काठमाडौं महानगरका विद्यालय अर्को हप्ता खुल्ने

काठमाडौं महानगरपालिका भित्रका विद्यालय अर्को हप्तादेखि खोल्ने तयारी महानगरपालिकाले थालेको छ । सरकारले हालै लागु गरेको स्मार्ट–लकडाउन कार्यविधि अनुसार काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले विद्यालय खोल्न सक्ने स्वीकृति दिएपछि महानगरले विद्यालय खोल्ने तयारी थालेको हो ।

शिक्षा समितिका पदाधिकारीसँग छलफल गरी अर्को हप्तादेखि विद्यालय खोल्ने महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए । ‘हिजो जिल्ला प्रशासन कार्यलयले स्थानीय तहले विद्यालय खोल्न सक्ने निर्देशन दिएपछिशिक्षा समितिका पदाधिकारीसँग विभागले छलफल अघि बढाएको हो । संक्रमणको अवस्था र सरोकारवालको सुझावलाई ध्यानमा राखेर विद्यालयमा सञ्चालनमा ल्याइने शिक्षा विभागले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार डीसीसीएमसीसंग समन्वय गरेर भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने स्मार्ट लकडाउनको प्रावधानले गरेको व्यवस्था अनुसार सक्ने निर्देशन भएपछि विद्यालय सञ्चालनका लागि गृहकार्य सुरु भएको शिक्षा विभागले जानकारी दियो ।

डीसीसीएमसीले स्माट लकडाउन कार्यविधिअनुसार विद्यालय खोल्न सक्ने भनेपनि औपचारिक निर्णय नभएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।    “काठमाडौँ उपत्यकाका अन्य स्थानीय तह जस्तो महानगर होइन, यहाँ विद्यार्थीको अत्यधिक सङ्ख्या छ उनीहरुलाई सुरक्षित राख्दै पठनपाठनलाई सञ्चालन गर्नुपर्छ, त्यसका लागि छलफल भइरहेको छ ।”उनले भने, “विद्यालय उमेर समूहका १८ वर्षमुनिका बालबालिका कारोना भाइरस सङ्क्रमणबाट बढी जोखिममा रहेकाले दुई दिन खोलेर बन्द गर्दा थप समस्या उत्पन्न हुन्छ, त्यसका लागि सञ्चालन गर्नुपूर्व छलफल गर्नुपर्छ ।” 

कामपामा रहेका ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालय सञ्चालनमा छ । सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थीले पठनपाठन गर्दछन् ।  सामुदायिक विद्यालयमा एक हजार ७९१ शिक्षक कार्यरत छन् । जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको आदेशमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने भए स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले डीसीसीएमसीसंग समन्वय गरी विद्यालय सञ्चालनको निर्णय गर्न सक्ने भनेको थियो ।

कोभिड–१९ को दोस्रो लहर आएको जनाउँदै सरकारले गत वैशाख १६ गतेदेखि दोस्रोपटक लकडाउन गर्दा देशका सम्पूर्ण विद्यालय बन्द भएको थियो ।