
आगामी चैत्र २६ गते काठमाडौं युथ कनक्लेभ २०७८ आयोजना हुने भएको छ । युनीभर्सल कलेज, न्यु समिट कलेज, अपोलो इन्टरनेशनल कलेज, काठमाडौं मोडेल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, सगरमाथा उच्च माध्यमिक विद्यालय तथा हिमालय कलेज अफ इन्जिनियरिङ्गको संयुक्त आयोजनामा सो कार्यक्रम आयोजना गरिने भएको हो ।
युवायुवतीहरुको समुदायलाई एउटै मञ्चमा ल्याइ देशको विभिन्न क्षेत्रमा ख्यातीप्राप्त, अनुभवी तथा उल्लेख्य प्रगती गरेका व्यक्तिहरुको ज्ञान, सीप, अनुभव बाँडी यो वर्गलाई देशको चौतर्फी विकासमा योगदान पुर्याउन युवालाई उत्साहित, अभिप्रेरित तथा दिशानिर्देश गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जानकारी दियो ।
युवायुवतीलाई विदेश जानुभन्दा यही देशमा सम्भावना खोज्न उत्साहित गरि नेपालमै शिक्षा प्रदान गरी देशको आर्थिक विकासमा सक्रिय नेतृत्व दिइ स्वरोजगारका अवसर सृजना गरी राष्ट्र सेवामा अभिप्रेरित गर्न यस कार्यक्रमको भूमिका रहने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र क्षेत्रका करिब ५ हजार युवाहरूको सहभागिता रहने जनाइएको छ । कलेजहरूद्वारा आयोजित युवाहरू (विशेषतः प्लस टु तथा ब्याचलरका विद्यार्थीलगायत अन्य) को सहभागिता रहेन आयोजकले जानकारी दियो । युथ आइकन गायक सुशान्त के.सी., नेपाली कांग्रेसका महामन्त्री गगन थापा, जाउलाखेल ग्रुप अफ इन्डष्ट्रिजका मेनेजिङ डाइरेक्टर राज बहादुर शाह, कर्ण शाक्य, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, मिस वर्ल्ड नेपाल २०१९ अनुश्का श्रेष्ठ, चन्द्र ढकाल, विदुशी राणा लगायतको उपस्थिति र युवा लक्षित सम्बोधन रहनेछ ।
सो कार्यक्रममा गायक केसी लाई 'केवाईसी युथ आइकन' अवार्ड प्रदान गरिने भएको छ । रु १ लाख र सम्मानपत्र प्रदान गरिने आयोजकले जानकारी दियो ।
समाचार अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।