Thuprai - Books and E-books

शुल्क तथा भर्नामा पारदर्शिता ल्याउन एकीकृत प्रवेश परीक्षा

चिकित्सा शिक्षा आयोगले आगामी ९ गते बाट स्नातक तहको एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्दै छ । यो वर्ष कुल ३२ हजार ३०० विद्यार्थीले सो परीक्षामा सहभागी हुनका लागि आवेदन फारम भरेका छन् । चिकित्सा शिक्षाको स्नातक तहमा प्रवेशका लागि नेपालमा पहिलो पटक एकीकृत प्रवेश परीक्षा सञ्चालन हुने गइरहेको छ । करिब ८ हजार सिटका  लागि करिब ३२ हजार ३०० विद्यार्थीले  आवेदन दिएका छन् । यसै सेरोफोरोमा  इडियु सञ्जालले सञ्चालन गरेको इडियुटकमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरिले व्यक्त गरेको विचारको सारसंक्षेपः

स्नातक तहको एकीकृत प्रणालीको प्रवेश परीक्षा कसरी सञ्चालन गर्दै हुनुहुन्छ ?

स्नातकोत्तर तहको परीक्षा सकियो । जेठ २० गते सबै प्रक्रिया सकेर भर्ना गरिसकियो । स्नातकको लागि गत वर्षदेखि नै योजना गरिएको भए पनि कोभिडका कारण यो वर्षदेखि मात्र प्रवेश परीक्षा लिँदै छौं । स्नातकको विभिन्न १२ विषयलाई ५ वटा समूहमा विभाजन गरेर परीक्षा गर्दै छौं । एउटा समूहमा परीक्षा दिएपछि त्यो समूहमा पर्ने सवै विषयमा छनोट हुन्छ । एकीकृत प्रवेश परीक्षा नेपालमा पहिलो पटक हो । काठमाडौं सहित बाहिर पनि परीक्षा केन्द्र तय गरेर परीक्षा सञ्चालन गर्दैछौं । ९ गते देखि १३ गतेसम्म परीक्षा हुन्छ ।

एकीकृत प्रवेश परीक्षाको विशेषता के हो ? यसमा जानुको कारण के हो ?

मुख्यतः चिकित्सा शिक्षा आयोगका केही काम छन् । केही उद्देश्य छ । ती उद्देश्य मध्ये पहिलो उद्देश्य भनेको चिकित्सा शिक्षाको गुणस्तर कायम गर्नु हो । यसका लागि मेरिटका आधारमा विद्यार्थी भर्ना गर्नु हो । यो देशभरका राम्रा विद्यार्थी छान्नका लागि एकीकृत परीक्षा लिइएको हो । गुणस्तर कायम गर्न यो महत्वपूर्ण पाटो हो । एउटा विद्यार्थीले मेडिकलको कुनै विषय छनोट गर्नकालागि विभिन्न ठाउँमा विद्यार्थी चाहर्नु पर्ने, वर्ष भरि परीक्षा भन्दै विद्यार्थी दैडनु पर्ने, मेरिटका आधारमा भर्ना नहुँदा वेथिति थियो । थोरै नम्बर ल्याएका विद्यार्थीलाई विभिन्न प्रभावमा प्राथमकिता दिइनु, भर्ना लगायत शुल्क, तथा ट्युसनमा अनियमितता भएको गुनासोलाई मध्यनजर गर्दै पारदर्शी तरिकाले एउटै प्रणालीबाट भर्ना गर्न विद्यार्थीले छनोट गरेको विषय तथा कलेज पढ्न पाउने व्यवस्थाका लागि एकीकृत परीक्षा लिइएको हो । नेपालगञ्ज, धरान लगायतका ठाउँमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । पश्चिमका विद्यार्थी सोही ठाउँमा प्रवेश परीक्षा दिएर पूर्वका कलेजमा गएर पढ्न पाउने व्यवस्थाका एकीकृत परीक्षा लिइएको हो । विदेश जान चाहने विद्यार्थीका लागि, छात्रवृत्तिका लागि, मुलभूत रुपमा चिकित्सा शिक्षामा प्रवेशका लागि कमन इन्ट्रान्स हो । जसले गर्दा विद्यार्थीलाई धेरै ठाउँ जानु पर्ने बाध्यताको अन्त्य गरेको छ । सबैमा यसले पारदर्शीता ल्याउछ ।

यो वर्ष सिट संख्या कति छ ? कतिले आवेदन दिएका छन् ।

यो वर्ष जम्मा ३२ हजार ३०० ले प्रवेश परीक्षाका लागि आवेदन दिएका छन् । सिट संख्या करिब ८ हजार छ । हामी संग यो वर्ष विभिन्न विषयमा ७ हजार ७०० कोटा छन् ।

चिकित्सा शिक्षा पढाउन चाहने शिक्षण संस्थाले भर्ना गर्न मात्र पाए हामी पढाउन सक्छौं भने पाउँछन् ?

विद्यार्थीको आकर्षण धेरै छ । विदेशमा पनि चिकित्सा शिक्षाका लागि जानेको संख्या धेरै छ । जुन शिक्षण संस्थाले गाइडलाइन अनुसार पढाउन चाहेमा उनीहरुका लागि कोटा संख्या छैन । क्षमता अनुसार पढाउन सक्छन् ।

विद्यार्थीले कसरी शिक्षण संस्था चुन्छन् ?

विद्यार्थीले एउटा परीक्षा दिएपछि आफूले दिएको परीक्षाको नतिजा पछि उनीहरुले पाएको नम्बरका आधारमा म्याचिङ सिस्टम अनुसार उनीहरुले पुनः अनलाइन एप्लिकेसन दिनुपर्छ । त्यो अनलाइन एप्लिकेसन मा एउटा विद्यार्थीले २५ वटा अप्सन छान्न पाउँछन् । उसले शिक्षण संस्था र विषय छान्छ । त्यो नम्बारका आधारमा उसको नाम निस्कन्छ । त्यसको तीनवटा फेज हुन्छ । एउटा उसले पहिलो पटक एप्लाइ गरेर पाएको, अर्को चोटि म्याचिङ अनुसार भर्ना भएका सबै सिट पुरा हुन्छ । कोही विद्यार्थी भर्ना हुन नचाहेमा बाँकी रहेको शिक्षण संस्थाको पुन नाम निस्कन्छ । पहिलो एप्लिकेसनका आधारमा नै नाम निस्किन्छ । त्यसमा पनि कोही भर्ना भएनन् भने पुनः नाम निस्किन्छ तर तेस्रो पटकसम्म सिट पुरा नभएमा अन्तिममा विद्यार्थीले भौतिक रुपमानै उपस्थित भएर मेरिट अनुसार विद्यार्थीलाई रोज्न लगाउँछन् । गत पिजीको र्यापप सेसन अनलाइनबाट गर्यौ । विद्यार्थी पाएको प्राप्ताङ्कका आधारमा छनोट हुन पाउँछ । उसलाई के कारण म यो कलेजमा भर्ना भएँ । कसरी भएँ भन्ने जानकारी हुन्छ । सफ्टवेरले आफैं नाम जेनेरेट गर्छ । विद्यार्थीहरु जुन विश्वविद्यालयमा भर्ना हुने हो सो विश्वविद्यालयमा गएर भर्ना हुन पाउछन् । भर्ना र फिका लागि विद्यार्थी कलेजमा आफैं भर्ना हुन जानु पर्दैन । विश्वविद्यालयले भर्ना भएको विद्यार्थी र शुल्क सम्बन्धित कलेजमा पठाउँछ ।

विपन्न परिवारका विद्यार्थीको पहुँच यो परीक्षामा कस्तो हुन्छ ? भर्नामा चलखेल हुँदैन भन्ने आधार के छ ?

छात्रवृत्तिको व्यवस्था ऐनले गरेको छ । गत सालमा पनि व्यवस्था गरिएको छ । चिकित्सा शिक्षा आयोग गठन भएर आफ्नो कार्यक्रम लागु गरेपछि सरकारी कलेजमा जति सिट छन् ती सिटको ५५ प्रतिशत सिट छात्रवृत्तिका हुन् । ७५ लाई १०० मानेर अन्य सिट आरक्षणमा बाँडफाँट हुन्छ जान्छ । प्रति क्लस्टरमा मेरिटका आधारमा जान्छ । ४५ प्रतिशत आरक्षणमा जान्छन् । गत सालको एमबीबीएस र स्नातकमा यो कार्यक्रम लागु गरिएको छ । गत वर्ष स्नातक तह सिस्टममा नआएसकेको हुँदा ५०० लाई छात्रवृत्ति प्रदान गरिएको थियो । यो वर्ष हजारौं को संख्यामा छात्रवृत्ति दिन्छौं । गत वर्ष ३५ करोड रुपियाँको छात्रवृत्ति आयोग मार्फत् नेपाल सरकारले शिक्षण संस्थालाई प्रदान गरिसकेको छ । यो वर्षको शिक्षण संस्थालाई पठाउनु पर्ने रुपियाँ पठाइसकएिको छ । राज्यले चिकित्सा शिक्षामा ठुलो लगानी गरेको छ ।

एमएटी टेस्ट राख्नुका कारण के हो ?

सामान्यतः विद्यार्थीको क्षमता जाच्नका लागि लिइने प्रवेश परीक्षा वास्तवमा रिपिट मात्र गरेका छौं । निशिच्ति तह उत्तीर्ण गरपछि सोही कोर्षमा पुनः परीक्षा लिने भन्ने प्रश्न उठेको छ । एउटा तह पार गरेका विद्यार्थीलाई सोही तहको परीक्षा विश्वविद्यालयले लिँदै आएको छ । हाम्रा शिक्षण संस्था फरक छन् । त्यहाँको वातावरण फरक छ । राम्रो र नराम्रो विद्यार्थीको कित्ता काँट गरिएको छ । पूर्व योग्यताका आधार बाहिर गएर व्यक्तिको व्यैयक्तिक सिप र दक्षता जाँच्न यो टेस्ट राखिएको हो । यो अन्य परीक्षा जस्तो सहज छैन । यसका विधि र प्रक्रिया हुन्छन् । यसलाई अझै व्यवस्थित तथा सवल गर्न जरुरी छ । हामी यसलाई आगामी दिनमा प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउँछौं । यो र विषयगत परीक्षामा फरक फरक नम्बर ल्याएर पास गर्नुपर्छ भन्ने छैन । एकीकृत परीक्षामा एउटा प्रश्नका लागि एक मिनेट समय दिएर प्रश्न निर्माण गर्छौं । यसमा जसले धेरै मिलाउँछ उसले जित्छ ।

आयोगका भावी रणनीति के छन् ?

चिकित्सा शिक्षा आयोगलाई राष्ट्रि चिकित्सा शिक्षा ऐनले धेरै जिम्मेबारी सुम्पेको छ । गर्नुपर्ने काम धेरै छन् । यसका बृहत कार्य छन् । तिनीहरुलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै जान्छौं । आयोग आउने बित्तिकै गरेको पहिलो काम भनेको शुल्कमा देखिएको वेथितिको नियन्त्रण तथा नियमन गर्नु हो । यसलाई निरन्तर नियमन गर्छौं । अर्को गुणस्तर कायम गर्नु हो । यसका लागि हाम्रो मात्र हात छैन । कस्ता विद्यार्थी भर्ना गर्छौं, राम्रा मध्ये पनि अति राम्रा छनोट गर्नुपर्यो । शिक्षण संस्थाको पूर्वाधार तथा शिक्षण मेथोडोलोजी, शैक्षिक वातावरण, सेवामा खटिएका व्यक्तिको सेवा भाव कस्तो छ यी विषयमा हामी सजग हुनुपर्छ । चिकित्सा शिक्षा भनेको निरन्तर सिकाइ हुने क्षेत्र हो । उसले सेवा भावको विकास हुनुपर्छ ।