राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार, कर्णाली प्रदेशमा विद्यालय तह पास गर्ने जम्मा आठ प्रतिशत छन् । सो प्रदेशमा विद्यालयको विद्यार्थी टिकाउ दर पनि कमजोर छ । देशको साक्षरता दर ७६ दशमलव एक प्रतिशत छ । कूल साक्षरता दरको सबैभन्दा बढी ३० दशमलव ९ प्रतिशत व्यक्तिले कक्षा पाँचसम्म मात्रै पढेका छन् भने २१ दशमलव पाँच प्रतिशतले आठ कक्षासम्म मात्रै पास गरेको देखिएको छ ।
कर्णालीमा पुरुष भन्दा १४दशमलव २ प्रतिशत बढी महिला निरक्षर छन् । पुरुषको साक्षरतादर ८३ दशमलव ३ प्रतिशत हुँदा महिलाको साक्षरता दर ६९ दशमलव ४ प्रतिशत रहेको छ ।
यो प्रदेशमा अझै २४ प्रतिशत नागरिक साक्षर हुन बाँकी रहेका छन् । जनगणनाका तथ्याङ्क अनुसार प्रदेशमा रहेको कूल जनसङ्ख्या १६ लाख ८८ हजार ४१२ मध्ये २४ प्रतिशत अर्थात ४ लाख ५ हजार २१९ जना अहिले पनि निरक्षर छन् ।
प्रदेश सरकार के गरिरहेको छ ?
प्रदेश सरकारले एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि २०७८ मा रहेर विभिन्न ८ शीर्षकमा छात्रवृत्ति वितरण गर्दै आएको छ ।
कार्यविधि अनुसार प्राविधिक छोरी बुहारी छात्रवृत्ति, चिकित्सा, इन्जिनियरिङ, कृषि र भेटेनरी उच्च शिक्षा छात्रवृत्ति, उच्चशिक्षा अपाङ्ग छात्रवृत्ति, उच्चशिक्षा दलित छात्रवृत्ति, उच्चशिक्षा जेहन्दार छात्रवृत्ति, उच्चशिक्षा सीमान्तकृत तथा लोपोन्मुख वर्ग छात्रवृत्ति, आधारभूत तथा माध्यमिक शिक्षामा गरिब तथा जेहन्दार छात्रवृत्तिका लागि सार्वजनिक निजी साझेदारी कार्यक्रम, जन आन्दोलन र जनयुद्ध शहिदका सन्ततिको लागि उच्च शिक्षा छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ मा छोरी–बुहारी, सीमान्तकृत, उच्च शिक्षा प्राविधिक, अपाङ्ग तथा दलित उच्च शिक्षा’ मा ३८१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको आफ्नो बार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले गत वर्ष ३ करोड १६ लाख ५९ हजार ६०२ रुपियाँ छात्रवृत्ति प्रदान गरेको छ ।
गत वर्ष १० जिल्लाका सामाजिक विकास कार्यालयबाट १ करोड ३१ लाख २ हजार २ रुपियाँ छात्रवृत्ति वितरण गरेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै शिक्षा विकास निर्देशनालयबाट उच्च शिक्षा प्राविधिक छात्रवृत्ति शीर्षकमा ९२ लाख २८ हजार ८०० गरी गत वर्षमात्रै दुई करोड २३ लाख ३० हजार ८०२ रुपियाँ छात्रवृत्ति वितरण गरिएको छ ।
उच्च शिक्षा प्राविधिक छात्रवृत्ति १ करोड ८५ लाख ५७ हजार ६०० रुपियाँ वितरण गरिएको छ ।
शीर्षकगत छात्रवृत्ति
गत वर्ष शिक्षा विकास निर्देशनालयले ‘उच्च शिक्षा प्राविधिक छात्रवृत्ति’ ६९ जनालाई यो छात्रवृत्ति प्रदान गरेको आफ्नो बार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।
यो शीर्षकमा यी विद्यार्थीले आर्थिक वर्ष २०७९–०८० मा ९३ लाख २८ हजार ८०० रुपियाँ वितरण गरिएको थियो । आर्थिक वर्ष २०८०–८१ मा ९२ लाख २८ हजार ८०० रुपियाा वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ ।
प्राविधिक अध्ययनका लागि मात्रै प्रदेश सरकारले दुई वर्षमा १ करोड ८५ लाख ५७ हजार ६०० रुपियाँ छात्रवृत्ति रकम वितरण गरेको छ ।
त्यसैगरी १० जनालाई इन्जिनियरिङ अध्ययन छात्रवृत्ति प्रदान गरेको छ । यो छात्रवृत्ति ६ जनालाई प्रतिवर्ष एक लाख रुपियाँका दरले र एक जनाले प्रतिवर्ष ७९ हजार ७२०, दुई जनाले ८० हजार ७४०, अर्का एक जनाले ८१ हजार १९४, अर्का एक जनाले ७९ हजार ६५० रुपियाँ प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ ।
आइटी अध्ययन गर्ने १० जनाले प्रतिवर्ष ८२ हजार ६५० देखि दुई लाख रुपियाँसम्म छात्रवृत्ति प्रदान गरेको छ । भने १० जनाले नै भेटेनरी अध्ययन गर्नका लागि दुई वर्षमा दुई लाखका दरले रकम पाएका छन् ।
यस्तै नर्सिङ पढ्ने तीन जनालाई दुई वर्षमा दुई लाखका दरले छात्रवृत्ति प्रदान गरेको छ ।
आयुर्वेद पढ्ने दुई जनालाई दुई वर्षमा चार लाख रुपियाँ छात्रवृत्तिप्रदान गरेको प्रतिवेदनमा उल्लेख छ ।
वन विज्ञान र कृषि प्राविधिक अध्ययनका लागि १०–१० जनालाई ६० हजार ६२५ देखि एक लाख रुपियाँ प्रतिवर्ष छात्रवृत्ति रकम प्रदान गरेको छ ।
गत वर्ष सामाजिक विकास कार्यालय सुर्खेतले २० जना छोरी–बुहारी, तीन जनाले सीमान्तकृत छात्रवृत्ति, ७ जनाले अपाङ्ग छात्रवृत्ति, १६ जनाले दलित छात्रवृत्ति प्राप्त गरेका छन् ।
गत वर्ष सामाजिक विकास कार्यालय मुगुबाट ११ जनाले प्राविधिक छोरी–बुहारी छात्रवृत्ति, ७ जनाले उच्च शिक्षा दलित शीर्षकमा छात्रवृत्ति, १० जनालाई प्राविधिक छोरी–बुहारी छात्रवृत्ति प्रदान गरेको उल्लेख छ।
गत वर्ष सामाजिक विकास कार्यालय हुम्लाबाट १३ जनाले प्राविधिक छोरी बुहारी र ७ जनाले उच्च शिक्षा अपाङ्ग र दलित शीर्षकमा छात्रवृत्ति वितरण गरिएको छ ।
डोल्पा सामाजिक विकास कार्यालयबाट १९ जना प्राविधिक छोरी–बुहारी र १ जना उच्च शिक्षा दलित छात्रवृत्ति वितरण गरिएको छ ।
जुम्ला कार्यालयबाट २२ जनालाई छोरी–बुहारी र १४ जनालाई दलित तथा अपाङ्ग छात्रवृत्ति वितरण गरिएको छ ।
कालिकोटले २० जना छोरी–बुहारी, १० जना उच्च शिक्षा दलित र ४ जना उच्च शिक्षा अपाङ्ग गरी जम्मा ३४ जनालाई छात्रवृत्ति वितरण गरिएको छ ।
त्यस्तै दैलेख कार्यालयबाट सबैभन्दा धेरै ५३ जनाले छात्रवृत्ति पाएका छन् । जसमा छोरी–बुहारी ४१ जना, उच्च शिक्षा दलित १० जना र अपाङ्गतातर्फ दुई जनाले छात्रवृत्ति प्राप्त गरेका छन् ।
सामाजिक विकास कार्यालय जाजरकोटबाट ३८ जनाले छात्रवृत्ति प्राप्त गरेका छन् ।
सल्यान कार्यालयबाट २० छोरी–बुहारी, ४ अपाङ्ग, उच्च शिक्षा दलिततर्फ १० जनाले छात्रवृत्ति प्राप्त गरेका छन् ।
रुकुम पश्चिम कार्यालयबाट १३ जनाले उच्च शिक्षा दलित तथा अपाङ्ग शीर्षकमा छात्रवृत्ति लिएका छन् ।
छात्रवृत्ति लिएका विद्यार्थी के गर्दै छन् ?
यो कार्यविधि २०७८ चैतमा कार्यान्वयनमा आयो । ‘ प्रदेश सरकारले यो कार्याविधि लागु गर्नुपूर्व पनि विभिन्न शीर्षकको छात्रवृत्ति प्रदान गर्दै आएको थियो ।
आर्थिक वर्ष २०७५–०७६ मै ‘छोरी–बुहारी प्राविधिक शिक्षा छात्रवृत्ति’ कार्यक्रम ल्याएको थियो । कम्तीमा तीन वर्ष प्रदेश सरकारले खटाएको ठाउँमा काम गर्न दिने भनिएको थियो । यो कार्यविधि कार्यान्वयन गर्ने समयसम्म यो शीर्षकको छात्रवृत्तिका लागि चार करोड रुपियाँभन्दा बढी खर्च गर्यो तर छात्रवृत्ति पाएर पढेका छोरीबुहारीको विषयमा खोजखबर गर्न सकेन । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा छात्रवृत्ति रकम पाउने विद्यार्थीको तथ्यांक उपलब्ध भए पनि को कहाँ के गरिरहेकाछन् सो विषयको तथ्यांक भने छैन । मन्त्रालयको तथ्यांक अनुसार पहिलो वर्ष १२५, दोस्रो वर्ष १६६, तेस्रो वर्ष १३० जना छोरी–बुहारीलाई जनही रु. १ लाख २५ हजारका दरले छात्रवृत्ति दिइएको थियो । तर ती विद्यार्थीले के पढे कहाँ छने भन्ने विषयमा मन्त्रालयमा कुनै तथ्यांक छैन ।
विभिन्न अध्ययनबाट यो छात्रवृत्ति दुरुपयोग भएको तथ्य औँल्याइए पनि प्रदेश सरकार यो विषयमा अध्ययन गर्ने तयारी रहेको बताउँछ । सामाजिक विकास मन्त्रालयले छात्रवृत्ति वितरणको विषयमा अध्ययन, अनुसन्धान गरिरहेको जानकारी दियो ।