A Levels MA

कक्षा १२ मा गणितमा धेरैले १–२ नम्बर ल्याएकै हुन्ः अध्यक्ष शर्मा

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले विद्यार्थीको गतिविधिलाई थप प्रभावकारी बनाउन अर्को हप्ता बृहत छलफल आयोजना गर्ने बताएका छन् ।

आज निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आयोजना गरेको ‘परीक्षा सञ्चालन तथा मूल्याङ्कन विधि समीक्षा’ कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले यस्तो जानकारी दिएका हुन् ।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले  कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलाप र मूल्याकङ्कन प्रक्रियाको बारेमा बृहत छलफल हुन जरुरी भएको बताए । ‘मूल्याकनलाई मात्र सुधार गरेर शिक्षा क्षेत्रमा  सुधार आउँदैन ’ उनले भने, ‘अहिले हामीले पाठ्यक्रममा आधारित रहेर मूल्याङ्कन गर्छौं । पाठ्यक्रममा भन्दा बाहिर अर्थात बच्चाको गतिविधिलाई हेरेर मूल्याङ्कन गर्न सकिने अवस्थामा पुगेका छैनौं । त्यसको लागि विद्यालय तहबाटै मिहिनेत गर्नुपर्छ ।’

शिक्षण सिकाइ लिबरल छ यो पोलेसीले तल्लो तहदेखि माथिल्लो तहमा  पुग्दा समस्या देखिएको उनले बताए । कक्षा १२ को नतिजामा  गणितमा धेरै विद्यार्थी फेल भएका छन् । ‘कोभिड पछिको परीक्षा भएको हुनाले प्रश्नपत्रलाई सजिलो तर्फ जाउँ भन्ने छलफल गरेर नै प्रश्नपत्र निर्माण गरिएको थियो ।’ उनले भने, ‘१०० पूर्णाङ्कमा  २० नम्बरका कठिन प्रश्न सोधिए पनि ८० नम्बरका सजिलै थियो तर धेरै बच्चाले एक दुुई नम्बर मात्र ल्याएका छन् मूल्याङ्कनमा मात्र समस्या होइन कक्षाकोठामा नै समस्या भएको हो ।’

अबका परीक्षामा तीनओटा विषयको परीक्षा स्तरीकृत हुने उनले जानकारी दिए ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनसका डिन प्राडा बालचन्द्र लुइटेलले विद्यालय शिक्षा गुणस्तर सुधार्न कक्षाकोठाको सिकाइलाई बाहिर लगेर व्यवहारिक सिकाइ हुनुपर्नेमा जोड दिए । शिक्षक सिर्जनात्मक हुनुपर्छ । धेरै शिक्षक त्रिभुवन विश्वविद्यालयबाट उत्पादन भएका छन् । त्रिविले सुगा रटाइको शिक्षा दिँदा समस्या सिकाइमा भएको डिन लुइटेलले बताए । ‘क्रिएटिभ प्रश्न निर्माण गर भन्छौं त्यस्ता प्रश्न सोद्दा धेरै विद्यार्थी फेल हुन्छन् ।’ उनले भने, ‘समस्या मूल्याङ्कनमा होइन सिकाइमा छ ।’

यस्तै प्याब्सनका अध्यक्ष डीके ढुंगानाले विद्यालय शिक्षाले विश्वविद्यालयका शिक्षालाई गुणस्तरमा प्रभावित पार्ने भएकाले यसबारे सामूहिक बहसको थालनी गरेको बताए ।

कार्यक्रममा सहभागीहरुले बोर्डको मूल्याङ्कन प्रणाली सुधार गर्नुपर्ने कुरा राखेका थिए । बोर्डले सार्वजनिक गरेको यो वर्षको नतिजामा अङ्ग्रेजी, गणित, नेपाली, सामाजिक अध्ययनमा बढी एनजी ल्याएको पाइएको छ । त्यसैले अरु विषयमा राम्रो अंक ल्याउने र एउटा विषयमा फेल गरेको अवस्थामा विद्यालय व्यवस्थापन तथा विषय शिक्षक पनि जिम्मेवार बन्नुपर्नेमा सहभागीले जोड दिए ।

विद्यालय शिक्षामा उदार कक्षेन्नतिको नीति लागू भएपछि झन समस्या देखिँदै आएको सहभागीले बताए । शिक्षाविज्ञद्वय ज्ञानेन्द्र वन र हरि मुस्यानले ‘परीक्षा सञ्चालन तथा मूल्यांकन विधि समीक्षा’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

Thuprai - Books and E-books