पत्रकार राजकरण महतोद्वारा ५१ हजारको छात्रवृत्ति कोष स्थापना

महोत्तरी, ११ वैशाख (रासस) : महोत्तरी बर्दिवास घर भएका पत्रकार राजकरण महतोले ५१ हजार बराबरको छात्रवृत्ति कोषको स्थापना गर्नुभएको छ ।

नारी शिक्षालाई उत्प्रेरित गर्न पत्रकार महतो आफैँले पत्रकारिताबाट कमाएर जोगाएको रु ५१ हजार बराबरको छात्रवृत्ति कोषको स्थापना गर्नुभएको हो । आर्थिक अवस्था कमजोर भएकै कारण आफ्ना दिदिबहिनी स्कुलसम्म पुगेर पनि शिक्षा लिनबाट वञ्चित भएको भन्दै आफूले आफ्ना समुदायका दिदीबहिनीहरु शिक्षा लिनबाट वञ्चित हुन नपरोस् भनी कोषको स्थापना गरेको पत्रकार महतोले बताउनुभयो ।

उहाँले विगतको इतिहास सम्झिँदै भन्नुभयो, “मेरी दिदी चन्द्रकुमारी महतोले सधैँ स्कुलसम्म पु¥याएर स्कुलको गेटबाट घर फर्किनुहुन्थ्यो तर, उहाँले चाहेर पनि शिक्षा लिन सक्नुभएन, दिदीले घरको आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षा लिन नसकेको कुरा आफूलाई बच्चैदेखि लागेको र अब आगामी दिनमा मेरी दिदी झैँ अरु दिदिबहिनी शिक्षाबाट वञ्चित रहन नपरोस् भन्ने उद्देश्यले कोषको स्थापना गरेको हूँ ।”

जनता माध्यमिक विद्यालय डाँडा टोल विजलपुरा १३ बर्दिवासमै माविस्तर सम्मको पढाइ सकाएकोले त्यही विद्यालयमा उहाँले छात्रवृत्ति कोष स्थापना गर्नुभएको हो ।

सो छात्रवृत्ति कोष वापतको रकम बैंकमा जम्मा गरेर सोबाट आउने ब्याजको रकमबाट वर्षेनी सो विद्यालयमा जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने र मुलतः सो छात्रवृत्ति नारी शिक्षाकै लागि खर्चिने पत्रकार महतोले बताउनुभयो ।

बैंकमा विद्यालयको प्रधानाध्यापक र कोष संस्थापकको हस्ताक्षर चल्ने गरी संयुक्त खाता खोलिएको र आगामी दिनमा थप सहयोग जुटाएर कोषमा रकम वृद्धि गर्दै लैजाने योजना उहाँले जानकारी दिनुभयो ।