काठमाडौं डन बोस्को कलेजको मिट फर कन्स्ट्रक्टिभ फ्युचर फर प्यानल डिस्कसन सम्पन्न

काठमाडौं डन बोस्को कलेज (केडीबीसी) ले २७ जुलाई २०२३ (२०८० साउन ११ ) मा होटल याक एन्ड यतिमा आयोजना गरेको ‘मिट फर कन्स्ट्रक्टिभ फ्युचर फर प्यानल डिस्कसन’ले नेपालको कृषि तथा शिक्षा क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरूलाई सफलतापूर्वक उजागर गरेको छ । सम्मानित एवं विशिष्ट वक्ता (प्यानलिस्ट) तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको एक साथ भएको उपस्थितिले कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण बन्यो ।

पानसमा बत्ति बालेर सुरु भएको कार्यक्रममा सबै वक्ताहरूलाई कार्यक्रम प्रमुख जमुना कार्कीले हार्दिकतापूर्वक स्वागत गर्नुभएको थियो । बोर्ड अफ डाइरेक्टर तथा प्रिन्सिपल रश्मि शर्मा मैनालीले स्वागत मन्तव्यमार्फत विचारोत्तेजक छलफलका लागि परिस्थिति निर्माण गर्नुभयो । सम्बोधनभर उहाँले नेपालको विकासका लागि युवाहरूमा आशा जगाउन र सामूहिक रुपमा हुने पलायन रोक्नका लागि सबै सरोकारवालाहरूसँग आग्रह गर्नुभयो । अध्यक्ष प्रा. डा. श्रीराम भगुत माथेले कार्यक्रमको महत्त्वबारे जोड दिँदै प्यानल छलफलका लागि आधार तयार गर्नुभयो । उहाँले वैश्विक परिस्थितिसँगै परिवर्तन हुनुको महत्त्वबारे प्रकाश पार्नुभएको थियो । यदि नेपाल विकसित देश बन्न चाहन्छ भने यसले सम्पूर्ण सकारात्मक परिवर्तनलाई अँलाग्नु पर्ने हुन्छ ।

सौरभ शर्माले प्यानल छलफलमा सहभागी वरिष्ठ विज्ञहरू : नेपालका लागि युरोपेली आयोगका राजदूत महामहिम नोना डेप्रेज, नेपालका लागि इजरायलका राजदूत हनान गोडेर, नेपालका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) का आवासीय प्रतिनिधि आयसानी लबे, पूर्वाञ्चल विश्वविद्यालको व्यवस्थापन विभागका डिन डा. बिजुकुमार थपलियाको विविध पृष्ठभूमिबारे चित्रण गर्दै कुशलतापूर्वक कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।  प्रत्येक वक्ताहरूले महत्त्व‍पूर्ण दृष्टिकोण एवं अवधारणा प्रस्तुत गर्दै छलफललाई थप समृद्ध बनाउनका लागि योगदान गरेका थिए भने नेपालको कृषि तथा शैक्षिक क्षेत्रले सामना गरिरहेका चुनौतीहरूको सम्भावित समाधानहरू अघि सारेका थिए ।

कार्यक्रममा भएका महत्त्वपूर्ण छलफल :

महामहिम राजदूत हनान गोदरले इजरायली कृषिमा नवप्रवर्द्धित विधि तथा दिगो अभ्यासको प्रयोग गरिरहेको भन्दै महत्त्वपूर्ण अन्तरवस्तु साझा गर्नुभएको थियो । युवा पुस्तालाई पनि कृषि क्षेत्रमा त्यस प्रकारको कार्यक्रमको प्रयोग गरेर सुदृढ बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर कार्यक्रमका अन्य सहभागीहरू छलफलमा सहभागी भएका थिए ।

महामहिम हनान गोडेरले लोकप्रिय भनाइ ‘कृषि शौक होइन, व्यापार हो’ दोहोर्‍याउनु भयो । उहाँले इजरालयका २ प्रतिशत जनसंख्या मात्रै खेतीमा संलग्न रहेपनि उनीहरुको नवप्रवर्द्धित दृष्टिकोणको कारण खाद्यान निर्यात गर्न गरेको बताउनु भयो । नेपालको ६८ प्रतिशत संख्या कृषिमा संलग्न रहेकाले पर्याप्त खाद्यान्न हुनुपर्ने हो । महामहिमले कुनै पनि देशले कृषि र शिक्षालाई एकै साथ विकास गर्ने सक्ने बताउनुभयो ।

डा बिजुकुमार थपलियाले नेपालभित्रै प्रतिभावान् युवाहरूलाई रोकी राख्न सरकार, शैक्षिक संस्था तथा व्यापारिक समुदायको सहयोगात्मक प्रयासको महत्त्वबारे जोड दिनुभएको थियो । प्यानलमा यो जल्दोबल्दो मुद्दालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने रणनीतिगत विषयमा छलफल भएको थियो ।

छलफलको क्रममा डा. थपलियाले नेपालमा राम्रो शिक्षा प्रणाली आवश्यक भएकोमा जोड दिनुभएको थियो र सरोकारवालाहरुले विश्वव्यापी रुपमा स्वीकार्य हुने र सबैका लागि रोगजारी सिर्जना गर्ने सक्ने गरि शैक्षिक क्षेत्रलाई सशक्त बनाउन जोड दिनुभयो । उहाँले नेपालमा अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालन गर्नुपर्ने बनाउनु भयो । तर उहाँले त्यसका लागि उनीहरुसँग लगानी मोडल हुनुपर्ने बताउनु भयो । जसले देशले पनि फाइदा पाउन सकोस ।

महामहिम नोना डेप्रेजले नेपालको विकासका लागि युवा सहभागिताको महत्त्वबारे जोड दिनुभएको थियो । उहाँ विभिन्न कार्यक्रममार्फत युरोपेली संघले नेपाल र नेपाली युवालाई कसरी सहयोग गरिरहेको छ भन्ने विषयमा केन्द्रित हुनुभएको थियो । यो वर्षमा मात्रै इरास्मस कार्यक्रमअन्तर्गत २७ जना छात्रा र २६ जना छात्र गरी ५३ जना विद्यार्थी युरोप गएका छन् । नोनाले नेपालमा विशाल सम्भावना रहेको र त्यसका युवाले त्यसलाई खोज्न तथा प्रयोग गर्न चाहेको बताउनुभएको थियो । यो ऊर्जाले नेपाललाई विकसित देश बनाउन सहयोग गर्नेछ । 

राष्ट्र संघीय विकास कार्यक्रमकी आवासीय प्रतिनिधि आयसनी लबेले दर्शकहरुमा आशाको सञ्चार गराउँदै आएको भनाइ राख्न थाल्नु भएको थियो । उहाँले भन्नुभयो - नेपालमा गरिबी दर घट्दै गएको छ । मातृ तथा शिशु मृत्युदर घटेको छ । मानिस राम्रो संंरचना भएका घरमा बस्न थालेका छन् । विकासको दृष्टिले नेपाल राम्रो अवस्था छ तर दुई ठूलो राष्ट्रको बीचमा रहेको नेपाल जलवायु परिवर्तनमा भने संकटापन्न अवस्थामा छ । नेपालले  कार्बन फुटप्रिन्टलाई निश्चित सीमामा कायम राख्ने विषयमा सिक्ने आवश्यक छ । नेपालका ९० प्रतिशत कामदार सामाजिक सुरक्षामा छैनन् । देशको जीवन रेखा नै रेमिट्यान्समा छ आप्रवासी कामदारको सामाजिक सुरक्षाको विषयमा विशेष ध्यान दिनुपर्छ ।

नेपाली विद्यार्थीलाई देशभित्र अध्ययन गराउनका लागि सरकार, विश्वविद्यालय तथा शैक्षिक संस्थाका लागि नीतिगत सिफारिस एवं रणनीतिक कार्यको पहिचान गर्दै प्यानल छलफल सम्पन्न भएको थियो । काठमाडौं डन बोस्को कलेजका निर्देशक कपिलदेव रेग्मीले सबै सहभागीप्रति आभार प्रकट गर्नुका साथै नेपालको भविष्यका लागि यस प्रकारको रचनात्मक छलफलको महत्त्वमाथि प्रकाश पार्नुभयो ।