विद्यालय अभिभावकको पनि हैन र ?

Home is the first school and parents are the best teachers for a child.

अभिभावक शिक्षालाई विद्यालय सुधारको मुल मन्त्रको रूपमा लिनु पर्ने आजको आवश्यकता हो । अभिभावकलाई संलग्न नगरी विद्यालयको परिकल्पना गर्न सकिन्न । असल र अब्बल विद्यालयका लागि अभिभावकको सकृय नेतृत्व र सहायता अनिवार्य छ ।

बालवालिकाहरूको शिक्षा घरबाट सुरू हुन्छ । अभिभावकहरू तिनीहरूका पहिलो शिक्षक हुन र बालवालिकाहरूको जीवनलाई सार्थक आकार दिन तिनीहरूको पहिलो र मुख्य भूमिका हुन्छ । घर र विद्यालयमा शिक्षाको सन्तुलनले विद्यार्थीको वास्तविक सिकाइलाई परिणाममुखी बनाउँछ, सिकाइ दिगो र जीवनोपयोगी बन्दछ ।

उनीहरूको शैक्षिक यात्रामा पहिलो र महत्त्वपूर्ण सहयोगी हात अभिभावकहरू नै हुनुहुन्छ । उनीहरूसँग साँचो प्रेरणाको साथ यात्रा गर्न सकेमा विद्यालयको उन्नतिमा अभिभावक एकाकार भएर लाग्न सक्छन् । सफल विद्यार्थीहरूमा अभिभावकको प्रोत्साहनले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । उनीहरूको भूमिका घरमा मात्र सीमित छैन, विद्यालय गतिविधिहरूमा पनि संलग्न छ ।

बालबालिकाको सिकाइ मापन र सुधारका लागि घरमा बालवालिकाहरूलाई कसरी व्यवहार गरिन्छ भन्ने कुरासँग धेरै सम्बन्धित छ । अभिभावक वा आमाबाबुले आफ्नो बच्चाको शिक्षामा मद्दत गर्न धेरै विधि र तरिकाहरू अपनाउन सक्छन । अभिभावक एक रोल मोडेलको रूपमा नरहेसम्म विद्यार्थीको भविष्य अन्धकार रहन्छ । बालबालिकाहरू आफ्ना आमाबाबुले गर्ने कामबाट सजिलै प्रेरित हुन्छन । त्यसैले उनीहरूको सिकाइका सवै चरणमा पनि कसरी रोल मोडल बनाउने भन्ने कुरा समेत विद्यालयले सोच्न जरूरी भएकोछ । विद्यार्थीको चौतर्फी विकासका लागि शिक्षक भन्दा धेरै अभिभावकको भूमिका रहन्छ ।

आमाबाबु बच्चाको पहिलो शिक्षक हुन र त्यसैले घरमा सिकेका कुराहरूले उसको सिकाई र शैक्षिक उपलव्धीमा समेत सहयोग गर्दछ । विद्यार्थीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन गरेमा उनीहरूको विद्यालय जीवन रोमाञ्चक तथा रोचक मात्रै हुने हैन मानव सभ्यता नै अर्थपूर्ण र प्रभावकारी हुन्छ । बाल मैत्रीपूर्ण व्यवहार र मार्गदर्शनले वालवालिकाहरूलाई प्रेरित गर्नु आजको आवश्यकता हो ।

सँगै बसेर छलफल गर्ने, सुख दुख शेयर गर्ने, पढ्ने, पढ्न नसके पनि पढ्न सहयोग गर्ने अनि अन्य प्रकारका कार्यहरू पनि आमाबाबुसँग मिलेर गर्नाले उनीहरूलाई उर्जा प्राप्त हुन्छ । पारिवारिक अपनत्व प्राप्त हुन्छ । बालवालिकामा सहकार्य, समर्थन र आत्मविश्वासको भावना दिन्छ । पाठहरू सँगै पढ्नु विद्यालयमा बच्चाको सिकाइसँग नजिक हुने विभिन्न तरिकाहरू मध्ये एक उत्तम तरिका हो । यसले उनीहरूको सामथ्र्यमा सुधार गर्दछ । उनीहरूमा थप पढ्नको लागि रूचि र चाहना जगाउँदछ ।

विद्यालय हातामा सामुदायिक पुस्तकालय खोल्नु, अभिभावक शिक्षालाई र अभिभावकलाई विद्यालय तथा पठनपाठनसँग जोड्नु अर्को उपाय हुन सक्छ । कक्षाकोठाका पाठहरू भन्दा अन्य जीवनोपयोगी थप ज्ञान प्राप्त गर्न आवश्यक थप मद्दतको लागि पुस्तकालयमा सँगै गएर गुणस्तरीय पुस्तकहरू पढि त्यसमा रहेका अन्तर्यहरू साटासाट गर्ने अभ्यास एक असल अभ्यास र राम्रो विचार हुन सक्छ । अभिभावकले पढ्न नसकेपनि बालवालिकाले पढेर सुनाउने र विचार विमर्श गर्ने, तर्क वितर्क गर्ने गरेमा असल अभ्यासको विकास हुन सक्छ । अभिभावक जीवित पुस्तकालय हुन् । तसर्थ यो अवसरलाई उपयोग गर्दै विद्यालयले उनीहरूका जीन्दगीभरका अभ्यास र सिकाईलाई थोरै सयममा नयाँ पुस्तामा स्थानान्तरण गर्न सकिन्छ ।

बच्चाको गतिविधिको निरीक्षण गर्नु आजको पहिलो आवश्यकता हो । विद्यालय र घरमा बच्चाको गतिविधिमा नजर राख्नु र आवश्यक सहयोग गर्नु महत्त्वपूर्ण छ । तिनीहरूको सामान्य बानीहरूमा थप सहायता भएमा उत्कृष्ट बानीको रूपमा तिनै बानीहरूको विकास हुन सक्छ तर सहायता र निगरानी नभएको अवस्थामा क्रमशः खराव वानीले असल बानीलाई हटाईदिन सक्छन् र शिक्षाको गुणस्तरियता तथा उपलव्धी शुन्य तर्फ वढ्न सक्छ ।

बालवालिकाहरूले आफ्नो अध्ययनमा के कस्ता व्यवहार कसरी प्रदर्शन गर्छन, दैनिकी कसरी वितेको छ भन्ने कुराले अधिक महत्त्व राख्दछ । बाल्यकालदेखि नै कुनै पनि असामान्य व्यवहारलाई सच्याउनु हामी सवैको जिम्मेवारी हुन आउँछ । विद्यालयको लागि असल विद्यार्थी र देशका लागि असल नागरिक बन्न प्रेरित गर्ने गराउने काममा अभिभावकको पहिलो र महत्त्वपूर्ण भूमिका रहन्छ । तिनीहरूलाई उनीहरूको दिनचर्यामा सहयोग गर्नुका साथै असल सिकाइका लागि अभिभावन आवश्यक हुन्छ ।

अभिभावकलाई विद्यालय तथा विद्यार्थीको सिकाइसँग कसरी जोड्न सकिन्छ ? विद्यालयको मात्र नभई समग्र शिक्षाको परिवर्तन र विकासका लागि अभिभावकहरूको सकृय सहभागितका लागि के गर्न सकिन्छरु यस सँग विद्यालयको वर्तमान अवस्था र कार्यक्रम के छ ? देश भित्र र वाहिरका विभिन्न विद्यालयका के कस्ता अभ्यासहरू छन् हाम्रो पूर्वीय समाजका असल अभ्यासहरू के के थिए र ती  अभ्यासहरू कसरी लागू गरिएको थियोरु तिनीहरूमध्ये के के अभ्यासहरू प्रयोग गर्न सकिन्छरु अब के के कार्यक्रम गर्न आवश्यक छरु यसको विधि तरीका र अभ्यासहरूलाई कसरी संगठित गर्न सकिन्छ ? जस्ता प्रश्नको जवाफ खोज्न आवश्यक छ ।

इतिहासलाई अध्ययन गर्दा विगतको शिक्षा असल र अब्बल हुनुको पछाडि विद्यालयको सवै काममा अभिभावकको सहायता र नेतृत्वले काम गरेको कुरा अनुसन्धानले देखाएको छ । स–साना काममा समेत अभिभावक सकृय हुँदा विद्यालयको भौतिक पुर्वाधार र शैक्षिक गुणस्तर अब्बल रहेको मीठो इतिहास हामी सँग छ तसर्थ अभिभावकहरूको पुनरागमन र सहायताले मात्र छोटो समयमा विद्यार्थीहरूमा सकरात्मक तथा आशातित परिवर्तन गर्न सकिन्छ ।

लेखक श्रेष्ठ सामुदायिक विद्यालयमा अध्यापनरत माध्यमिक तहको स्थायी शिक्षक हुन।