नेपालमा विद्यार्थि पढाउन चीनले इच्छा व्यक्त गरेको छ । चाइना डाइलेक्टिकल एशोसिएसनका अध्यक्ष समेत रहेका बेइजिङ नर्मल युनिभर्सिटीका प्रोफेसर प्रो.लिउ सिआओ थिङले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसँग भेट गरे ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले हालै तयार पारेको योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धि पाठ्यक्रम अनुसार अध्ययनका लागि चिनियाँ विद्यार्थी नेपाल आउने थिङले विश्वास व्यक्त गरे ।
बुधबार भएको भेटमा युनिभर्सिटीका प्रोफेसर थिङले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी विषय अध्ययनका लागि चीन सरकारले वार्षिक एक हजार जना विद्यार्थी नेपाल पठाउने जानकारी गराए ।
‘नेपाल सरकारको सहमतिमा वार्षिक एक हजार विद्यार्थी पढ्न पठाउन चीन सरकारको इच्छा छ,’ उनले भने ।काठमाडौंमा आयोजित माक्सबाद र एशियाली दर्शन अन्तर्रा्ष्ट्रिय सम्मेलनमा भाग लिन नेपाल आएका थिङ र मन्त्री पोखरेलबीच बुधबार मन्त्रालयमा भेट भएको थियो ।
भेटमा शिक्षामन्त्री पोखरेलले आवश्यक छलफल गरी पाठ्यक्रम लागू गरिने जानकारी गराएका थिए । ‘गुणस्तरीय शिक्षा दिन सरकार तप्पर छ,’ पोखरेलले भने ।