Edusanjal

कक्षा १२ को परीक्षा भौतिक रुपमा सञ्चालन गर्न निर्देशन

संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकले जनस्वास्थ्यका सबै मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो । समितिका सभापति जयपुरी घर्तीले अन्य परीक्षा धमाधम भइरहेको समयमा कक्षा १२को परीक्षा रोक्नुभन्दा स्वास्थ्यका सबै मापदण्ड अपनाएर परीक्षा स्थयत गरेर शैक्षिक सत्र खेर फाल्नुभन्दा निकास दिन उत्तम देखिएको हुँदा परीक्षा सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिइन् ।

बैठकमा उपस्थित समितिका अन्य सदस्यले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयविच समन्वय गरेर परीक्षा सञ्चालन गर्न सुझाएका थिए ।  समितिका सदस्य विद्या भट्टराईले कोरोना विरुद्धको खोपको पहिलो मात्र दिएर परीक्षा सञ्चालन गर्न सुझाएकी थिइन् । कोभिड १९ को दोस्रो लहर तीव्र रुपमा फैलिएसंग गत साउन ३१ देखि सञ्चालन हुने भनिएको परीक्षा २३ गते स्थगित गरिएको थियो ।

इन्जिनियरिङ कलेजको शुल्कका  विषयमा ध्यानाकर्षण

इन्जिनियरिङ कलेजहरुले अनलाइन कक्षा सञ्चालन गरेको भन्दै पूर्णशुल्क लिएको प्रति समितिले सरकारको ध्यानाकर्षण गराएको छ । कलेजले विद्यार्थीलाई मार पर्ने गरी शुल्क असुलेको भन्दै समितिको आजको बैठकले सरकारको ध्यानाकर्षण गराएको हो ।

सभापति  घर्तीले ट्युसन शुल्क बाहेक अन्य शुल्क नलिन समेत इन्जिनियरिङ कलेजहरुलाई आग्रह गरिन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख डा. हरी लम्सालले शुल्कका विषयमा सम्बन्धित विश्वविद्यालयका पदाधिकारीहरुलाई बोलाएर गम्भीरतापूर्वक छलफल गरिने जानकारी दिए । 

 विगत तीन साता यता इन्जिनियरिङ कलेजका  विद्यार्थीहरुले शुल्क समायोजन गर्नु पर्ने भन्दै कलेजमा आन्दोलन गरिरहेका छन् । 

pre school