Managed Admission 2022

आमालाई युद्धले, मलाई कोरोनाले, मेरी बहिनीलाई आर्थिक संकटले पढ्न नदिने त होइन ?

Thuprai - Books and E-books

मैले सुनेको मात्र हो मेरी आमाले एसएलसी पास गर्दा प्रजातन्त्र स्थापना भइसकेको थियो रे ! एसएलसी पास हुने बितिकै आफूले समर्थन गरेको राजनैतिक दलको सिफारिसमा सरकारी सेवा प्रवेश गर्नुभयो रे ! २०५१ सालतिरको कुरा हो मेरी आमाले स्थानीय प्राथमिक विद्यालयमा महिला शिक्षकका रुपमा काम सुरु गरिछिन् । समय राम्रौ थियो । आमा पढ्दै पढाउँदै गर्न थालिन् । त्यति नै बेला तत्कालीन माओवादीले युद्ध सुरु गर्यो । रोल्पा, रुकुम हुँदै सुरु भएको युद्ध मेरी आमाको आंगनमा पनि आइपुग्यो ।

त्यो, माओवादी जनयुद्ध के थियो ? सामाजिक आन्दोलन ? ‘राजनीतिक उद्यम’ वा गणतन्त्र स्थापनाका लागि गरिएको युद्ध ? मैले अहिले सम्म जावाफ भेटाउन सकेको छैन । सामाजिक शक्ति सम्बन्धमा खास परिवर्तन आएको छ कि छैन ? गणतन्त्र, संघीयता र समावेशिताजस्ता जनयुद्ध निःसृत उपलब्धिले नेपाली जनताको जीवनमा खास के प्रभाव पार्यो ? मैले बुझ्न सकेको छैन । त्यो बुझ्न सक्ने मेरो चेतनाको विकास भएकै छैन ।

तर, त्यो युद्धले मेरी आमाको जीवन तहननहस बनायो । तत्कालीन समयमा नै त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेकी मेरी आमालाई विद्रोहीले भान्सेको रुपमा प्रयोग गरें । राज्यले आतंककारी सम्झियो । म जन्मनु पूर्व नै कठोर यातना दिँदै हिरासतमा राख्यो । २०५८ सालतिर सेवाबाट बर्खास्त गर्यो । त्यो युद्धको बाछिटाले अहिले पनि मेरी आमा निथ्रुक्क भिजिरहनु भएको छ । मेरी आमाले ज्याला मजदुरी गरेर मलाई र बहिनीलाई पढाइरहनु भएको छ ।

बहिनी सानी छे । चन्चल उत्तिकै । भर्खर कक्षा तीनमा प्रवेश गरेकी ऊ विद्यालय जान रमाउँछे । गत वर्ष कोरोना महामारीका कारण विद्यालय जान पाइनँ । घरैमा सधै म कहिले देखि स्कुल जान पाउँछु भन्दै झगडा गर्थी । आमालाई सम्झाउनै मुस्किल हुन्थ्यो । जसोतसो गरेर आमा बहिनीलाई अनलाइन कक्षा लिन मनाउनु हुन्थ्यो । ऊ कक्षामा बस्थी । उसको दिमाग अलि तेज छ । एकपटक भनेको कुरा दोस्रो पटक सम्झाउनु पर्दैन त्यसैले बहिनीलाई होमबर्क सिकाउने झन्झट नै पर्दैन । हुन त मैले पनि कहाँ राम्ररी पढ्न पाएँ र ? पापी कोरोनाले गर्दा कत्ति रहर थियो माध्यमिक शिक्षा परीक्षा (एसईई) मा राम्रो नतिजा ल्याउने खुब मेहनत गरेर पढेको पनि थिए । तर परीक्षा दिनै पाइन । म कक्षामा अतिबढी उटपटाङ गर्थे । हल्ला गर्थे । त्यसैले सरहरूले आन्तरिक मूल्याङ्कन गर्दा मलाई खुम्च्याएर नै गरिदिनु भयो । त्यसमा पनि दुखी छैन म ! किनकि म कक्षामा अलि उटपटाङ गर्ने नै मान्छे हुँ । तर कोरोनाको ब्याच भन्ने धब्बा बाँकी नै रहने भयो भन्ने चिन्ताले सताउँछ । त्यति मात्र कहाँ हो र मैले कक्षा ११ र १२ पनि राम्रोसंग पढ्न पाइन । दुवै कक्षामा केही समय मात्र पढ्न पाएँ । तर कक्षा १२ को परीक्षा यही १६ गते देखि हुँदैछ । राम्रो तयारी गरिरहेको छु । गर्नु छ । मेरी आमालाई अकारण राज्य र विद्रोहीले दिएको यातनाको मुल्य मैले तिर्नु छ । राम्रो पढेर मेरी आमाको आशु–पसिनाका हरेक थोपाको मूल्य चुकाउनु छ ।

बहिनीले आजभोलि स्कुल जान नपाउँदा आमासंग झगडा गरेको देख्दा सोच्छु मेरी आमालाई युद्धले खायो, मलाई कोरोनाले बहिनीलाई कतै राज्यमा देखा परेको आर्थिक संकट, पोट्रोलियम पदार्थको मुल्यवृद्धिले खाने त होइन ? भन्ने मेरो मानसपटलमा चिन्ताको लाग्न् थालेको छ । शान्त पार्ने ठाउँ छैन ।

आजभोलि मुलुक स्थानीय तहको निर्वाचनको मत गणनामा व्यस्त छ । नेपालको संविधानले विद्यालय शिक्षाको जिम्मेबारी स्थानीय तहलाई दिएको छ । अब सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिन थालिसकेको छ । अब वर्षभरिमा सार्वजनिक बिदाका दिन मात्र १४७ दिन हुनेछन् । यस बाहेक विद्यालयले हिउँदे र बर्खे बिदा ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरेर ५० दिन बिदा गर्न पाउँछ । यसरी हेर्दा एक वर्षमा १९७ दिन विद्यालय बिदा हुन्छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यी बिदामा ३० दिन कटाएर बाँकी समय शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसरी हेर्दा अब वर्षमा ११७ दिन वर्षमा सार्वजनिक बिदा हुनेछन् । यी ११७ दिन हुने बिदामा मेरी बहिनीले कति झगडा गर्दी हो मेरी आमालाई यो हेर्न नै बाँकी छ । कहिलेकाँही सोच्छु अनिकाल लाग्यो भने ब्रत बस्दा अनिकाल टर्छ र !

अब विद्यालय समय विहान १० देखि अपरान्ह ४ बजेसम्म खुल्ने छन् । सातामा तीन घण्टाका दरले वर्षभरि एक सय घण्टा क्षति हुने छ । ती सय घण्टामा बालबालिकाले के गर्ने भन्ने विषयमा सम्बन्धित पक्षको ध्यान जान जरुरी छ ।

निजी विद्यालयले हामी मान्दैनौँ भने पनि अन्ततः उनीहरूले सरकारको निर्णय स्वीकार्छन् नै। परीक्षण हो । केही महिना हेरौँ भनिहाले पनि खाली समयमा बालबालिकालाई पुरै घरको जिम्मामा छाड्ने कि ? विद्यालयले संरक्षकत्व प्रदान गर्दै पाठ्यघण्टा पूरा गर्ने भन्ने विषयमा निर्णय गर्न अब चुक्नु हुन्न ।

शिक्षा मन्त्रालयले वैशाख २८ गते सम्बन्धित सबैलाई पत्राचार गर्दै हप्तामा दुई दिन बिदा दिन र पाठ्यघण्टा मिलाउन हिउँदे, वर्षे र स्थानीय बिदा कटौती गर्न निर्देशन दिएको छ । मन्त्रालयले हप्ताको ६ दिन बिहान १० देखि अपरान्ह ४ बजेसम्म विद्यालय सञ्चालन गर्नुपर्ने र हिउँदे तथा वर्षे बिदा कटौती गरी पाठ्यभार मिलाउन सम्बन्धित निकायलाई परिपत्र गरेको छ।

मन्त्रालयका अनुसार विद्यालयको हकमा सम्बन्धित पालिकाले, प्राविधिक शिक्षाका हकमा सीटीईभीटीले र विश्वविद्यालयको हकमा विश्वविद्यालय अनुदान आयोगले बिदा व्यवस्थापन गर्न क्ने निर्देश्न दिइसकेको अवस्था छ ।

दुई दिन सार्वजनिक विदा दिँदा शैक्षिक क्षति हुँदैन भन्ने एकाथरि मानिस देखिएका छन् भने अर्काथरि कोरोनाले थिलथिलिएको शैक्षिक क्षेत्र थप ध्वस्त हुने आंकलन गर्न थालेका छन् । राजनेताहरू राज्यकोषको मोटो रकम दुरुपयोग गरेर जम्बु टोली विदेश भ्रमणमा जान्छन् । एउटा राजनेताको उपचारमा ५० जना बालबालिकाको विद्यालय शिक्षा पुरा गर्न पुग्ने रकम सक्छन् सोही सेवा सुविधा कटौति गरेर विद्यालय सञ्चालन गर्ने खर्च सरकारले जुटाउँदा हुँदैन मेरो प्रश्न ?

(लेखक ग्लेसियर इन्टरनेसनल कलेज, काठमाडौंमा कक्षा १२ मा अध्ययनरत छात्र हुनुहुन्छ)