्रममा पूर्वप्रधानन्यायधीश मीनबहादुर रायमाझी, महान्यायाधिवक्ता डा पोखरेल, पूर्वन्यायाधीश गौरी ढकाल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, बागमती प्रदेशसभा सदस्य किरण थापालगायतले मन्तव्य राखेका थिए ।

क्याम्पसका कार्यकारी निर्देशक प्रा डा युवराज सङ्ग्रौलाले भाषा, साहित्य तथा संस्कृति मेला अपेक्षा गरिएभन्दा भव्य एवं सानदार भएको र यसलाई अभियानकै स्वरूपमा अघि बढाइने धारणा राखेका थिए । कार्यक्रमको सभापतित्व क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्वसचिव डा गोविन्द कुसुमले गरेका थिए । मेलाको सहआयोजक भक्तपुरको सूर्यविनायक नगरपालिका रहेको थियो ।

Thuprai - Books and E-books