परीक्षा अन्योलमा, विकल्पको खोजीमा त्रिवि

परीक्षा अन्योलमा, विकल्पको खोजीमा त्रिवि

पछिल्लो समय उत्पन्न परिस्थितिको अध्ययन गर्दै त्रिभुवन विश्वविद्यालयले गत चैत्रमा स्थगित गरेको परीक्षा तत्काल नगर्ने भएको छ ।

काठमाडौं लगायत देशका विभिन्न स्थानमा कोरोना सङ्क्रमणको जोखिम वृद्धि हुँदै गएपछि त्रिविले पूर्व निर्धारित समयमा परीक्षा सञ्चालन नगर्ने भएको हो । केही दिन अघि भदौको दोस्रो हप्ता देखि परीक्षा सुरु गरी दशैं अगावै स्थगित सबै सेमेस्टरका परीक्षा सम्पन्न गर्ने तयारीमा जुटेको त्रिवि सहज रुपमा सार्वजनिक यातायात चल्न नसक्नु र उत्पन्न वर्तमान परिस्थितिका कारण परीक्षार्थीसंग सम्पर्क गर्न नसकेपछि  परीक्षाको मिति तोक्न नसक्ने अवस्थामा पुगेको हो । 

त्रिविका स्नातक तथा स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षा गत चैत ७ देखि स्थगित छन् । त्रिविले पछिल्लो समय परीक्षा सञ्चालन सम्बन्धी निर्णय गर्न सम्बन्धित डिन कार्यालयलाई अधिकार दिएको छ । डिन कार्यालयले पनि वर्तमान अवस्थामा परीक्षा सञ्चालन गर्न नसकिने जनाउँदै आएका छन् ।

अब स्थगित परीक्षा कहिले हुन्छ भन्दा पनि उत्पन्न परिस्थितिलाई मूल्यांकन गर्दै परीक्षाको विकल्पको खोजी गर्नुपर्ने शिक्षाविद्को धारणा छ ।

त्रिविले सङ्क्रमण बढ्दै गएर अझै लामो समय परीक्षाको समय तालिका धकेल्नु पर्ने अवस्था आएमा परीक्षा सञ्चालनको नयाँ विकल्पबारे खोजी गर्ने भएको छ । विज्ञ समितिले केही दिन अगाडि दिएको परीक्षाका चार मोडालिटीकै जगमा रहेर विकल्प खोज्नु पर्ने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

विश्वविद्यालय अनुदान आयोगले जारी गरेको उच्च शिक्षामा वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका, २०७७ मा विश्वविद्यालयले कोभिड १९ का कारण श्रृजना भएको  परिस्थितिलाई सम्बोधन गर्न गरेको तयारी स्तर, परीक्षार्थीको आवासीय स्थिति र स्थानीय परिस्थितिको विश्लेषण गरेर मात्र परीक्षा सञ्चालन गर्नु पर्ने, सुरक्षा प्रोटोकल अनुसरण गरी सामाजिक दूरी र सामान्य सावधानी, मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग, हात धुने, अनुहार छोप्ने सामानको उपयोग गरी सम्भव भए सम्म सेमेस्टर वा वार्षिक वा टर्मिनल परीक्षाहरू सञ्चालन गर्नु पर्ने, प्रचलित परम्परागत परीक्षा प्रणाली सम्भव नभए विश्वविद्यालयको सम्बन्धित निकायको स्वीकृतिमा सुरक्षा प्रोटोकल अपनाई सम्बन्धित उच्च शैक्षिक संस्थामानै परीक्षा केन्द्र तोकेर परम्परागत परीक्षा अनुसरण गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नु पर्ने, विश्वविद्यालयले स्तर, डिग्री र सञ्चालित कोर्सको प्रकृतिका आधारमा विभिन्न विधिहरूका लागि उपयुक्त भार सहितको परीक्षा व्यवस्था गर्न सक्ने व्यवस्था गरेको छ ।

 त्यसरी परीक्षाको व्यवस्था गर्दा खुला पुस्तक परीक्षा, खुल्ला विकल्प, गृहकार्य वा कक्षा कार्य, प्रस्तुतीकरणहरू, अनलाईन लिन मिल्ने परीक्षाहरू समयसीमा दिएर घरमै उत्तर लेख्ने, अनलाईन भाईभा आदिलाई विकल्पहरूको रुपमा लिएर परीक्षा सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ । त्रिविद्वारा गठित विज्ञ समितिले पनि सोही व्यवस्था अनुसार परीक्षा सञ्चालन गर्न सुझाएको थियो ।