Bachelors Portal

'गुणस्तरमा पहिलाे स्थानमा छाैँ'

Managed Admission 2022

काठमाडौँ विश्वविद्यालयले स्थापनाको ३० वर्ष पूरा गरेको छ । विश्वविद्यालयले आज वुधबार २७ औँ दीक्षान्त समारोहको आयोजना गर्दैछ । तीन दशकको अवधिमा करिब ३८ हजार विद्यार्थीका हातमा काठमाडौँ विश्वविद्यालयको प्रमाणपत्र पुग्न सफल भएको छ । विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने गरेको दावी गर्दै आएको छ । विश्वविद्यालयले नयाँ पदाधिकारी प्राप्त गरेपछि शैक्षिक कार्यक्रमलगायतमा सुधार र परिवर्तन ल्याउन रणनीति तयार गरेको छ । विश्वविद्यालयको ३० औँ वार्षिकोत्सवका सन्दर्भमा विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टका एसोसिएट डिन प्रा.डा. अच्युत वाग्लेसँग गरिएको कुराकानीको संक्षेप प्रस्तुत छ–

शिक्षामा काठमाडौँ विश्वविद्यालयको योगदान कसरी स्मरण गर्नुहुन्छ ?

काठमाडौँ विश्वविद्यालयले धुलिखेलमा मुख्य कार्यालय र क्याम्पस बनाएपछि मुलुक तथा समुदायलाई दुई खालका आर्थिक योगदान पुगेको छ । सबै शैक्षिक संस्थाले दक्ष जनशक्ति उत्पादन गरेको र गुणस्तर कायम गरेको भनेर प्रचार गर्नु एउटा कुरा हो तर हामीले उत्पादन गरेका जनशक्तिका साथमा रहेको प्रमाणपत्रले नेपालको इतिहासमा पहिलो पटक विश्वमै समान रूपमा स्वीकृति पाएको छ । नेपालबाट एमए पूरा गरेर विदेश गएपछि पनि फेरी बीए पढ्नुपर्ने चलनलाई काठमाडौँ विश्वविद्यालयको स्थापनाले अन्त्य गरेको हो । अहिले पनि विद्यार्थीहरू काठमाडौँ विश्वविद्यालयमै पढ्ने र नभए विदेश जाने सोच राख्दछन् । इन्जिनियरिङ, चिकित्साशास्त्र, व्यवस्थापन लगायतका विद्यार्थीमा त्यो खालको सोच र छाप बसेको छ । मुलुकको जनशक्ति व्यवस्थापनमा यस विश्वविद्यालयको योगदान महत्वपूर्ण रहँदै आएको छ । खास गरी कर्पाेरेट हाउसमा प्रयोग हुने सीप काठमाडौँ विश्वविद्यालयकै छ । बैँक, विमालगायतका व्यवस्थापन क्षेत्र वा इन्जिनियरिङ वा विज्ञान वा कम्प्युटर इन्जिनियरिङ सबैमा हाम्रा उत्पादित जनशक्ति छन् । 

अहिले जति नै वादविवाद भए पनि अहिले नेपालमा क्रियाशील साढे ३१ हजार चिकित्सकमध्ये ५० प्रतिशत काठमाडौँ विश्वविद्यालयकै उत्पादन हो । यति छोटो समयमा मुलुकमा कार्यरत चिकित्सकको आधा हिस्सा यहाँको उत्पादनले ओगट्नु महत्वपूर्ण मान्नुपर्छ । यस विश्वविद्यालयको नर्सिङ, फिजियोथेरापी लगायतबाहेक एमबीबीएस र त्यसपछिको विशेषज्ञता हासिल गरेका चिकित्सकको मात्र कुरा गर्ने हो भने पनि नेपालको आर्थिक तथा सामाजिक विकासमा योगदान महत्वपूर्ण रहँदै आएको छ । 

धुलिखेल एउटा सामान्य गाउँ जस्तो थियो । अहिले धुलिखेलमा विश्वविद्यालय हाइस्कुल छ । त्यो गुणस्तरीय शिक्षाको लागि एकदमै अब्बल विद्यालय हो । धुलिखेल र खासगरी काभ्रेको बनेपा, पनौती, श्रीखण्डपुर, पाँचखालसम्मको अर्थतन्त्रलाई विश्वविद्यालयले योगदान गरेको छ । त्यहाँको सहरीकरण र आधुनिकीकरणमा छुट्टै योगदान छ । धुलिखेलमात्र होइन अरू दूरदराजका ठाउँमा पनि ‘कम्युनिटी इन्गेजमेन्ट’मा विश्वविद्यालयको योगदान रहँदै आएको छ । सामुदायिक तहको संलग्नताका हिसाबले त्यो भूमिका हो । विश्वविद्यालयका विद्यार्थीलाई समुदायमा लगेर र त्यहाँ स्थायी केन्द्र स्थापना गरेर खोज तथा अनुसन्धान गर्ने गरिएको छ । त्यहाँको जीवनस्तर सुधारका लागि विश्वविद्यालयका साथै युनिभर्सिटी अस्पतालका रूपमा रहेको धुलिखेल अस्पतालले पनि ठुलो योगदान दिँदै आएको छ । अहिले त्यस्ता सामुदायिक केन्द्रहरूको सङ्ख्या झण्डै ३० को हाराहारीमा पुगेको छ । आय आर्जनदेखि आर्थिक–सामाजिक अनुसन्धानका कुरा यो विश्वविद्यालयको योगदान सबैलाई थाहा भएकै विषय हो । 

गुणस्तरको दावी कुन आधारमा गर्नुहुन्छ ?

सामान्यतः विश्वविद्यालय अनुदान आयोगले दिने थोरै अनुदानबाहेक यो विश्वविद्यालय विद्यार्थीको शुल्क र यसका सुभेच्छुकले दिने अनुदान तथा हाम्रो अनुसन्धान वा खोज ‘कन्सल्टेन्सी’बाट प्राप्त हुने आम्दानीका आधारमा चलेको विश्वविद्यालय हो । त्यति हुँदा पनि हामीले ३० वर्षमा झण्डै ३८ हजार विद्यार्थी दीक्षित गरिसकेका छौँ । त्यसरी हेर्दा राज्यको ढुकुटीमा कतैबाट पनि दवाव नपारिकन यत्रो योगदान गर्न सक्नु महत्वपूर्ण कुरा हो । कसैले प्रश्न गर्न नपर्ने गरी गुणस्तर स्थापना भएको छ । सात वटा स्कुलमार्फत विशिष्टीकृत अध्यापन भइरहेको छ । सबै स्कुल (संकाय) अब्बल छन् । संसारका विश्वविद्यालयको र्याङ्किङको हरेक सूचीमा काठमाडौँ विश्वविद्यालय सधैँ नेपालको नम्बर एक विश्वविद्यालयका रूपमा रहँदै आएको छ । यो गुणस्तरमा र्याङ्क भएको हो । त्यसो भएको हुनाले यी सबै कुरालाई दृष्टिगत गरेर हामीले जुन अनुभव, ज्ञानको भण्डार, खोज र प्राज्ञिक प्रकाशनमार्फत सेवा गरिरहेका छौँ त्यसको लाभ सिङ्गो देशले पाओस् त्यो विस्तारित होस् भन्ने कुरामा हामी सचेत छौँ । यसबाट सरकारले पनि लाभ लिनुपर्छ भन्ने चाहन्छौँ ।

श्रम बजारको अवस्था बेमेल छ । अलि दक्ष जनशक्ति चाहियो भने आयोजना व्यवस्थापनदेखि कर्पाेरेट सेक्टरमा विदेशबाट जनशक्ति झिकाइन्छ । खासगरी भारतबाट ल्याइन्छ र बढी तलब खाने उनीहरू हुन्छन् । नेपालीले रोजगारी नै नपाएको गुनासो गरेर बस्नुपर्ने अवस्था छ । बेमेल अवस्था भए पनि हाम्रो ‘नलेज बेस’ निर्माण भएको छ । त्यसलाई देशभरि विस्तार गर्न सकियो भने बेमेलको अवस्था रहँदैन । हाम्रै दक्ष जनशक्तिले उच्च सीप आवश्यक पर्ने र बढी तलब पाउने ठाउँमा पनि काम गर्न पाउने परिस्थिति बन्छ । अर्काे कुरा आफूले सीप सिकिसकेपछि प्रमाणपत्र छ तर रोजगारी पाइएको छैन भन्ने परिस्थिति छ । तर प्रमाणपत्र सुहाउँदो सीप र मानवीय गुण दिएर काठमाडौँ विश्वविद्यालयले योगदान गर्न खोजेको छ ।

नयाँ पदाधिकारी आइसकेपछि नयाँ सोच र योजना तय गरिएको छ र ?

विगतको एक वर्षयता यो विश्वविद्यालयले नयाँ ढङ्गले आफूलाई अगाडि बढाउने प्रयास गरेको छ । त्यो भनेको इतिहासमै पहिलो पटक हामीले आर्थिक स्वेतपत्र बनाएका छौँ । त्यो सिनेटबाट पारित भइसकेको अवस्था छ । त्यसमा विश्वविद्यालयको आर्थिक स्रोत, स्रोतको दिगोपन, विद्यार्थीदेखि आयस्रोतको बढ्दो वा घट्दो क्रम लगायतका विवरण हामीले वेबसाइटमा राखिदिएका छौँ । त्यसले काठमाडौँ विश्वविद्यालयको आर्थिक स्वास्थ्यलाई दिगो बनाएर लिएर जाने र गुणस्तरलाई विस्तार गर्ने कुरामा आर्थिक पक्ष कसरी व्यवस्थित गर्नुपर्छ भन्ने एउटा वस्तुस्थितिको चित्रण गरेको छ । त्यसका साथसाथै पहिले पनि सन् २००८ मा विभिन्न स्कुल र विश्वविद्यालयको योजना र रणनीति बनाउने कोशिस भएको थियो । त्यसबेला यसलाई व्यवस्थित ढङ्गले अगाडि बढाउने कसरत भएको थिएन । गएको १० महिनामा हामीले सातै वटा स्कुलको पाँचदेखि १० वर्षे रणनीतिक योजना बनायौँ । सबै स्कुलबाट प्राप्त भएको रणनीतिक योजना र अहिलेको नेतृत्वको दूरदृष्टि समेतलाई समावेश गरेर हामीले काठमाडौँ विश्वविद्यालयको रणनीति योजना पूरा गरेका छौँ । आगामी दिनमा हामीले गर्ने गतिविधिको मार्गचित्र त्यही रणनीतिक योजनाअनुसार हुनेछ । त्यो मार्गचित्र भनिरहँदा यसमा भएका मुख्य गरी तीन वटा अहम् पक्ष छन्– पहिलो चाहिँ यो विश्वविद्यालयलाई आत्मनिर्भर बनाउने । अहिले चलिरहेको छ तर अलिकति विस्तार गरेर जाँदा पनि यो आत्मनिर्भर हुनसक्ने ढङ्गले अगाडि जानेछौँ ।

अहिले झण्डै १७ हजार विद्यार्थीहरू पढिरहेका छन् । त्यति विद्यार्थीको सङ्ख्यामा र जति संकाय तथा विषयमा पढाइ भइरहेको छ त्यतिमा सन्तुष्ट नभएर त्यसलाई अलि विस्तार गरेर लिएर जाने तथा पहुँच विस्तारको पनि विचार गरेका छौँ । अहिलेसम्म काठमाडौँ विश्वविद्यालयको इन्जिनियरिङ र खासमा सम्बन्धन प्राप्त मेडिकल कलेजहरू देशभरि छन् । व्यवस्थापनमा बीबीए, एमबीए नेपालको सबैभन्दा उच्च माग भएको डिग्री हो । तर त्यसको लाभ काठमाडौँ बाहिरका मानिसले पाइरहेका छैनन् । हामीहरूको जस्तो अनुभव, ज्ञान भएका, स्वदेश विदेशमा तालिम प्राप्त फ्याकल्टीहरू हुनुहुन्छ त्यसको लाभ सिङ्गो देशले प्राप्त गरोस् भन्ने चाहन्छौँ । त्यसैले अब पहिलो आर्थिक आत्मनिर्भरता, दोस्रो कार्यक्रमको विस्तार र तेस्रो संसारमा सबैभन्दा अत्याधुनिक भनिएका विषयहरूको पढाइ गर्ने यी तीन वटा रणनीति आधारमा यस विश्वविद्यालयलाई अगाडि बढाउने सोचमा छौँ । उदाहरणका लागि आर्टिफिसियल इन्टिलिजेन्सको ब्याचलर र मास्टर डिग्रीमा पढाइ सुरू गरेका छौँ । हाम्रो वातावरणलाई सुहाउँदो हिमनदी अध्ययन अरू देशमा छैन । विश्वव्यापी पर्यावरण परिवर्तनको यत्रो चर्चा छ तर हिमालयमा के भइरहेको छ भन्ने अध्ययन कम भइरहेको हुनाले हिमनदी अध्ययन हामीले सुरू गरेका छौँ । कृषिका धेरै ढङ्गबाट पढाइ भए । अब कृषिको व्यावसायीकरण र बजारीकरणसमेत गरी कृषि अर्थतन्त्रको स्वरूपलाई समेट्ने गरी काभ्रेको पाँचखालबाट अध्ययन अध्यापन सुरू गरेका छौँ । ‘बिग डेटा ल्याब’ अहिलेसम्म नेपालमा छैन । अब एक डेढ वर्षमा ‘बिग डेटा ल्याब’ स्थापना गरेर त्यसका आधारमा व्यवस्थापन निर्णय कसरी लिइन्छ भन्ने बारेमा अध्यापन गराउने सोच राखेका छौँ ।

केयुको शुल्क महँगो भयो भन्ने गुनासा छन् नि ?

हामीले ‘कम्युनिकेट’ गर्न सकेनौँ र अहिले हाम्रा डिग्रीका शुल्कको संरचना ‘मिडिल रेन्ज’मा पनि होइन ‘लोअर रेन्ज’मा ‘फी चार्ज’ गर्नेमा पर्दा रहेछौँ । अरू विश्वविद्यालयसँग सम्बन्धन लिएका, बढी प्रचार गरेका निजी कलेजहरूले एमबीएको शुल्क नै १० देखि १५ लाख रूपियाँसम्म लिएको हामीले भेट्छौँ । तर हाम्रो सस्तो छ । बीबीएको कोर्स हामीले सात, आठ लाख रूपियाँमा पढाइरहेका छौँ । पहिले सुरू गर्दाको हिसाबमा बढी थियो होला, त्यही ‘म्यासेज क्यारिओभर’ भएर होला महङ्गो भनिएको । यसका लाभग्राहीसम्म यथार्थ जानकारीका साथ पुग्न सकेका छैनौँ । तुलना गरेर हेरिदिनुभयो भने अरू निजी कलेज वा अरू विश्वविद्यालयको औषतभन्दा तल नै छ । शुल्क बढी छ भन्ने छैन । आफ्नै स्रोतले सञ्चालन गर्नुपर्ने र गुणस्तर पनि कायम गर्नुपर्ने भएकाले सरकारी अनुदानका कलेज जस्तो पढाए पनि अनुदान पाइरहने, स्रोत परिचालन गर्न पाउनेभन्दा यो विश्वविद्यालय अलि फरक छ । त्यो स्वभाविक हो ।

र्याङ्किङको एक नम्बरमा छौँ भन्ने आधार के हो ?

विश्वका धेरै संस्थाले तयार गर्ने गरेका र्याङ्किङमा हेर्नुभयो भने पुरानोका हिसाबले एक नम्बरमा त्रिभुवन विश्वविद्यालय भए पनि गुणस्तरका हिसाबले काठमाडौँ विश्वविद्यालय नै छ । यसका धेरै मानक छन् । रिसर्च पेपर कति प्रकाशित भएका छन्, उत्पादित जनशक्ति कति प्रतिशतले रोजगारी पाएका छन्, प्रमाणपत्र सरह रोजगारी पाएका छन् कि छैनन् यस्ता मानकका आधारमा सबैमा काठमाडौँ विश्वविद्यालय अगाडि छ । 

विश्वविद्यालयका अनुसन्धान आममा पुग्न सकेन, थन्किए भन्ने आरोपका बारेमा के भन्नुहुन्छ ?

यसमा दुई वटा कुरा छन् । एउटा हाम्रो ‘अप्लाइड रिसर्च’ छ । काठमाडौँ विश्वविद्यालयको ‘अप्लाइड रिसर्च’ सम्भवतः सबैभन्दा बढी प्रयोगमा आएको छ । उदाहरणका लागि ग्रिन हाइड्रोजन उत्पादनको तयारी सुरू गरेका छौँ । प्रदूषणरहीत इन्धनको रूपमा त्यसको खोज, अनुसन्धान हामीले गरेका छौँ । त्यसको व्यावसायिक उत्पादन सरकारले गर्न चाहेमा हामी तयार छौँ । त्यस्तै चिकित्सा क्षेत्रमा मानसिक स्वास्थ्य, फोक्सो अनुसन्धान केन्द्र यस्ता खालका अनुसन्धान भएका छन् ।नेपालमा मार्ग प्रदर्शक खालका अनुसन्धान भएका छन् । त्यसका अतिरिक्त बागमती प्रदेशस्तरको तरकारी बालीको बजार सम्भाव्यताबारे काठमाडौँ विश्वविद्यालयले गरिदिएको थियो । प्रदेशमा कृषि नीति बनाउने हिसाबले कृषिको सम्भाव्यताबारेमा अध्ययन गरिएको थियो । सार्वजनिक प्रशासन, सङ्घीयता यस्ता धेरै क्षेत्रमा अनुसन्धान गरेर सरकारलाई सहयोग गरिरहेका छौँ । यस्तो अनुसन्धान गर्ने काठमाडौँ विश्वविद्यालय नेपालकै एकल विश्वविद्यालय हो ।

काठमाडौँ वरपरमात्रमा रह्यो, यो घेराभन्दा बाहिर जान सकेन भन्ने गरिएको छ । किन बाहिर विस्तार हुन चाहनु भएन ?

काठमाडौँ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त मेडिकल कलेज पोखरासम्म पनि छ । अहिले स्रोत साधन र पहुँचका आधारमा हामी यता केन्द्रीत भयौँ । अब हामी फरक फरक मोडालिटी तय गर्छौँ । कुन मोडालिटीमा सबल पक्षको लाभ सिङ्गो शिक्षा प्रणाली र आर्थिक–सामाजिक विकासमा प्रयोग हुनेछ भन्ने कुरामा हामी सचेत छौँ ।

स्थापना हुँदा केयु विज्ञान र व्यवस्थानमा केन्द्रीत थियो, अब गैरविज्ञानमा बढी केन्द्रीत छ भन्ने गुनासा छन् नि ?

विज्ञानमा इन्जिनियरिङ, मेडिकल साइन्स, कम्प्युटर साइन्स, बायोटेक्नोलोजी लगायतका विषय अहिले पनि महत्वपूर्ण छ । यसका अतिरिक्त हामीले शिक्षामा स्नातकोत्तर मात्र पढाउँथ्यौँ भने अहिले कक्षा १२ सम्मका विद्यार्थीलाई पढाउने जनशक्ति उत्पादन होस् भनेर स्थानीय शिक्षण संस्थाको सहकार्यमा डिग्रीलाई विस्तार गरेका छौँ । गैरसाइन्समा मात्र ‘फोकस’ गरेको भन्ने होइन । व्यवस्थापन पनि विज्ञान नै हो । हाम्रा विद्यार्थी देशभरिबाट आएका छन् र व्यवसायिकता उद्यमशीलता विकास गर्ने कुरामा देशभरि फैलिएको छ ।   

Select college / campus