After SEE Portal

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन बन्ने

Bridge Course

सिञ्जा, १३ वैशाख ( रासस): कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आगजनी भएको ओपीडी भवन निर्माणको बाटो खुलेको छ । 

आगलागी भएको झण्डै चार वर्ष बित्न लाग्दासमेत नयाँ भवन बन्न सकेको थिएन ।

सो भवन देख्दा बिरामी झस्कन्थे । बिरामी असुरक्षित महसुस गर्दै अस्पतालमा भर्ना हुनसमेत आलटाल गर्दै आइराखेका थिए । 

आगजनीबारे केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको थियो । ब्युरोले समयमै अनुसन्धान प्रतिवेदन बुझाउन नसक्दा भवन निर्माणको काम अघि बढ्न सकेको छैन । अस्पताल बीचैमा भताभुङ्ग, लथालिङ्ग देख्दा बिरामीको मनस्थिति पनि बिग्रन्थ्यो ।

कर्णाली प्रतिष्ठानले पटक पटक अनुसन्धानका विषयमा चासो राख्दै जाँदा प्रहरीले पत्र काटेर भवन नयाँ बनाउँदा पनि फरक नपर्ने जनाएको हो । 

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले आगजनी भएको भवन प्रमाणका लागि राखिराख्न आवश्यक नदेखिएको भन्दै पत्र पठाएपछि भवन भत्काएर नयाँ भवन लगाउन बाटो खुलेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “आगजनी भएको भवन निर्माण गछौँ, अहिलेसम्मको सन्त्रास हटाउँछौँ । आकर्षक र बिरामीमैत्री भवन निर्माणमा जोड दिन्छौँ । ”

जिल्ला प्रहरी कार्यालय जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पत्र काट्दै आगजनी भएको भवन निर्माणको काम अघि बढाउँदा कुनै फरक नपर्ने बताउनुभयो। 

पत्रमा भनिएको छ, “ओपिडी भवनमा आगजनी भई क्षति भएको घटना सम्बन्धमा भवनको अनुसन्धान प्रक्रिया जारी रहेको र अनुसन्धानमा आवश्यक पर्ने भवनसँग सम्बन्धित विवरण प्राप्त भइसकेकाले भत्काउँदा फरक पर्दैन ।”  अहिलेसम्म आगजनी भएको भवन अलपत्र अवस्थामा थियो । 

अब प्रतिष्ठानले आफ्नै लगानीमा भवन बनाउँदैछ । आगजनीबाट भएको क्षतिको विवरण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पेश गरिएको छ । ओपिडी कक्षमा सञ्चालित उपकरण एकै ठाउँमा नहुँदा बिरामी अलमलमा पर्ने गरेका छन् ।

जलेको उपकरण पनि अनुसन्धानका लागि पठाइसकिएको छ । प्रतिष्ठानले अनुसन्धानमा आवश्यक पर्ने सबै कागजात पठाइसकेको थियो तर भवन निर्माणका लागि औपचारिक पत्र आउन सकेको थिएन । 

पत्र प्राप्त भएसँगै सुविधासम्पन्न भवन निर्माण गर्ने योजनामा कर्णाली प्रतिष्ठान लागेको छ । आगजनीबाट करीब रु दुई करोड ७४ लाख बराबरको क्षति भएको थियो।

A Levels MA
Thuprai - Books and E-books