लमजुङमा पाठ्यपुस्तक अझै पुग्न सकेको छैन । नयाँ शैक्षिकसत्र सुरु भएको २० दिन पुगिसकेको भएपनि अझै जिल्लामा नयाँ पाठ्यपुस्तक अभाव हुँदा शिक्षणसिकाइ प्रक्रिया प्रभावित भएको छ ।
मस्र्याङ्दी गाउँपालिका–३ खुदीस्थित अमर माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययरत सोनिका गुरुङ विद्यालय जान थालेको दुई हप्ता भयो । तर उनले अझै पनि पुरै पाठ्यपुस्तक पाउन सकेकी छैनन् । हालसम्म उनले पाँच ओटा किताब प्राप्त गरेकीछिन् । चारवओटा पाठ्यपुस्तक अझै नपाउँदा अध्ययनमा समस्या भएको उाले गुनासो गरिन् ।
सोनिका जस्ता जिल्लाका हजारौँ विद्यार्थीको एउटै दुःखेसो छ । करिब दुई वर्ष कोरोना महामारीका कारण पठनपाठन प्रभावितपश्चात सुरु हुन लागेको नयाँ शैक्षिकसत्रको पढाइ पनि पाठ्यपुस्तक अभावले प्रभावित भएको छ । विद्यार्थी चिन्तित छन् । समयमै पाठ्यपुस्तक उपलब्ध नगराएर भविष्यमाथि खेलवाड गरेको विद्यार्थीको आरोप छ ।
पाठ्यपुस्तक अभावले शिक्षक शिक्षिकालाई समेत पिरोलेको छ । सरकारले पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउने भनेको छ । बेँसीसहर नगरपालिका–७ स्थित जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक रत्नमान श्रेष्ठले भने, ‘पठनपाठन सुरु भएको यतिका समय हुँदासमेत किताब उपलब्ध नहुँदा समस्या भएको छ ।’
बेँसीसहर–७ चण्डीडाँडास्थित जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु थापा किताब उपलब्ध हुन कति समय लाग्छ भन्न सकिने अवस्था नभएको बताए । स्थानीय तह निर्वाचनका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको पुस्तक पसल सञ्चाल बताउँछन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख वीरबहादुर गुरुङका अनुसार विद्यालयले पुरानै पाठ्यपुस्तकबाट पठनपाठन गराउँदै आएका छन् ।
‘जतिसक्दो चाँडो किताब जिल्लामा उपलब्ध गराउनका लागि पहल गरेका छौँ’, उनले भने। जिल्लामा सामुदायिकतर्फ ३३६ र निजीतर्फ ३३ विद्यालय छन् । सामुदायिक विद्यालयमा झण्डै २६ हजार र निजीतर्फ नौ हजार विद्यार्थी अध्ययनरत छन् ।