माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सोधिने प्रश्न प्रदेशगत रुपमा समानान्तर कठिनाइस्तरका नभएको पाइएको एक अध्ययनले देखाएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले प्रश्नपत्रमा सुधार कसरी गर्ने भन्ने विषयमा गरिएको अध्ययनमा प्रश्नको स्तरमा फरक पाइएको हो ।
इआरओले २०७५, २० ७८ र २० ७९ का हरेक प्रदेशको प्रत्येक विषयको २१ सेट पश्नपत्र विश्लेषण गर्दा प्रश्नहरू निर्धारित सिकाइ उपलब्धिभन्दा निरपेक्ष रहेको पाइएको जनाएको छ । डा महाश्रम शर्मा, प्राडा हरिप्रसाद उपाध्याय बैकुण्ठ अर्याल, दुर्गा प्रसाद अर्याल, चन्द्रकान्त भुषाल, नारायण पीडी झा, कृष्ण प्रसाद शर्मा, विष्णुनारायण श्रेष्ठ, परशुराम तिवारी, श्याम प्रसाद आचार्यको स्टेरिङ कमिटिले विश्लेषण गर्दा यस्तो तथ्य फेला परेको हो ।
सो अध्ययनमा जम्मा ७७७ ओटा ग्रामरमा त्रुटि फेला परेका छन् । समग्र प्रश्नलाई १०० प्रतिशतमा गणना गर्दा सिकाइ उपलब्धिसँगको सम्बन्ध अध्ययनमा उपयोग भएका प्रश्नहरू सिकाइ उपलब्धिसंग पूर्णतः सम्बन्धित हुनुपर्नेमा केही प्रतिशत कठिनाइस्तरमा फरक भएका प्रश्न निर्माण भएको र विभिन्न प्रदेशमा उपयोग गरिने प्रश्न समानान्तर कठिनाइस्तरका नभएको हुँदा इआरओले प्रश्न निर्माण गर्दा दुई पक्षमा ध्यान दिन सुझाएको छ ।
त्यसैगरी, नेपाली विषयको संज्ञानात्मक तहका प्रश्नको अध्ययन गर्दा ज्ञान तहका प्रश्नहरूको अनुपात ग्रिडले निर्देश गरेभन्दा कम रहेको र अन्य तहको अनुपात पनि निर्देशानुसार नपाइएको इआरओले जानकारी दियो ।
पाठ्यक्रम विकास केन्द्रले तयार गरेको ग्रिड (विशिष्टीकरण तालिका) मा प्रश्न निर्माण गर्दा कुन प्रश्न कुन तहको कुन पाठबाट बनाउने भन्ने स्पष्ट गरेको भएपनि सो अनुसार ग्रिडको उपयोग नभएको तथ्य फेला पारेको छ ।
पठनबोधका पाठको उपयुक्तता अध्ययनमा समावेश गरिएका प्रश्नपत्रमा रहेका पठनबोधसँग सम्बद्ध पाठ, बुँदा टिपोट एवम् सारांश लेखनका लागि राखिएका पाठमा केही पक्षहरू नमिलेको पाइएका इआरओले जानकारी दियो । इआरओले पाठ छनोटमा ग्रिड, पाठ्यपुस्तक तथा पाठ्यक्रमलाई सचेत रूपमा परिपालन गर्नुपर्ने सुझाएको छ ।
विषयगत रुपमा अङ्ग्रेजी विषयको प्रश्नपत्रको विश्लेष्ण विज्ञ शिक्षकहरु परिचालन गरी परीक्षण साधन मार्फत मूल्याङ्कन गराइएकोमा अधिक्तम ४१ अंक मध्ये उच्चतम स्कोर ३४ अंक र न्यूनतम स्कोर २८ अंक प्राप्त गरेको पाइएको छ ।
प्रदेशगत विश्लेषणमा लुम्बिनी प्रदेशको प्रश्नपत्र बाँकी प्रदेशको तुलानामा राम्रो देखियो भने सबै भन्दा कमजोर कोशी प्रदेश रहेको पनि जानकारी दियो ।
२०७८ र २०७९ सालको विज्ञान विषयको प्रश्नमा विभिन्न प्रदेशमा अनुवाद त्रुटि पाइएको थियो भने २०७५ सालको प्रश्नमा अनुवादमा त्रुटि नभएको अध्ययनले देखाएको छ । अध्ययनमा २०७५ र २०७८ सालको एसईई विज्ञान परीक्षाको तथ्याङ्क, ग्राफ वा तालिकामा कुनै त्रुटि नदेखिएको जनाएको छ तर २०७९ मा दुई प्रदेशबाहेक अधिकांश प्रदेशले एसईई विज्ञानविषयको प्रश्नपत्रमा त्रुटिरहित तथ्याङ्क, रेखाङ्कन र तालिका राखेका अध्ययनमा पाएको जानकारी दिएको छ ।
२०२२ र २०२३ को प्रश्न पत्रहरू समग्रमा २०१९ को भन्दा राम्रो रहेको इआरोओको अध्ययनमा देखिएको छ ।
प्रश्नपत्रको फन्ट साइज, विशिष्टिकरण तालिकासँगको आवद्धता, परीक्षाका लागि छुट्टयाइएको समय एवम् तहगत रुपमा उपयुक्त नै रहेको तर प्रश्नपत्रको ले आउट र ढाँचा, व्याकरणगत शुद्धता,विभिन्न तहको संज्ञानात्मक व्यवहारको अवस्था एवम् प्रश्नपत्र ऐरेन्जमेन्ट अझै सुधार गर्नुपर्ने सुझाएको छ ।