शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्छ, कहिलेसम्म हात थाप्ने ?

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राज्यले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखेका छन् ।

प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा उनले उपलब्ध हुने स्रोतको सुनिश्चिताका आधारमा वस्तुगत योजना बनाएर मात्र शैक्षिक कार्यक्रमअघि बढाइए तोकिएको समयमा त्यसको नतिजा प्राप्त गर्न सकिने धारणा राखेका हुन् ।

 मन्त्री राइले मुलुकमा आर्थिक अवस्था कमजोर रहेका बेला न्यूनतम खर्चमा आवश्यक संरचना मात्र निर्माण गर्ने कार्ययोजना अहिलेको आवश्यकता भएको बताए । जाजरकोट भूकम्प प्रभावित क्षेत्रका विद्यालय सञ्चालनमा देखिएका चुनौती तथा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका सम्बन्धमा उठेका प्रश्न र वास्तविकता जानकारी लिन समितिले आजको बैठकमा मन्त्री राई र सचिवलाई आमन्त्रण गरेको थियो ।

मन्त्री राईले भने, “शिक्षा क्षेत्रसँग सम्बन्धित सही तथ्य तथ्याङ्क प्राप्त गर्न समन्वय र सम्पर्क गर्ने सूचना प्रणालीको विकास गर्दैछ । शिक्षा क्षेत्रमा गर्नुपर्ने काम धेरै छन्, स्रोतसाधन काम छ,  लगानी न्यून छ ।” कूल राष्ट्रिय बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन हुनुपर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता भए पनि चालु आर्थिक वर्षमा ११ दशमलव २७ प्रतिशत विनियोजन भएको छ ।

भूकम्प प्रभावित विद्यालय पुनःनिर्माणका लागि करिब ७ अर्ब ८ लाग्ने अनुमान

शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले विसं २०७२ को भूकम्पपछि कुन ठाउँमा कस्तो संरचना बनाउनुपर्छ भन्ने आधारमा जाजरकोट रुकुम र बाजुरामा ढाँचामा अघि बढाउने भन्ने योजना रहेको जानकारी दिए । उनले भने, “त्यसैका आधारमा भूकम्प प्रभावित जिल्लाका विद्यालय निर्माण र पुनःनिर्माणका लागि अहिलेको मूल्यवृद्धिलाई हेर्दा रु छ अर्ब ८४ करोड लाग्ने अनुमान छ ।”

भूकम्प प्रभावित जिल्लाका भवन भत्कँदा करिब रु दुई अर्ब नौ करोड बराबरको भौतिक क्षति भएको बैठकमा जानकारी दिइयो । जाजरकोट भूकम्पबाट त्यस जिल्लाका पूर्णरुपमा तीन सय नौ विद्यालय भवन पूर्णक्षति भएको छ भने सात सय ५१ मा आंशिक क्षति भएको छ ।

आंशिक क्षति भएका भनिएका विद्यालयको पनि पूर्णरुपमा प्रबलीकरण गर्नुपर्ने अवस्थाले पूर्ण क्षति बराबरकै लागत लाग्न सक्ने मन्त्रालयले अनुमान गरेको छ । त्यस्तै रुकुम पश्चिममा एक सय पाँच विद्यालय पूर्ण क्षति भएको छ भने  चार सय ७४ क्षति आंशिक भएको छ ।

बझाङ भूकम्पबाट त्यहाँ छ विद्यालय भवनमा पूर्ण क्षति भएको थियो भने ३७ वटा मा आंशिक क्षति पुगेको सो अवसरमा जानकारी दिइयो । त्यसैगरी बाजुरामा ५६ वटा विद्यालयमा आंशिक क्षति भएको थियो । भूकम्पछि केही समय विद्यालय सञ्चालन हुन नसकेको तथा हाल अस्थायी विद्यालय खडा गरी पढाइ सञ्चालनमा ल्याइएको सचिव अधिकारीले बताए ।

२० हजार बालबालिकालाई पाठ्यपुस्तक

जाजरकोटमा दुई ९३ वटा संरचना बनाइएको पनि जानकारी दिइयो । सरकारले भूकम्प प्रभावित जिल्लाका २० हजार बालबालिकालाई पुग्ने पाठ्यपुस्तक छपाइ गरी पुनः उपलब्ध गराएको छ । नेपालको शिक्षा क्षेत्रको विकासमा राम्रै योगदान गरिरहेका विभिन्न आठ दातृ निकाय विद्यालयकेन्द्रित कार्यक्रम सहभागी विद्यालय पुनःनिर्माण गर्न सहयोग वचन प्राप्त भइरहेको बताइएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एसियाली विकास बैंकले अनुदानका लागि दिएको रु ७५ करोड बाँकी बजेट विद्यालयको पुनःनिर्माणका लागि खर्च गरौँ भन्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाइ सकिएको पनि जानकारी दिइयो ।

डेढ अर्ब पनि यसमा खर्च गर्ने कि नगर्ने ?

दातृ निकायबाट ऋणवापत प्राप्त अर्को रु डेढ अर्ब पनि यसमा खर्च गर्ने कि नगर्ने भन्नेमा निक्र्र्यौल हुन बाँकी रहेको सचिव अधिकारीले जानकारी दिए । विद्यालय पुनःनिर्माण गर्न सकिने करिब रु साढे तीन अर्ब रकमको सुनिश्चिता आफैँसँग रहेको पनि सचिव अधिकारीले बताए ।

बजेट र क्षति विवरण माग

बैठकमा सदस्यले शिक्षा मन्त्रालयसँग शीर्षक नखुलाइएका रकम र भूकम्पबाट प्रभावित विद्यार्थीको सङ्ख्याको विवरण माग गरेका थिए । उनीहरुले कैलालीमा प्रारम्भमा गेटा मेडिकल, त्यसपछि प्रतिष्ठान, र अस्पताल हुँदै अहिले विश्वविद्यालय स्थापनाको विषय उठेकाले सो सम्बन्धमा स्पष्ट पार्न आग्रह गरेका थिए ।

सरकारको कैलालीमा विश्वविद्यालयका भौतिक संरचनातर्फ कलेज पूर्वाधार निर्माण विकास समितिबाट साना र ठूला गरी ५३ संरचना निर्माण गरिसकेको छ । त्यसका लागि करिब रु छ अर्बभन्दा बढी लगानी भइरहेको छ ।

कहिलेसम्म हात थाप्ने

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा दातासंग कहिले सम्म हात थाप्ने प्रश्न गरेकी छिन् ।  समितिको बैठकमा श्रेष्ठले शिक्षामा दाताको सहयोग १० प्रतिशतबाट कमी गर्दै आत्म निर्भर बनाउनु पर्ने धारणा राखेकी छिन् ।