Bachelors Portal

बालगृहको विस्तारका लागि अर्थाभाव

गलेश्वर, २५ माघ (रासस) ः म्याग्दीको सदरमुकाम बेनीमा अनाथ बालबालिकाको आश्रय र शिक्षादिक्षाका लागि सञ्चालित धौवलागिरि क्षेत्रकै एकमात्र बालगृह ‘म्याग्दी बालगृह’को क्षमता र पूर्वाधार विस्तारका लागि अर्थाभाव भएको छ । 

नेपाल बाल सङ्गठन म्याग्दीद्वारा सञ्चालित बाहगृहमा आश्रित बालबालिकाका लागि भौतिक पूर्वाधारको समस्या भएपछि पूर्वाधार विस्तार गर्न अर्थाभाव भएको बाल सङ्गठन म्याग्दीका सभापति नेत्रबहादुर महतले बताउनुभयो । सभापति महतले अनाथ बालबालिकाको सुविधा र सहजताका लागि पूर्वाधार विस्तार गर्न लागिएकाले यथाशक्य आर्थिक सहयोग गर्न मनकारी व्यक्ति, सङ्घसंस्था तथा विभिन्न निकायलाई आग्रह गर्नुभयो । 

सङ्गठनले बिहीबार साँझ बेनीमा एक कार्यक्रमको आयोजना गरेर अनाथ बालबालिकाले आश्रय लिँदै आएको बालगृहको थप भवन निर्माणका लागि सहयोग सङ्कलन अभियान शुरु गरिएको जानकारी गराएको हो । 

सङ्गठनका सभापति महतले दुईतले छ कोठे भवन निर्माण गर्न लागिएको बताउँदै भवन निर्माणका लागि रु ५५ लाख लागत अनुमान गरिएको जानकारी दिनुभयो । 

चालू आर्थिक वर्षमा बेनी नगरपालिकाले रु पाँच लाख विनियोजन गरेको भवन निर्माण योजनाका लागि थप रु ५० लाख जुटाउन विभिन्न दाता, व्यक्ति तथा सहयोगी सङ्घसंस्थाको खोजी गरिएको उहाँको भनाइ थियो । 

बालगृहमा हाल म्याग्दी, बागलुङ र पर्वतका गरी सात बालिकासहित १२ अनाथ बालबालिका आश्रित छन् । बुबाआमा दुवै नभएका बालबालिकालाई बालगृहमा आश्रय दिएर एसइईसम्मको शिक्षाको व्यवस्था मिलाइएको छ । विसं २०४८ मा स्थापना भएको बालगृहमा आश्रय लिएर हालसम्म २० भन्दा बढी अनाथ बालबालिकाले एसइईसम्मको अध्ययन गरेको सङ्गठनले जनाएको छ । 

बालगृह भवनको सटर भाडा, अक्षयकोषको ब्याज, विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले उपलब्ध गराउने नगद तथा जिन्सी सामग्री सहयोगको भरमा बालगृह सञ्चालन हुदै आएको छ । 

Thuprai - Books and E-books