काठमाडौं । काठमाडौं विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (सीटीइभीटी)) लक्षित मास्टर्स डिग्री कार्यक्रम ल्याएको छ । विश्वविद्यालयको स्कूल अफ एजुकेसनले विद्यार्थीहरुलाई लक्षित गर्दै यो कार्यक्रम अघि सारेको हो ।
प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम कार्यक्रम दक्षिण एशियामै पहिलो पटक काठमाडौं विश्वविद्यालयले ल्याएको हो । प्रत्येक स्थानीय तहमा एक प्राविधिक शिक्षालयको विकास गर्ने लक्ष्य सरकारले घोषणा गरेको थियो ।
देशभर सीटीईभीटीका झण्डै ६०० आंगिक तथा सम्बन्धनप्राप्त शैक्षिक संस्थाहरु छन् । केयूले प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमको नेतृत्व र अनुसन्धान विकासका लागि आवश्यक जनशक्ति तयार गर्न यो कार्यक्रम सुरु गरेको जनाएको छ ।
स्कूल अफ एजुकेसनका डिन तथा प्राध्यापक डाक्टर महेशनाथ पराजुलीले सरकारले प्राथमिकताका साथ प्राविधिक तथा व्यावसायिक शिक्षा तथातालिमलाई अघि बढाएपछि विश्वविद्यालयले पनि आफ्नो दायित्वका रुपमा यो कार्यक्रम सुरु गरेको बताए । शैक्षिक कार्यक्रममा केयूले निश्चित संख्यामा छात्रावृत्ति समेत प्रदान गर्ने जनाइएको छ ।
हाल भर्ना प्रक्रिया जारी रहेको बताइएको छ ।