नेपाली भाषालाई मातृभाषा वा राष्ट्रिय भाषाका रूपमा स्वीकारिएको छ । नेपाली भाषाको इतिहास त्यति धेरै लामो छैन । नेपाली भाषाको उत्पत्ति मध्ययुगीनकालमा पश्चिम नेपालमा अवस्थित खास राज्यमा भएको थियो । खसहरूले ‘खस कुरा’ भनेर भाषा बोल्थे, जसलाई आधुनिक नेपाली भाषाको उत्पत्तिको रुपमा हेर्न सकिन्छ । खस कुरा भने संस्कृतबाट धेरै प्रभावित भएको देख्न सकिन्छ र बिस्तारै बिस्तारै विकसित हुँदै नेपाली भाषाका रूपमा परिमार्जन भएको इतिहासबाट बुझ्न सकिन्छ ।
त्यसैगरी १८ औं शताब्दीमा राजा पृथ्वीनारायण शाहको शासनकालमा नेपालको एकीकरणले नेपाली भाषाको विकास र प्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । राजा पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीले आफ्नो नवगठित राज्यलाई थप एकीकरणका क्रममा नेपाली भाषाको प्रयोग एवं प्रबर्धन गरेका थिए । त्यसपछि पनि विभिन्न साहित्यिक गतिविधि वृद्धि भएसङ्गै कवि र लेखकहरूले नेपालीमा रचना गर्न थाले । यसले भाषालाई अझ स्तरीकृत र समृद्ध बनाउन थप मद्दत ग¥यो । महाकाव्य रामायणलाई नेपालीमा अनुवाद गर्ने भानुभक्त आचार्यजस्ता प्रख्यात साहित्यिक साधकले पनि नेपाली भाषाको विकासमा महत्वपूर्ण योगदान पु¥याए ।
नेपाली भाषा संस्कृत जस्तो पुरानो एवं लामो इतिहास बोकेको भाषा होइन । विभिन्न लेखहरुमा उल्लेख भएअनुसार नेपाली भाषा औपचारिक पठनपाठनको भाषा भएको करिब एक शताब्दी मात्रै भएको देखिन्छ । यसो हेर्ने हो भने त नेपाली भाषा विकासकै चरणमा छभन्दा फरक नपर्न सक्छ । तर विडम्बना अहिले नेपाली समाजमा नेपाली भाषाको महत्व वा प्रयोग घट्दै गइरहेको देखिन्छ । अङ्ग्रेजी भाषाप्रतिको लगाव वा आकर्षणले नेपाली भाषालाई असर पुर्याएको मान्न सकिन्छ ।
नेपाली भाषामा अङ्ग्रेजीकरण यति धेरै बढेको छ कि हामी एक–दुई वटा अंग्रेजी शब्द नघुसाई सग्लो वाक्य बोल्न नसक्ने अवस्थामा पुगिसको छौँ । यो हामी सबैका लागि लज्जास्पद कुरा हो । जब भारतमा अङ्ग्रेजले शासन गर्न थाले, उनीहरुलाई अङ्ग्रेजी बोल्न जान्ने र बुझ्ने मानिस चाहिन थाल्यो । त्यसपछि अङ्ग्रेजहरुले नयाँ शिक्षा नीति ल्याए । अङ्ग्रेजी पढ्ने र बुझ्नेलाई थप सुविधा एवं तलब दिन थालियो । मानिसको मोह आफ्नो भाषाभन्दा बढी अङ्ग्रेजी भाषातिर केन्द्रित हुन थाल्यो । जसको प्रभाव नेपालमा पनि देखिन थाल्यो । यता पनि अङ्ग्रेजी भाषाको प्रभावले छुन थाल्यो भनेर रेवतीरमण खनालले आफ्नो पुस्तक ‘राजनीति कुसुमाकर’मा उल्लेख गरेका छन् ।
भाषाको माध्यमबाट हामी आफ्नो विचार व्यक्त गर्छौँ । आफूलाई मनमा लागेको कुरा अभिव्यक्त गर्छौँ । हामी अधिकांश कुनै पनि क्षेत्रमा गएर पूर्ण रुपमा न अङ्ग्रेजी बोल्न सक्छौं न त नेपाली । अङ्ग्रेजी बोल्न नसक्नु लाज होइन, आफ्नो राष्ट्रिय भाषा पनि शुद्धसँग बोल्न नसक्नु लाज हो । अहिले झन्पछि झन् नेपाली भाषा विकृत हुँदैछ । कुनै पनि सरोकारवालाको चासोको विषय हुन पुग्दैन हाम्रो भाषा, कला, साहित्य, संस्कृति । किन अहिले आफ्नै भाषा हाम्रा लागि कठिन भइरहेको छ ? के कारणले गर्दा यस्तो अवस्था सिर्जना भयो ? अब सोच्ने बेला आइसकेको छ ।
कुनै पनि देशमा आफ्नो राष्ट्र भाषाभन्दा फरक भाषा (अङ्ग्रेजी भाषा)मा शिक्षा दिने व्यवस्था छ, ती देशमा विकास पनि ढिलो भएको पाइन्छ । जुन शिक्षा अङ्ग्रेजी भाषामा छ वर्षमा पाइन्छ, त्यही शिक्षा आफ्नै राष्ट्र भाषामा पाउने हो भने एक वर्षमा पूरा गर्न सकिन्छ भनेर नेपाली कानुनका अनुसन्धानकर्ता एवं विश्लेषक रेवतीरमण खनालले लेखेका छन् । हामी सबैले आफैं हेरौं न । जुन देशले आफ्नो राष्ट्रिय भाषामा शिक्षा दिएको छ त्यो देशले तीव्र विकास गरेको छ । जस्तैः जापान ,चीन, जर्मनी, फ्रान्स आदि । अङ्ग्रेजीमा शिक्षा दिने अफ्रिकी राष्ट्रहरू, नेपाल, भारत लगायत धेरै देशले चाँडो उन्नति गर्न सकेका छैनन् ।
के कारणले हामीलाई आज आफ्नै भाषा बाधक हुन पुगेको छ ? आज हामी किन अङ्ग्रेजी भाषालाई बढी महत्व दिँदै छौं ? हाम्रो देशको शिक्षा नीतिमा विदेशी प्रभाव देखिन्छ । विदेशीबाट प्रभावित भएका छौँ । हाम्रो पाठ्यक्रम पनि त्यहीअनुरुप तयार गरिन्छ र पढाइन्छ । अङ्ग्रेजी बोल्न र बुझ्न सक्ने विद्यार्थी पढाइमा राम्रो हुन्छन् तर आफ्नो राष्ट्रिय भाषा शुद्धसँग बोल्न सक्ने कमजोर भनेर एउटा मानसिकता विकास गरिएको छ । जब आफ्नो राष्ट्रिय भाषा सिक्ने उमेर हुन्छ तब उसलाई विद्यालयमा भर्ना गरिन्छ । भर्खर बोल्न सिकिरहेको बच्चालाई अङ्ग्रेजी भाषाबाट यति प्रभावित गरिन्छ कि त्यो बच्चा घरमा पनि आफ्नो बाबु आमासँग अङ्ग्रेजीमा बोल्न थाल्छ । आफ्ना छोराछोरी अङ्ग्रेजी बोलेको देखेर बाबुआमा पनि बडो गौरव महसुस गर्छन् ।
जबसम्म शिक्षा नीति परिवर्तन हुँदैन तबसम्म यो प्रकोप कम हुन सक्दैन भनेर भन्दा फरक नपर्ला । हाम्रो पाठ्यक्रममा सरदर ८–९ वटा किताब हुन्छन् । तीमध्ये बढीमा १–२ वटा नेपाली भाषामा पढाइ हुन्छन् । जब अरु विषयमा नेपाली बोलिन्छ, तब दण्ड जरिवाना तिर्नुपर्छ भनेर चेतावनी दिइन्छ । उसलाई अङ्ग्रेजी बोल्न बाध्य बनाइन्छ । विद्यार्थीको स्कुले जीवनभर यो अवस्था जारी रहन्छ । यो त्यत्तिमै रोकिँदैन । जब विद्यार्थी आफ्नो आफ्नो क्षेत्रमा जान थाल्छन् तब उनीहरुलाई अनुभुति हुन्छ आफ्नो भाषा कति कमजोर छ भनेर । न अङ्ग्रेजीमा पूर्ण दख्खल, न त नेपालीमा । आफ्नै भाषा पनि बाधक हुन पुग्छ । आफूलाई मनमा लागेको कुरा बोल्दा पनि अङ्ग्रेजी भाषाको सहयोग लिनुपर्छ । स्वतन्त्र राष्ट्रलाई विदेशीको सहयोग चाहिएको जस्तो गरी नेपाली बोल्दा अङ्ग्रेजी भाषाको सहयोग लिए जस्तो ।
त्यति मात्र होइन, अङ्ग्रेजी भाषामा कमजोर भएका विद्यार्थी विभिन्न कार्यक्रमबाट बन्चित हुन पुग्छन्। । अङ्ग्रेजी भाषाले स्कुल, कलेजमा कयौं विद्यार्थीको विचार पनि दबेको हुन्छ । आफ्नो अङ्ग्रेजी कमजोर छ भन्ने सोचले गर्दा कैयौँ विद्यार्थी सबैको अगाडि डराउनुपर्ने अवस्था सिर्जना भएको छ । अङ्ग्रेजी भाषा बढी बोल्ने, बुझ्ने साथीको अगाडि आफू त केही पनि होइन भन्ने अनुभूति गर्छन् । अङ्ग्रेजी कमजोर भएका विद्यार्थी अङ्ग्रेजी बोल्नुपर्छ भनेर विभिन्न अवसरबाट बन्चित हुनुपरेको छ ।
पश्चिमी सभ्यता, त्यहीँको भाषा, संस्कृति चाहिँ राम्रो तर पूर्वीय सभ्यता र त्यहीँको भाषा भने असभ्य भन्ने मानसिकताले गर्दा पनि अहिले हाम्रो भाषाप्रतिको महत्व कम भैरहेको देखिन्छ । बढ्दो पश्चिमीकरण, विदेशी प्रभाव, विश्वव्यापीकरण, वैदेशिक रोजगारी एवं देशका राजनीतिज्ञको कम चासोले गर्दा आज हाम्रो भाषा, कला, साहित्य, संस्कृति मौलाउनुको सट्टा लोप हुँदै गएको छ । हाम्रो भाषा सभ्यताको सूचक मात्र नभई देश–विदेशमा हामी नेपालीको पहिचान, प्रतिष्ठा र प्रभावको मुख्य आधार पनि हो । त्यसैले पनि भाषा साहित्य हाम्रो मुख्य चासोको विषय हुनुपर्छ । जब भाषा लोप हुन्छ तब त्यहाँको चिनारी पनि लोप हुन्छ । भाषाले हाम्रो कला, संस्कृतिलाई पनि उजागर गरेको हुन्छ । भाषाले हाम्रो पुर्खाको बलिदान, उनीहरुको सङ्घर्षलाई कदर गर्छ । त्यसैले भाषालाई मुख्य चासोको विषय बनाउने हो भने त्यहाँको परम्परा, सभ्यता, संस्कृति एवं इतिहास पनि सधै अमर हुन्छ ।
अब पनि नेपाली यस कुरामा गम्भीर हुन नसक्ने हो भने भाषा, कला, साहित्य र संस्कृतिमा पाश्चात्य चिन्तनको प्रभाव अझ थप बढ्न सक्छ भन्ने कुरामा कुनै सन्देह छैन । हाम्रो मौलिक भाषा, साहित्य र संस्कृतिलाई पूर्णविराम लाग्न दिनु हुँदैन । अब नेपाली भाषा संस्कृतिलाई प्रबर्धन गर्ने अभिभारा हामी युवा पुस्तामा छ । हाम्रो नेपाली मौलिक भाषा, सभ्यता र संस्कृति बचाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ ।
लेखक काठमाडौँ स्कुल अफ लका विद्यार्थी हुन् ।